अमेरिकामा फेरि ह्वात्तै बढ्यो संक्रमण: स्वास्थ्य अधिकारीहरू नै चिन्तित - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अमेरिकामा फेरि ह्वात्तै बढ्यो संक्रमण: स्वास्थ्य अधिकारीहरू नै चिन्तित



एजेन्सी- संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को संक्रमण ह्वात्तै बढेको छ । गत २४ घण्टामा मात्रै कोभिड–१९ सङ्क्रमण भई अस्पताल भर्ना हुने दरमा ४९ प्रतिशतले वृद्धि भएको अमेरिकी संचार माध्यमले जनाएका छन् ।

नियन्त्रण भएको भनिएको संक्रमण फेरि एकाएक बढेपछि स्वास्थ्य अधिकारीहरू नै तनावमा परेको बताइएको छ । पछिल्लो २४ घण्टाको समयमा ४१ हजार ३१० व्यक्ति सङ्क्रमित भएका छन्। त्यसैगरी यो समयमा कोरोना भाइरसबाट २४९ जनाको मृत्यु भएको छ।

न्यूयोर्क टाइम्सद्वारा सार्वजनिक तथ्याङ्कमा अनुसार विगत दुई हप्तामा कोरोनाबाट सङ्क्रमित हुने औसत दरमा १७१ प्रतिशतले वृद्धि भएको पनि बताइएको छ। अमेरिकामा हालसम्म कूल छ लाख नौ हजार ५०८ जनाको निधन भएको छ भने पछिल्लो दुई हप्तामा मृत्यु दर बढेको छ।

बिहीबारसम्ममा कोभिड–१९ सङ्क्रमित हुनेको कूल सङ्ख्या तीन करोड ४२ लाख २१ हजार ५२६ रहेको छ। अमेरिकामा पूर्ण खोप लगाउनेको सङ्ख्या ४८.८ प्रतिशत पुगेको छ भने एक मात्रा खोप मात्र लगाउनेको सङ्ख्या ५६.३ प्रतिशत पुगेको छ।

अमेरिकामा वयस्क अर्थात् १८ बर्षभन्दा माथिका कम्तीमा पनि ६८.४ प्रतिशत व्यक्तिले एक मात्रा र दुवै खोप अर्थात् पूर्ण खोप ५९.६ प्रतिशतले लगाइसकेका छन्।

अमेरिकामा हालसम्म दुई करोड ९४ लाख ५८ हजार ४०३ कोरोना सङ्क्रमणपछि निको भएका छन्। अमेरिकामा ६५ वर्षभन्दा माथिका उमेरकालाई कम्तीमा एक मात्रा खोप ७९.५ प्रतिशत र पूर्ण खोप ८९.२ प्रतिशत दिइएको सिडिसीले जनाएको छ।