अक्षय कुमार विरुद्ध प्रहरीमा उजुरी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

अक्षय कुमार विरुद्ध प्रहरीमा उजुरी



एजेन्सी- बलिउडका सुपरस्टार अभिनेता अक्षय कुमार विरुद्ध प्रहरीमा उजुरी परेको छ। आफूले खेलेको पछिल्लो विज्ञापनका कारण उनी समस्यामा परेका हुन्।

विज्ञापनका कारण अभिनेता अक्षयविरुद्ध मुम्बइको बरली प्रहरी चौकीमा उजुरी दर्ता भएको छ। उनीमाथि मराठी समुदायको भावनामा चोट पु‍र्‍याएको आरोप लगाइएको छ।

अक्षयले हालै एक लुगा धुने पाउडर (डिटरजेन्ट)को विज्ञापनमा अभिनय गरेका थिए।

सो विज्ञापनमा उनी मराठी राजाको भूमिकामा देखिएका छन्। युद्धबाट फर्केका राजा र सेनाको स्वागत हुन्छ। त्यतिबेलै एक योद्धाकी पत्नीले योद्धाको लुगा फोहोर भएको गुनासो गर्छिन्। त्यसपछि राजा र सेनाले आफ्नो लुगा धोइरहेको देखाइन्छ। विज्ञापनमा अक्षय राजाको रूपमा नाच्दै बाल्टिनमा लुगा धोइरहेका देखिन्छन्।

उजुरीमा भनिएको छ, डिटरजेन्टको विज्ञापनमा देखाइएका दृष्यले मराठीहरुको भावना र सम्मानमा चोट पु‍र्‍याएको छ। उजुरी सम्बन्धमा अभिनेता अक्षयले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

सर्वसाधरणले यो विज्ञापनलाई सामाजिक सञ्जालमा पोस्ट गर्दै यो ब्राण्डको पाउडर बहिष्कार गर्न समेत आग्रह गरेका छन्।

स्मरण रहोस्, सात सय ६० करोड कुल व्यापार गरेर अक्षय कुमार यो वर्ष बलिउडका एक नम्बर नायक बने। यो वर्ष उद्योग अक्षयको पकडमा रह्यो।

यो वर्ष उनको करिअरकै लागि उत्कृष्ट रह्यो। उनका चारवटै फिल्म हिट मात्रै भएनन् बक्स अफिसमा उत्कृष्ट ठहरिए। विगतका वर्षहरूमा बलिउड खानको पकडमा थियो तर यस वर्ष उनीहरूको किल्ला अक्षयले भत्काइदिएका छन्।

उनको फिल्म केशरीले एक सय ५३ करोड, मिसन मंगलले दुई सय दशमलव १६ करोड र हाउसफुल– ४ ले दुई सय ६ करोड रुपैयाँ कलेक्सन गरेको थियो।

गुड न्युजले पहिलो सातामै एक सय २७ करोड रुपैयाँ कलेक्सन गरेको थियो। यो फिल्मको लाइफ टाइम व्यापार दुई सय करोड मानिएको छ। यो कलेक्सनको साथमा अक्षय नम्बर एक पोजिसनमा छन्।