फुटबल प्रशिक्षक अलमुताइरीले दिएका छैनन् राजीनामा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

फुटबल प्रशिक्षक अलमुताइरीले दिएका छैनन् राजीनामा



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षक पद छाड्ने बताए पनि अखिल नेपाल फुटबल संघ (एन्फा)लाई आइतबार राजीनामा बुझाएका छैनन् ।

उनले बिहान ११ बजेपछि सामाजिक सञ्जाल फेसबुकमा नेपाल समर्थकलाई सम्बोधन गर्दै एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण राजीनामा दिन लागेको र राजीनामा सँगै उनी खुसी हुने लेखेका थिए । उनले विगत तीन सातादेखि आफूलाई असहयोग गरेको र आफूविरुद्ध धेरै नाटक मञ्चन गरेको समेत आरोप लगाएका थिए । अलमुताइरीले आफ्नो फेसबुकमार्फत वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङकै कारण पदबाट राजीनामा दिन एन्फा जाने बताएसँगै फुटबल वृतमा खैलाबैला भएको थियो । आइतबार फुटबल वृतभर यसै विषयमा चर्चा भएको थियो ।

आरोपसहित राजीनामा दिन पुगेका अलमुताइरीले उपस्थित मिडियासँग कुनै प्रतिक्रिया दिन मानेनन् । उनले राजीनामा दिनका लागि अध्यक्ष कर्माछिरिङ शेर्पालगायतसँग छलफल गरेका थिए । एन्फाले उनलाई केही समय विश्राम लिएर छलफल गर्न आग्रह गरेको प्रवक्ता किरण राईले बताए । प्रशिक्षक अलमुताइरीले आफू केही तनावमा रहेको बताएपछि एन्फाले उनलाई समय दिएको हो । प्रशिक्षकले आफ्नाविरुद्ध लागेकाले वरिष्ठ उपाध्यक्षबारे अभिव्यक्ति दिएको जानकारी दिएका हुन् । अलमुताइरीबाट आधिकारिक रूपमा कुनै राजीनामा नआएको उनले प्रस्ट पारे ।

अलमुताइरी एन्फा अध्यक्षसँग बैठकमा रहँदा बाहिर आरोप खेपेका वरिष्ठ उपाध्यक्ष नेम्वाङले भने आफैं पनि प्रशिक्षकको आरोपबाट आश्चर्यचकित रहेको बताइरहेका थिए । उनले आफूलाई लागेको आरोप प्रमाणित भए पदमा एक सेकेन्ड पनि नबस्ने बताएका छन् । उनले यस विषयमा छानबिन हुनुपर्ने माग गरेका छन् । एन्फा प्रवक्ता राईले यसबारे अहिले यकिन भन्न नसकिने बताएका छन् । एन्फाले केही दिनअघि मात्र उनको सम्झौता नवीकरण गर्न कतार फुटबल संघलाई पत्राचार गरेकाले एन्फाले प्रशिक्षकबारे अर्को कुनै धारणा नबनाएको पनि उनले प्रस्ट पारे ।

सामाजिक सञ्जालमा समर्थकसँग घुलमिल हुने अलमुताइरीको समर्थनमा केही समर्थक पनि एन्फा परिसरमा उपस्थित रहेका थिए । कतार फुटबल संघको सहयोगमा गत चैतमा अलमुताइरीले राष्ट्रिय टोलीको प्रशिक्षक पद सम्हालेका थिए । उनको नेतृत्वमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्वकप र एसिया कपका ३ गीर कुल ४ खेल खेलेको थियो । उनको नेतृत्वमा टोलीले सुधारिएको प्रदर्शन गरेपछि चौतर्फी प्रशंसा पाएका थिए । अलमुताइरीको यो चरित्रले उनी एन्फाको राजनीतिभित्र पसेको अनुमान गर्न सकिन्छ । एन्फाको निर्वाचन नजिकिदै गर्दा एन्फाभित्र स्पष्ट दुई धार देखिएको छ । केही समितिले असन्तुष्टि जनाउँदै राजीनामा समेत दिइसकेका छन् ।