आमा ! « Himal Post | Online News Revolution
Logo

 आमा !



मनिकला महतारा

हरेक वर्षको दसैँ तिहार जस्तै अहिले पनि आगनको छेउमा सयपत्री र मखमली फुल कोपिलाउन लगेका होलान् नि आमा ।बारीमा कोदो फुल लागेको होला खेतमा मार्सी धान झुल्दै होला। पर चौरमा लिगे पिङ हाली सकेका होलान् नि आमा।अब त लिपपोत पनि सक्यो होला । विभिन्न कारणले घर छोडेर कोही बाहिर र कोही प्रदेश पसेका पनि दसैँ मनाउन घर आइ सकेका होलान्।

अब त पारिको कोटमा बाजा पनि बज्न थाली सकेका होलान् । खुब रमाइलो छ होला गाउँ घर यती बेला ।धेरै वर्ष पो बितेछ मैले देश छोडेको नि आमा ।अब त यादहरू पनि फिक्का फिक्का पो लाग्न थालिसकेछ्न ।आफ्नै देश फर्किने मन न भएको त कहाँ हो र तर देशले यी चाडपर्व बाहेक अरू बेला फर्कन प्रेरित गर्दैन आमा बर्षै देखि चुहेको घरको छानो र तिम्रो फाटेको गुनिहु र चोली बद्लिने चाहानाको अगाडि मेरो चाहानाहरु साना पर्छन् । प्रदेश पनि सजिलो कहाँ छ र थोरै सुख धेरै दुखको अर्को नाम प्रदेश रैछ आमा ।रगत र पसिना सङ पैसा साट्ने व्यापार रैछ प्रदेश । इच्छा र चाहानाहरुको बलिदान माग्दो रैछ प्रदेशले आमा । आफ्नै मृत्यु आफै किनेर मनमा अनेकौँ रंगिन कल्पनाहरुको क्षणिक सन्सार बनाउने र ती रंगिन कल्पनाहरुलाइ आफ्नै हातले घाटी च्यापी हत्या गरी दिने ठाउँ रैछ प्रदेश ।

आखामा उज्ज्वल भविष्य तर मनमा अन्धकार लिई बाच्नु पर्ने ठाउँ रैछ प्रदेश आमा ! हरेक दिन प्यारो गाउँ ठाउँको मायाले भूत जस्तै बनेर डराउन दिदो रहेछ आमा । सानो भाइको स्कुलको खर्च बाबालाई औषधि किन्नु पर्ने अनि तिमि पनि दम कि रोगि छौ आमा उपचारको खर्च सबै बाध्यता हरूलाई थाती राख्दै यो बिरानो सहरमा धनी बन्ने सपना बोकेर गाउँ घर आमा बाबा दाजु भाइ दिदी बहिनीलाई सम्झिदै दिनहरू रातहरू बिताउदै छटपटीमा बाच्दा कुनै दिन त मन ले पनि थोरै नराम्रो सोच्न बाध्य बनाउदो रहेछ। देशको स्थिति नै यस्तै छ स्वदेश मै केही गरौँ भने केही गर्ने वातावरण छैन न त सरकार ले हाम्रो कुरा लाई कहिले सुनिदिन्छ न त पिडा हरू नै बुझी दिन्छ ।मलाइ विदेश मा जान उल्टै बाध्यता बनिदिन्छ मेरो सरकार । म जस्तै लाखौँ दिदी बहिनी दाजु भाइलाई सरकारले विदेशमा लखेटेको छ ।नलखेटोस पनि कसरि मेरो विदेशमा बगाएको पसिना बिना बाच्न सक्दैन मेरो नेपाल सरकार ।

चाडपर्ब आउँदा गाउँ घरको यादले सताउदा यो मन भरिएर आउँछ । तर मन सम्हाल्छु अनि सपना सम्झन्छु भाइ ,आमा बुवा सम्झन्छु अनि साहुको ऋण सम्झंछु अनि अनगन्ती याद हरुलाई छातीमा च्याप्दै आफ्नो काममा जान्छु । परदेशको जिन्दगी कहाँ सोचेजस्तो हुन्छ र आमा साहुको हेला भएर काम गर्नु पर्छ १२ घण्टा जोतिएर काम गर्दा बल्ल बल्ल २ छाक जोड्न सकेको छु आमा। अनगिन्ती सपनाहरू सजिएको मेरो परदेशी जीवन दसैँ तिहारमा घर आउन नपाउदा को पिडा सँगै मिसिएको मिस्रित पिडा हरू लाई साहुको गाली सँगै १२ घण्टा दुख गरेर आएको दुई चार पैसा सँगै खुसी साट्ने बनी परेछ आज भोलि त्यसै ले होला संसार सजाउने धनी हुने अनि सुखको जिन्दगी बिताउने सपना देख्न छोडेकी छैन मैले।

हरेक दिन घरपरिवारको सुखको कामना गर्दै दीर्घायु को कामना गर्दै परिवारलाई सम्झिदै यो दसैँलाई विदेश मा भए पनि मनले दत्त चित्त भएर सम्झिएको छु ।कामन गरिरहेकी छु अर्को वर्ष सायद परिवार सँगै हुने छु । आमाको फाटेको चोली नयाँ किन्दिनेछु मिठो मिठो खाने कुरा खुवाएर खुसी बनाउने छु आमा ।दुख पछि सुख आउँछ रे त्यसैले मैले पनि अहिले दुख गरेकी छु पक्कै मलाई पनि भगवानले एक दिन त हेर्लान !