एमसीसी फिर्ता हुने हल्लाबिच नेपाल आतंकवादी निशाना बन्ने अमेरिकाको चेतावनी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

एमसीसी फिर्ता हुने हल्लाबिच नेपाल आतंकवादी निशाना बन्ने अमेरिकाको चेतावनी



काठमाडौं- नेपालमा अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास नहुने लक्षण देखिएकै बेला अमेरिकाले नेपाली भूभागलाई अन्तर्राष्ट्रिय आतंकवादी समूहहरुले ट्रान्जिटको रुपमा प्रयोग गर्न सक्ने चेतावनी दिएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले बुधबार मात्र नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग टेलिफोन वार्ता गरेका थिए । उक्त वार्तामा एमसीसीको बिषयमा निकै चासोका साथ जवाफ मागेको बताइएको छ । त्यसको एक दिनपछि मात्रै सार्वजनिक गरिएको सुरक्षासम्बन्धि प्रतिवेदनमा नेपाल आतंकवादको खतरामा भएको जनाइएको छ।

अमेरिकाको विदेश मन्त्रालयले आतंकवाद सम्बन्धी प्रतिवेदन–२०१९ मा गैरनेपालीको अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरुले नेपाललाई ट्रान्जिट बनाउन वा आक्रमण गर्ने स्थल वा सफ्ट टार्गेट (निशाना) को रुपमा प्रयोग गर्नसक्ने औल्याएको हो।

भारतसँग पछिल्लो समय सीमा विवाद उत्कर्षमा पुगेको र नेपालले अमेरिकाको सहयोग एमसीसी अस्विकार गर्ने पक्कापक्की भएपछि आएको यो प्रतिवेदनले केहि झस्काएको विश्लेषकहरूले बताएका छन् ।

उक्त प्रतिवेदनमा भनिएको छ, ‘भारतसँग खुला सीमा भएको र देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाको कार्यविधि पर्याप्त नभएको हुँदा नेपाल अन्तर्राष्ट्रिय आतंकवादीहरुको ट्रान्जिट बन्नसक्छ।’

अमेरिकाको विदेश मन्त्रालयले प्रत्येक वर्ष बिभिन्न देशमा हुनसक्ने आतंकवादी गतिविधिबारे प्रतिवेदन तयार गरी त्यहाँको संसदमा प्रस्ततु गर्ने गर्छ। सो प्रतिवेदन अमेरिकी विदेश मन्त्री माइक पोम्पिओले बुधबार सार्वजनिक गरेका हुन्।

‘सरकारले आतंकवाद र मुख्यतः द्वन्द्वबाट सिर्जित ‘अतिवादी’ विचारधारा वा मध्यपूर्वको अस्थिरतालाई सामान्यतया नेपालका लागि कुनै गम्भीर खतराको रुपमा लिँदैन,’ प्रतिवेदनले भनेको छ।

सो प्रतिवेदनले नेपाल अहिले सामान्यतया आतंकवादी संगठनहरुका लागि उर्वरभूमि भने नभएको ठहर गरेको छ। ‘नेपालमा आतंककारी कट्टरता र भर्ना गराउने विषयलाई प्रतिवाद गर्न रणनीति कार्यान्वयन गरेको देखिदैन,’ प्रतिवेदनमा भनिएको छ।

सो प्रतिवेदनमा नेपालको राजनीतिक हिंसाको आकार पनि सानो परिमाणमा मात्रै रहेको र ती आक्रमणहरु मुख्यरुपमा भौतिक पूर्वाधार, सरकारी कार्यालय वा राजनीतिक दलहरु वा तीनका पदाधिकारीहरुमा लक्षित रहेको उसको ठहर छ।

‘सन् २०१९ को उपनिर्वाचनका बेला केही स्थानमा मतदातालाई धम्क्याउने र केही विषयमा राजनीतिक दबाब दिइएको छ,’ प्रतिवेदनमा उल्लेख छ। त्यसैगरी विप्लव माओवादीले राजनीतिक उद्देश्य प्राप्त गर्नका लागि कहिलेकाँही आतंककारी गतिबिधिको साहारा लिने गरेको पनि प्रतिवेदनमा उल्लेख छ।

यता भारतसँग सीमा विवाद भैरहेको र नेपालले अमेरिकाको सहयोग एमसीसी अस्विकार गर्ने लक्षण देखिएपछि नेपाललाई उनीहरूले गरेको व्याख्यालाई केहि विश्लेषक र कुटनीतिज्ञहरूले प्रायोजित समेत भनेका छन्।