कोरोना महामारी र अमेरिकामा नेपालीको अवस्था - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

कोरोना महामारी र अमेरिकामा नेपालीको अवस्था



 -दीपक घिमिरे 

अर्ध निद्रामै थिएँ, फेसबुक म्यासेन्जरमा फोन आयो । चार्जमा भएको मोबाइल तानेर हेरेँ । नेपालबाट भाईले रहेछ, निद्रा बिग्रने डरले उठाइन ।

फेरि ट्वाङ गर्दै म्यासेज आयो, हेर्दिन भनेर निदाउने कोसिस गरेँ ।

दस मिनेट निदाउने कोसिसमै बित्यो । झपक्क हुँदै थिएँ, म्यासेन्जरमै अर्को कल बज्न थाल्यो । मोबाइल तानेर हेरेँ, बुढीको रहेछ ।

सुत्न पनि नदिने भए भन्ने लाग्यो तर उठाइन । साईलेन्ट मोडमा मोबाइल थन्काईदिएर फेरि सुत्ने कोसिसमा लागेँ ।

एकछिनमा निदाएछु , बिहान आठ बजे ब्युँझिएँ ।

न जागिर छ, न बाहिर घुम्नु छ । यो कोरोना कहरको बेला मुख्य काम भनेकै मोबाइल खेलाउनु भएको छ । निद्राबाट ब्युँझनासाथ सिरानीमा राखेको मोबाइल हेरेँ ।

बाफरे ! घरका पुरै सदस्य जसको फेसबुक एकाउन्ट छ, उहाँहरूको फोन, म्यासेज, बाँकी साथी भाइ, ईष्टमित्रहरुको फोन अनि म्यासेज अनि फेसबुक टाइमलाइनमा भिडियो ट्याग गरेका नोटीफिकेसन ।

म्यासेजमा सबैको एउटै प्रश्न थियो “अमेरिकामा खानै नपाएर मर्दैछन रे ?”

फेसबुकमा नोटिफिकेसन हेरेँ । भिडियो ट्याग गरिएको थियो । भिडियोलाई प्ले बटन थिचेर हेरेँ ।

हेर्दै गफाष्टी जस्तो लाग्ने एक जना नेपाली रुँदै थिए । उनी भन्दै थिए “न बस्नको लागी घर छ, न काम, कोरोनाले गर्दा अब मरिने निश्चित भयो ।”

उनको त्यो भिडियोमा नौटङ्की सिवाय अरू कुनै वास्तविकता या सत्यता छैन भन्ने सजिलै अनुमान लाउन सकिन्थ्यो । किनकि उनी नाटक गरेर रुन्थे अनि नपत्याउने पारामा सम्हालिन्थे ।

उनका कुरामा कुनै सत्यता पनि थिएन । नेपाल बस्ने नेपाली या अमेरिकाको रहन सहन नबुझेका नेपालीहरू उनको पिडामा रोइदिए, कठै बरा भन्दै उनको आँसु पुछिदिए ।

तर, यतै अमेरिकामा बसोबास गर्नेहरू अनि अमेरिकाको रहन सहन बुझेकाहरूले चैँ त्यो भिडियो हेर्दै हाँस्न थाले । म पनि त्यो भिडियो हेरेर हाँसेँ ।

भिडियो हेर्दै थिएँ, घर बाट बा ले फोन गर्नुभयो । अनि त्यही भिडियो कै कुरा चले । उहाँलाई सम्झाई बुझाई गरेर फोन राखेको मात्र के थिएँ तत्कालै बुढीले फोन गरिन, उसलाई पनि सम्झाई बुझाई गरेर फोन काटेँ ।

त्यो भिडियोमा उसले बोलेका कुरामा सत्यता छैन भनेर घरपरिवारलाई सम्झाई बुझाई गर्नै मलाई एक दिन पुरै लाग्यो ।

फैलिँदो कोरोना आक्रमणसँगै अमेरिकाका केही राज्यहरू निक्कै अप्ठ्यारो परिस्थितिबाट गुज्रँदै छन् । न्यु योर्क राज्य त सतह-नहसकै अवस्थामा छ तर पनि ती युवाले भिडियोमा भने जस्तो पैसाको कुनै कामै नभएको चैँ पक्कै होइन ।

कोरोना सङ्क्रमणको सबैभन्दा ठुलो आक्रमणमा परेको न्यु योर्क राज्यपनी यो लेख तयार पार्दा सम्म बन्द छैन । गाडी चलेकै छन्, स्टोरहरू खुलेकै छन्, काम गर्छु भन्नेलाई काम मिलेकै छ ।

हो ! रेष्टुरेन्टहरु केही बन्द छन् त केहीले बसेर खान मनाही गरेका छन् मात्र किनेर घर लग्न पाइन्छ या किनेर गाडी भित्र बसेर खान पाइन्छ । उनले भने जस्तो पैसाको महत्वनै नभएको होइन ।

यो अवस्था अहिले न्यु योर्क राज्यले मात्र बेहोरेको छ । अरू राज्यहरूमा सङ्क्रमण बढेका पक्कै छन् तर जनजीवन सामान्य छ । सडकमा गाडी गुडेकै छन्, बजार खुलेकै छन्, सपिङ कम्प्लेक्सहरूमा सामानको अभाव छैन, काम गर्छु भन्नेलाई जहाँ जतिबेला पनि काम मिलेकै छ ।

तर उनी कहिले पैसा भएर पनि खान नपाएको भन्छन् त कहिले काम नपाउँदा पैसा नभएको भन्छन् । उनी कतिसम्म झुट बोल्छन् भने बरु पाकिस्तानी साथीले साथ दियो तर नेपालीले दिएन रे ।

अमेरिकामा एउटा नेपालीलाई समस्या पर्दा सबैभन्दा पहिले साथ दिने अर्को नेपाली नै हो । उनले भिडियोमा भने जस्तो निष्ठुरी स्वभावका नेपाली छैनन् अमेरिकामा ।

अमेरिकामा आजका दिनसम्म खाद्य सामान नपाएर भोकै मर्ने अवस्था आएको छैन । अनि पैसा नभएर भोकै मर्ने अवस्था पनि आउँदैन । सहरहरूमा लकडाउन नहुँदा सङ्क्रमित सङ्ख्या बढेका छन् तर अभाव छैन ।

कोरोना सङ्क्रमणका सुरुवाती दिनहरूमा ट्वाइलेट पेपरको अभाव देखिएको थियो अनि सङ्क्रमण फैलँदै जाँदा ह्याण्ड स्यानिटाईजरको अभाव भयो तर खाद्य बस्तुको अभाव आज सम्म भएको छैन ।

यहाँ कामै नगरेपनी दुई चार महिना खान नपाएर मर्ने अवस्था आउँदैन । कोरोनाले मर्ने अलग कुरा हो तर उनले भनेजस्तो खान नपाएर मर्नु पर्दैन । बैङ्कहरूले मान्छेको मासिक आम्दानीको अवस्था हेरेर उधारो खाने अनि कमाउँदै तिर्ने व्यवस्था मिलाएका हुन्छन् ।

बैङ्कहरूले क्रेडिट कार्डको लिमिट तोकिदिएका हुन्छन् । जुन लिमिटमा रहेर हामी उधारोमा जुनसुकै सामान जुनसुकै स्टोरबाट खरिद गर्न सक्छौँ । सामान्य न्यूनतम लिमिटको क्रेडिट कार्डले पनि दुई चार महिना मज्जाले घर व्यवहार चलाउन सकिन्छ । पछि कमाउँदै तिर्दै ।

फेरि जुन साहुको मेलो गर्दा गर्दै छाडिएको हो, उहीँ साहुले पनि खर्च टारिदिन्छ किनकि भोलि अवस्था सामान्य भयो भने उसलाई कामदार चाहिन्छ । साहुप्रति इमानदारी भइयो भने भोलि काममा फर्केर चुक्ता गर्ने सर्तमा जतिपनी पैसा पाइन्छ । यो कामदारको महत्त्व भएको देश हो । यहाँ कामदारलाई सम्मान गरिन्छ ।

अमेरिकामा बसोबास गर्ने धेरै नेपालीहरू यति बेला काम छाडेर घरमै बसेका छन् । पैसा भन्दा ठुलो ज्यान हो भन्ने मान्यतालाई मनन गरेका हुन नेपाली समुदायले । ज्यान रहे पैसा कमाउँदै गरिएला भन्ने सोच हुन्छ नेपालीहरूमा ।

जब कोरोना सङ्क्रमणले अमेरिकालाई आफ्नो जालोमा पार्न थाल्यो, तब नेपालीहरू महिनौँ पुग्ने खाद्य सामग्री घरभित्र हुलेर घरभित्रै रमाउन थाले । सामान सकिएपनी बजार खुल्ला छन् ।

बजारमा मान्छेको चाप घटेको छ , स्टोरहरूमा नेपालीले काम छाड्दा साहुहरू आफै काममा खटिएका छन् ।

पैसा अभावकै कारण कोही भोकै बस्न नपरोस् भनेर अमेरिकी सरकारले बेरोजगारी फर्म भराएको छ । काम छाडेर घर बसेकाहरूले त्यो फर्म भरेका छन् र त्यही फर्म मार्फत व्यक्तिको नाममा अमेरिकी सरकारले पैसा दिन्छ । यो बेरोजगारी भत्ता या फुड स्ट्याम्प होइन । आपत्कालीन अवस्थामा सरकारको तर्फबाट दिइने सहयोग हो ।

ह्या ! क्यै नि हुँदैन भन्दै पैसाको लोभ गरेर काममा जाने केही नेपालीहरू कोरोना सङ्क्रमणको सिकार भएका छन् । तर घर भित्र बस्नेहरू न भोकले मरेका छन् न त कोरोनाले ।