अमेरिका-चीन "व्यापार युद्ध"को बन्दुक भारततिर सोझियो - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

अमेरिका-चीन “व्यापार युद्ध”को बन्दुक भारततिर सोझियो



अमेरिका र चीनबीच जारी व्यापार युद्धको सङ्गीन अब भारततर्फ फर्किएको देखिन थालेको छ।

मङ्गलबार बिहानै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै अमेरिकाको निशानामा चीनमात्र नभएर अब भारत पनि भएको उल्लेख गरेका छन्। यद्यपि एक वर्षयता ट्रम्प नीतिका कारण भारत र अमेरिकाबीचको सम्बन्ध तनावकै अवस्थामा छ। अब भने तनावले उत्कर्षको अवस्था सृजना गर्ने आकलन गरिएको छ।

बीबीसीका अनुसार मङ्गलबार ट्रम्पले ट्वीट गरेर भारतले अमेरिकी सामग्रीमा ठूलो कर लगाएको बताएका छन्। यस्तो अवस्था लामो समयसम्म रहिरहे अमेरिकाले त्यसलाई नसहने ट्रम्पले बताएका छन्।

गत महिना भारतले अमेरिकी उत्पादनमा कर लगाएको थियो। अमेरिकाले भारतीय सामग्रीमा कर लगाउने भएपछि जबाफी कार्बाही स्वरूप भारतले कर लगाएको थियो।

अमेरिकाले जुन महिनामा भारतसँगको कारोबारमा दिएको विशेष छुट फिर्ता लिएको थियो। अमेरिकाले त्यसबेला भनेको थियो,‘भारतले अमेरिकी बजारमा ५.६ अर्ब डलरको सामग्री बिना कर बेच्दै आएको थियो।’

विश्वले अमेरिका र चीनबीचको व्यापार युद्धमा मात्र ध्यान दिइरहँदा अमेरिका भारतसँग पनि व्यापार युद्धमा होमिएको हो।

सन् २०१८ मा ट्रम्पले एलिमिनियम लगायतका सामग्रीमा कर लगाउने बताएका थिए। भारतले अमेरिकी सामग्रीमा कर बढाउने भनेपछि अमेरिकाले त्यो अस्वीकार्य भएको बताउँदै आएको थियो।

अमेरिका र भारत व्यापार तनावलाई अन्त्य गर्ने विषयमा कैयौंपटक चुकिसके। हालै अमेरिकी विदेशमन्त्री माइम पोम्पियो भारत भ्रमणका लागि आएका थिए। त्यसपछि जापानको ओसाकामा सम्पन्न जी२० सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच प्रत्यक्ष भेटवार्ता भएको थियो।

वार्ताबाट कुनै नतिजा निस्कन सकेको छैन।