आमा ! तिमी रातो साडी किन लाउदिनौ ? « Himal Post | Online News Revolution
Logo

आमा ! तिमी रातो साडी किन लाउदिनौ ?



अन्जना केसी

पल्लो घरकी रचना तीजको सपिङ भन्दै न्यूरोड हिँडिन्। छोराले मेरो सेतो पछ्यौरी तान्दै भन्यो ‘आमा! रचना अान्टीसँगै बजार जाउँ न? हाम्लाई कपडा अनि तिमीलाई रातो साडी लिएर आउँ।’ उ अबुझ छ, बच्चै हो। उसका पनि आफ्नै रहर छन्। ती धेरै रहरमध्ये एउटा रहर हो, मलाई रातो साडीमा सजिएको हेर्ने!

उ गर्भमै हुँदा उसका बा बिते। बिते भनेर हामीले मन बुझाएपनि उनी बितेका थिएनन्, हत्या भएको थियो। तर, यो कुरा उसलाई थाहा छैन। उसले आफ्नै बाबुको अनुहारसम्म हेर्न पाएन। बाबुको महत्त्व पनि बुझेको छैन। उसका लागि बा-आमा जे भने’नि मै हुँ।

तीजको महिना केटाकेटीहरुका लागि पनि विशेष हुन्छन्। साउनदेखि नै रातो साडी रातो हरियो चुरा र मेँहेन्दीमा सजिएर हिँड्ने टोल-छिमेकका महिलालाई देखेर बारम्बार उसले भन्छ ‘आमा तिमीले रातो साडी किन लगाउँदिनौं?’

तिम्रो रातो कुर्ता किन छैन, मेरो स्कुलका टिचरहरू हातमा मेँहेन्दी लगाएर रातो कुर्ती लगाएर आउनुहुन्छ! तिमी किन सधैँ यस्तो फिका मात्र लुगा लगाउँछौं? साउनमा सबैले मेँहेन्दी लगाए तिमीले किन नलाको? अरूले लगाउने जस्तो कलरफुल लुगा तिमीलाई किन मनपर्दैन?’ उसका बारम्बार सोधिने यी प्रश्नले मेराे मन बेचैन हुन्छ, म भावविह्ल हुन्छु।

साउनको सोमबार उसलाई लिन स्कुल गएँ। एउटा कस्मेटिक पसलमा जबरजस्ती छिरेर मलाई मेँहेन्दी किन्न कर गर्‍यो। उसको जीतका अगाडि मैले हारें। २० रुपैयँको मेँहेन्दी किनेर घरमा ल्याएँ!

घर आउनसाथ फेरि कर गर्याे, मेहेन्दी लगाऊ भन्दै। सबै काम सकेर लगाउँछु भनेर टारे। उसको यो जीत यो वर्षको मात्र होइन, जतिबेलादेखि स्कुल जान थाल्यो त्यति नै बेला देखिको हो।

उसको जीतलाई कहिले के, कहिले के भनेर टार्दै आइहेकी छु। त्यसो त म उसलाई कसरी सम्झाउन सक्छु र? बारम्बार उसले गरेका प्रश्न सुनेर लाग्छ, सानातिना कुरामा के झुट बाेल्नु? सत्य बोलेर सम्झाउँछु।

तर, ऊ सानो छ, रीतिरिवाज बुझ्दैन, ती कुराले बाल मस्तिष्कमा कस्तो असर पर्ला भन्ने लाग्छ। त्यसैले पनि कतिपय कुरामा छोरासँग झुट बोलेकी छु। तर, यसो गर्दा मलाई कतिपनि सन्तोष लाग्दैन। योभन्दा असन्तोष यति बेला लाग्छ, जतिबेला मेरो छोराले मेरो कुरामाथि विश्वास गर्दैन। र, उल्टो शङ्का गर्छ। त्यति बेला मेरो अनुहार जङ्गलमा फालिएको रूखको ठुटो जस्तै हुन्छ।

अनि मेरा दुवै आँखा रसाउन थाल्छन्। विशेषगरी, यही तीजकाे महिनाभर उसले मलाई बारम्बार रातो लगाउन आग्रह गर्छ। उसका सबै साथीहरूका आमाहरूका बारेमा कुरा गर्छ, बाटोमा रातो लुगा लगाएर हिँड्नेको हुल हेरेर मनिल अनुहार पार्दै मेरो अनुहार हेर्छ। अनि भन्छ, ‘आमा! तिमीलाई रातो साडीमा सजिएको हेर्ने ठूलाे रहर छ।’

हो, रहर मलाई पनि छ। रातो साडीमा लरक्कै परेर एउटी महिला बन्ने रहर कुन बिधुवालाई लाग्दैन होला र! सबै आफ्ना साथीसंगीहरू साेह्रश्रृंगारमा सजिएर आफ्ना श्रीमानका लागि ब्रत बस्ने भन्दै नयाँ  गरगहनामा ठाटिएर हिँडेको देख्दा मेरो मनमा कम्ता पीडा हुँदैन होला र?

सहारा, सुरक्षा र माया गुमाइसकेकी एउटी स्वास्नीमान्छेको मनमा यी कुराहरूले कस्तो महसुस हुँदो हो त्यो त मैलेभन्दा बढी कसले पो भोगेको छ र? तर, हाम्रो संस्कारै यस्तो भएसी के गरूम्?

आखिर हाम्रो धार्मिक , सामाजिक परम्पराले यही देख्न चाहन्छ कि विधुवा स्वास्नी मान्छे विधुवाकै रूपमा रहोस्। अलिकति पनि तलमाथि भयो भने यो लोग्नेको सतमा छैन। लोग्नेलाई नर्कमा पारी, यस्तै यस्तै!

हिजाे श्रीमान् हुँदा जीवन कति मनमाेहक थियाे मेराे। तर, उहाँ नहुँदा रङ्ग भरिएका लुगा लगाउँदा पनि समाजको डर मान्नु पर्ने! हाँस्दा, बोल्दा, हिँडडुल गर्दा, जे गर्दा पनि डर! घरसँग लडेर रातो लगाउन सकुँला। तर, यति ठुलो समाजसँग कसरी लडाैं? ती दुई जिब्रे महिला अधिकारकर्मीहरूसँग कसरी लड्ने? जो हाम्रा लागि लडेको नाटक गर्दै हामी बिधुवाको रङ्गसँग डलर साट्छन्।

अलि अस्तीकै कुरा सम्झिन मन लाग्यो। महिलाअधिकारको क्षेत्रमा दश वर्षे अनुभव बटुलेकी सुन्तली नकर्मीले आफ्नै घरकी बिधुवा बुहारीलाई सामाजिक मर्यादा विपरीत चलेको भन्दै घर निकाला गरिछन्। सुन्दै अचम्म परेँ, हल्का रातो रङ्गको सुरुवाल कुर्ता लगाएको निहुँमा परेको झगडामा बुहारीलाई लखेट्ने आईमाईबाट हामी एकल महिलाले के आशा गर्नु?

मजस्ता बिधुवा नारीका लागि घरमा पनि त कहँ गतिलो स्थान छ र? एक दिन छोराले धेरै कर गरेकाले कलेजी रङ्गको नेलपोलिस लगाउँदा सासुले गरेको गाली र वचनले गर्दा ३ दिनसम्म भोकै बस्नु परेको तितोयथार्थलाई जिन्दगीभर भुल्न सकेकी छैन।

मेरो पक्षमा उभिएका ससुराले पनि मेरा कारण ‘आफ्नी बुहारी स्याहारेर बस्, उसको जिन्दगी रगिंन चाहेको भए’ जस्ता लान्छना लगाएर बुहारीप्रतिको क्रुरता र बर्वरता प्रस्तुत गरिसकेकी मेरी सासुलाई कसले भनिदियोस् कि तिमी पनि एउटी नारी हौँ, तिम्रो पनि के निश्चित छ र! कुनै दिन तिम्रो लोग्ने पनि मर्नेछन्। अनि तिमी पनि बिधुवा हुन के बेर? तर, हाम्रो समाज जहाँ घाउ छ त्यसलाई कोट्याएर नुनचुक छरेर थप पीडा दिने शिवाय अरू काम के नै गर्न सक्छ र?

यो पापी समाजको कुरा म मेरो छोरोलाई कसरी भनुँ! मलाई भन्न त धेरै मन छ, ‘छोरा म निर्जिव वस्तु जस्तै हुँ, सबैको नजरमा। तर, सजीव वस्तुमा जस्तो असीमित अपेक्षाहरू छन् ममा पनि, रातो सारी लगाएर छमछमी नाच्ने चाहनाहरू छन्, रहरहरू छन्।

मेरा पनि त इच्छाहरू छन्, राम्रो लगाउने, मिठो खाने, जुन चाहनाहरू जिउँदै मरेका छन्। तर, सक्दिन छोरोसँग पीडा पोख्न पनि। मलाई डर लाग्छ, उसको बाल मस्तिष्कमा पर्ने असरसँग।

मलाई डर लाग्छ, आफ्नो परिवार र समाजलाई हेर्ने उसको नजरसँग। भनिन्छ नि, कतिपय कुराहरू रहस्यको गर्वमा लुकाइएको जाति हुन्छ। अव्यक्त चाहनाले कोतरेर ल्याए पनि म बाध्य छु, समाजसँग मेरा चाहनाहरू लुकाउन।

रङ्ग बिर्सिएकी एउटी बिधुवाले रातो सारीको चाहना राख्नुको के अर्थ? मेरो भावना अनि चाहनाको धज्जी उडाउने मेरी सासु, उनलाई साथ दिने आफन्त, अनि हाम्रो समाज जहाँ विद्रोह गर्न नसक्ने मैले रातो सारीमा सजिनुको के अर्थ? जिन्दगीको सबैभन्दा ठुलो पराजय बोकेर आफ्नो हारमा बाँचिरहेकी मैले तिम्रो रातो सारी लगाएको हेर्ने रहर पूरा गर्न सकिन छोरो? मलार्इ माफ गरिदेउँ।

उक्त कथालाई हिमाल पोस्टको अनुमति बिना कुनै पनि अनलाईनमा साभार गरिएको पाईएमा कडा भन्दा कडा कारवाही गरिने छ ।