डिभी कार्यक्रम खारेजीको खतरामा - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

डिभी कार्यक्रम खारेजीको खतरामा



हिमाल पोष्ट / २२ चैत काठमाडौं । अमेरिकी सरकारको भिसा लोटरी अर्थात् डिभी कार्यक्रम खारेजीको खतरामा छ । अमेरिकी कंग्रेसमा यससम्वन्धी थुप्रै विधेयकहरु विचाराधीन छन् । तर नेपालसहित विश्वभरका मानिसहरुमा डिभीको आकर्षण भने कम भएको छैन ।

 

सन् २०१७ को आवेदन म्यादभित्र डिभीका लागि विश्वभरका एक करोड ९० लाख व्यक्तिहरुले फाराम भरे जुन एक दशक अगाडिको तुलनामा दोब्बरभन्दा बढी हो । यद्यपि यो अवधिमा डिभी पर्नेहरुको संख्या प्रतिवर्ष ५० हजारमा स्थिर छ, जुन कंग्रेसले तोकेको सिलिङ हो । यसरी, २००७ यता करिब ५ लाख व्यक्तिहरु डिभी परेर अमेरिका आएका छन् ।

अमेरिकी विदेश मन्त्रालयको तथ्यांकअनुसार एक दशकयता डिभी भर्नेहरुको संख्या १५ करोड ६० पुगेको छ यद्यपि उनीहरुमध्ये न्यून संख्याले मात्रै अमेरिकाको भिसा पाएका छन् ।

आवेदक राष्ट्रहरुको बारेमा पूर्ण विवरण आर्थिक वर्ष २०१५ सम्मको मात्रै उपलब्ध छ । जसअनुसार २०१५ मा नेपालबाट झण्डै ९ लाख व्यक्तिहरुले डिभीका लागि आवेदन गरेका छन्, जुन नेपालको कुल जनसंख्याको ३ प्रतिशत हो ।

यो संख्यामा प्रमुख आवेदक, उनीहरुका श्रीमान वा श्रीमती तथा बालबच्चा पर्दछन् । जनसंख्याका अनुपातमा धेरै डिभी भरिने नेपाल एशियाकै दोस्रो राष्ट्र हो । नेपालभन्दा अघि उज्बेकिस्तान मात्र छ । यद्यपि नेपालबाट २०१७ मा कतिले डिभी भरे भन्ने तथ्यांक उपलब्ध छैन ।

सन् १९९५ बाट डिभी कार्यक्रम सुरु भएको हो । यस मार्फत विश्वका विभिन्न मुलुकका नागरिकहरुलाई निम्त्याएर आफ्नो देशको जनसंख्यालाई विविधीकरण गरिरहेको छ ।

पछिल्ला वर्षहरुमा सबैभन्दा बढि वैध आप्रवासीको आगमन हुने राष्ट्रहरु, जस्तै मेक्सिको, क्यानडा, चीन र भारतका नागरिकहरुले भने डिभी भर्न पाउँदैनन् । प्रत्येक वर्ष जारी गरिने करिब १० लाख ग्रीन कार्डमध्ये डिभीमार्फत आउनेहरुको अनुपात ५ प्रतिशत रहेको छ । डिभीका लागि सबैभन्दा ठूलो आवेदन पर्ने राष्ट्र घाना हो । सन् २०१५ मा त्यहाँका १ करोड ४४ लाख व्यक्तिहरुले डिभी भरेका थिए ।

डिभी पर्नेहरुले आफ्नो विस्तृत पृष्ठभूमिको सूचना उपलब्ध गराउनुपर्छ र भिसा अन्तरवार्तामा पेश गर्नुपर्छ । सुरक्षा जाँच र स्वास्थ्य परिक्षणपछि उनीहरुले ३ सय ३० डलर बुझाउनुपर्छ । अमेरिका आएपछि मात्रै उनीहरुलाई कानूनी रुपमा स्थाई वासिन्दाको हैसियत दिइन्छ जसबाट उनीहरुले अमेरिकामा स्थाईरुपमा बस्न र काम गर्न अनुमति पाउँछन् ।

अमेरिकी भिसा लोटरी कार्यक्रम विश्वमै मौलिक हो । न्यूजिल्याण्डको पनि यस्तै खालको कार्यक्रम छ, तर त्यो केही छिमेकी मुलुकहरुको लागि मात्र हो । अन्य राष्ट्रहरुको अद्यागमन नीतिले भने व्यक्तिगत दक्षता, पारिवारिक नाता-सम्बन्ध र मानवीय आवश्यकतालाई महत्व दिन्छन् ।