सजिलो छैन अमेरिकामा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सजिलो छैन अमेरिकामा



दीपक घिमिरे

चिल्ला सडक , ठुला महल अनि सस्तो गाडी र रमाइलो जीवन देखेर मन खुसी हुँदै थियो, एक्कासि भान्दाईले अफर गर्नु भो “भाँडा माझ्न त सक्चस नि ?”

म ट्वाँ परें, खिस्स हाँस्दै भने “त्यस्तो जाबो काम नि नसक्ने हुन्छ !”

अमेरिकामा सबैभन्दा सजिलो काम यही थियो सायद । न दिमाग लगाउनु पर्ने, न त धेरै परिश्रम ! जुठा भाँडा डिस वासर मेसिनमा हाल्यो अनि निकाल्यो । यो पनि मलाई भान्दाईले नै सम्झाउनु भयो ।

अमेरिका प्रवेश पछिको पहिलो जागिर अफर भाँडा माझ्नेबाट सुरु भएपछि कता कता नमज्जा लाग्ने त भयो नै तै पनि मुहारमा खुसी देखाइदिएँ, किनकि मलाई धनी बन्नु छ । खान पुगोस्, दिन पुगोस् मात्र हैन, अल्लि धेरै होस ।

बिहान भिनाजु सँग होटेलमा काम गर्न हिँडे, रफ्तारमा कुदेको कारको गीत बन्द गर्दै भिनाजुले भन्नू भो “तरकारी काट्न सक्छौ ?”

मैले मुन्टो हल्लाउँदै भने “ जाबो तरकारी रे , मासु त काट्न सक्छु ! “

भिनाजुले आइडिया लाउँदै भन्नू भो “ल्वात्तै भाँडा माझ्ने काममा सालालाई के लगाउनु यार, तरकारी काटकुट पार्न सक्ने भए साहुसँग कुरा गर्छु ।”
हिँड्दा हिँड्दै मेरो प्रमोसन हुने भो । म मख्ख परे ।

होटेलमा पुगेपछि भिनाजु अनि साहुले मेरो बारेमा कुरा गरे, म तरकारी काट्ने काममा जागिरे भए ।

“थोडा जल्दी काटो , अभि चाहिए ।” मेन कुकले तीन बोरा प्याज अघिल्तिर तेर्साइदियो ।

प्याज कत्रा भने, फुटबल जत्रा । एउटा सरप्प काट्दा आँखा रसाए । पिर चिन्ताले होइन, प्याजको पिरो रापले ।

सहनै नसक्ने भएपछि आँखा भिजाएं, आँखा चिम्म गर्दै काटें । पेपरले आँखा पुछ्दै काटें । डेढ क्विन्टल प्याज काट्नु थियो, दस किलो नकाट्दै देब्रे हातको चोर औला काटियो ।
सुटुक्क भिनाजु भए ठाउँ गए, भिनाजुले पिर मान्दै ब्यान्डेज बान्दिनु भो । म फेरी प्याज काट्ने ठाउँ मै फर्किए ।

दुई डल्ला थप काटेको थिएन, बुढी औला स्वाट्ट पार्दियो चक्कुले । अहिले अलि धेरै रगत आयो । दुई वटा ब्यान्डेजले रगत रोक्यो ।

अरूलाई दुई घण्टा लाग्ने काम मैले पाँच घण्टामा सिद्ध्याए । तै पनि मेन कुक खुसी हुँदै भन्यो “तेरा काम देखकर मे खुश हु ।”
त्यो खुसी भएपछि म झन् खुसी भए तर काम त्यति सजिलो थिएन ।

पहिलो दिन काम सकेर घर आएपछि सबैले सोधे “कस्तो लाग्यो काम ?”

सबैलाई उस्तै उत्तर दिए “जाबो काम, सजिलो नि !”

हातमा ब्यान्डेज बाधेको देखेर दिदीले पिर मान्नुभयो, भान्जा-भान्जीले पिर माने, उता भान्दाई र भाउजू अनि भतिजो नीरज त झन् खुसी अनि चिन्ता दुबैमा थिए । म काममा लागेको खुसी एकातिर थियो भने कसरी गर्ला भन्ने चिन्ता अर्को तिर ।

होटेलको कामबाट म सन्तुष्ट भने पक्कै थिएन । तर पनि भोलिको उज्ज्वल भविष्यका लागी होटेलको काम उत्तम हुन्छ रे । सबै यस्तै भन्थे । भान्दाई त भन्नू हुन्थ्यो “जाँठा ! भोलि तन्दुरी मास्टर भैस भने बल्ल सुख पाउचस, अहिले दुख भो नभनेस् ।”

अर्को दिनपनी काममा गए उस्तै गरी ।
आज काटकुटको काम थिएन । उचाल्ने र पछार्ने रहेछ । कोठा जस्ता चुलामा पलङ जस्ता डेक्ची हाल्ने , तरकारी मासु पकाउने , उचाल्ने , खन्याउने , चलाउने ।

अरे बाफरे ! आजै घर फर्किम जस्तो भो ।
पाकेको मासु निकाल्दा पुत्रेनो सर्ला झैँ भो, खाली देक्ची निकाल्दा कम्मर सटक्क गर्‍यो अनि कडाइ पनिर चलाउँदा हात जले ।

रुन पाइने कुरै भएन । ट्वाइलेट गएर रुन सकिएन । आँखा र नाक सँगै रसाउँथे , पेपरले पुछ्दै दिन काटियो ।

साँझ फेरि दिदीले सोध्नु भो “कस्तो मान्दैछस तो काम ? बानी पर्चस, न आत्तेस ।”
घर जान्छु भन्न भएन, अनुहारमा हाँसो ल्याउँदै भने “सजिलो मान्दैछु, त्यस्तो नि काम हुन्छ, केटाटी खेल्या जस्तो ।”
रातभर कम्मर, हात पाखुरा अनि खुट्टा दुखेर निद्रै नलाग्ने भएनी निदाएको नाटक गर्दै सुत्थे ।
तरकारी काट्दा तरकारी भन्दा धेरै हातका औला काट्ने क्रम रोकिएन । कहिले यता च्यास्स, कहिले उता च्यास्स ।

ब्यान्डेज बान्दा बान्दै हातका औला नदेखिने भएपछि एक दिन भिनाजुलाई भने “बरु भाँडा माझ्न परो, यो काटकुटको काम म बाट नहोला जस्तो छ ।”
भिनाजु तनावमा पर्नु भएछ क्यारे , झर्किँदै भन्नू भो “धत् ! हुन्न, सिकिन्च दुई चार दिनमा ।”
मैले हार मानिसकेको थिए । काटकुट पार्नु र डेक्ची कराई उचाल्नु पछार्नु भन्दा भाँडा धस्काउनु निक्कै सजिलो देख्न थाले मैले ।

“भिनाजु ! भाँडा माझ्ने भए आउँछु नत्र अन्तै काम खोज्दिनु ।” मैले दुखेसो सुनाए ।
भिनाजुले मुन्टो हल्लाएर सहमति जनाउनु भयो । चार दिन काटकुट अनि भान्से भएर काम गरेपछि पाँचौँ दिन म भाँडा माझ्ने जागिरमा नियुक्त भए । मलाई यो काम सजिलो होला भन्ने लागेको थियो ।

कोठा जत्रा डेक्चिलाई मेसिनमा हाल्न नमिल्ने, साना प्लेट चम्चा अनि गिलासहरू मेसिनले धोएपनी ठुला भाँडा हातैले धस्काउनु पर्दो रहेछ । सुरुको एक घण्टा त सजिलै लाग्यो, जब होटेलमा मान्छे आउन सुरु गर्न थाले तब सुरु भयो झमेला ।

उता मेसिनका भाँडा सफा भएर आउँछन्, पुछ्न भ्याएको छैन ! यता डेक्चिको हेन्डिल घुमाउँदा घुमाउँदै प्लेट लिन आउनेले भन्छ “कति ढिला गरेको यार !”
मेसिनबाट धोएका प्लेटलाई सफा कपडाले पुछ्नु पर्ने हुन्छ । तात्तातो भाँडाकुँडा उत्तिखेरै नपुछे दाग बस्ने, उसैबेला पुछ्दा हात पोल्ने ।

हरे भगवान् ! उता डेक्ची माझौँ कि कराई ? यता मेसिनमा अरू भाँडा हाल्नै बाकी छ । सफा भएका भाँडा पुछ्नै बाकी भएर दाग लाग्न थालिसके ।

यो हेर्दा सजिलो तर झन् खतरनाक काम रैछ । दस घण्टाको काममा पाँच मिनेट पनि सुस्ताउन पाइएन । धपेडी कस्दै दौडा दौड गरेर आजको डिउटी सकियो ।

दिनभर भाँडा माझेका आफ्नै हात घिनलाग्दा थिए । पानीले खाएर सुन्निएका जस्ता , कक्रक्क परेका। मासु मरेर जहाँ चिमोटेपनी थाहा नपाउने भएका ।
खुट्टाको हालपनी उस्तै थियो । भाँडा माझ्दा झरेको पानीले जुत्ता भिजेको थियो अनि भिजेको जुत्ता भित्र दिनभर बसेका खुट्टा कुहिएका जस्ता थिए । पानीले खाएर होला , खुट्टा चिलाउन थाले ।

साबुन र पानीले खाएका हातको अवस्था देखेर मलाई एक्लै रुन मन लाग्यो । धनी बन्न त्यति सजिलो रहेनछ , आफ्ना हातलाई आफै मुसार्दै साँझ भिनाजु सँगै घर फर्किए ।

“भाँडा माझ्न झन् गारो है सालाबाबु !” भिनाजुले दिदीको अघि सोध्नु भो ।

“तैँले भाँडा माझ्न थालिस् ? कुक बन्ला मेरो भाइ भन्या त !” दिदी रिसाउनु भो ।

“आज भाँडा माझेको हु , भोलि देखि त्यै पनि गर्दैन ! यी हेर्नुस् त हात ।” मैले दिदीका अघिल्तिर हात तेर्साइदिए ।
“कठै !” दिदी धेरै बोल्नु भएन ।

“भिनाजु ! मेरा लागि अरू कुनै काम खोज्नुस् । म होटेलमा गर्न सक्दैन । “मैले भिनाजुसँग मनको बह पोखे ।

म होटेलमा फेरि भाँडा माझ्न या तरकारी काट्न अनि डेक्ची कराई उचाल्न नजाने निधो गरेपछि मेरा लागी अलि सजिलो काम खोज्न सुरु भयो ।

होटेलमा काम छाडेको थाहा पाएर भान्दाईले थर्काउँदै भन्नु भो “त जाँठालाई सुती-सुती कसले दिन्छ तलब ? काम भनेपछि गारो त भैहाल्च नि ।”
गर्नै नसकिने काम पनि कसरी गर्नु, कुक हुने लोभले तरकारी काटे, तरकारी मासु चलाए तर अहँ !सकेन । पैसा कमाउने लोभले भाँडा माझे, त्यो झन् अझ धेरै दुख ।

बाँकी अर्को भागमा…