महामारीमा अमेजनले दियो कर्मचारीलाई ५० अर्ब ६० करोड बोनस - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

महामारीमा अमेजनले दियो कर्मचारीलाई ५० अर्ब ६० करोड बोनस



एजेन्सी- इ–कमर्श जायन्ट अमेजन कम्पनीले आफ्ना कर्मचारीलाई ५०० मिलियन (करिब ५० अर्ब ६० करोड रुपैयाँ) बोनस बाँड्ने घोषणा गरेको छ।

जुन महिनासम्म अग्रपंक्तिमा रहेर काम गर्ने कर्मचारीलाई अमेजनले यस्तो बोनसको व्यवस्था गरेको हो। कम्पनीले यसअघि नै प्रतिघण्टा २ डलरका दरले पारिश्रमिक वृद्धि गरेको थियो भने अतिरिक्त समय काम गर्नेलाई दोब्बर रकम भुक्तानी गरेको थियो।

अमेजनका वरिष्ठ उपाध्यक्ष ड्याभ क्लार्कले भनेका छन्, ‘अग्रपंक्तिको समूहका हाम्रा सदस्यहरुले निकै अविश्वसनीय काम गर्नुभएको छ, कर्मचारीहरुलाई हामी पनि एकपटक प्रसंशा गर्न चाहन्छौं, यसैअन्तर्गत ५०० मिलियन डलरबराबर रकम धन्यवाद बोनस बाँड्न लागेका हौं।’

अमेजनको स्वामित्वमा रहेका खाद्यान्न र डेलिभरि सेवामा कार्यरत कर्मचारी तथा चालकहरुले ५०० डलर रकम पाउनेछन्। यस्तै, करारका कर्मचारीले २५० डलर, अमेजनको होल फुड्समा काम गर्नेले एक हजार डलर, डेलिभरी सर्भिस पार्टनरका सञ्चालनकले तीन हजार तथा जुन महिनामा १० घण्टाभन्दा बढी समय काम गर्ने ड्राइभरले १५० डलर थप रकम पाउनेछन्।

महामारीका बेला अमेरिकामा भएको प्रदर्शन र कफ्यूका कारण कम्पनीका कर्मचारीहरुको कार्यसम्पादनमा असर गरेको थियो। महामारीका बेला धेरै अमेरिकीहरुले अमेजनबाट खाना र अत्यावश्यक सामान मगाउने गरेका छन्।

तर कर्मचारीको सुरक्षामा पर्याप्त ध्यान नदिएको भन्दै अमेजनको आलोचना भइरहेको छ। जारी महामारीमा सो कम्पनीका १० कर्मचारीको संक्रमणका कारण ज्यान गइसकेको छ। उत्तर अमेरिकामा मात्रै अमेजनका १०० केन्द्र र त्यहाँ चार लाख कर्मचारी कार्यरत छन्।