पशुपतिको जलहरी सामसुम पार्न तीन नेताले गरे सहमति - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

पशुपतिको जलहरी सामसुम पार्न तीन नेताले गरे सहमति



पशुपतिनाथको जलहरीका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा प्रस्ट पार्ने भएका छन् । सिंहदरबारमा आज बिहान एमाले अध्यक्ष केपी ओलीसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले नै यो विषयमा प्रस्ट पार्ने सहमति भएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा पनि सहभागी बैठकमा माओवादी सांसदले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमतिसमेत भएकाे एमालेका सचेतक पदम गिरीले शिलापत्रलाई जानकारी दिए ।

‘सरकारको काम बजेट छुट्याइदिने मात्रै हो ? भ्रम सिर्जना हुने गरी तथ्यहीन र आधारहीन अभिव्यक्ति दिनु गलत भएको भनेर संसदमा सम्बाेधन गर्नुहुन्छ । आरोप लगाउनुभएका माननीयको अभिव्यक्ति रेकर्डबाट हटाइने सहमति भएको छ’, गिरिले भने ।

पशुपतिमा लगाइएको जलहरीकाे विषयमा एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री ओलीमाथि माओवादी सांसद लेखनाथ दाहालले प्रश्न उठाएपछि संसदीय मर्यादा नाघेको तर्क गर्दै एमाले सांसदहरूले हिजाेकाे बैठक अवरुद्ध पारेका थिए । आज पनि बैठकमा अवरोध गर्ने संकेत पाएपछि प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले सिंहदरबार बोलाएर ओलीसँग छलफल गरेका हुन् ।

बैठकमा सहभागी एक नेताका अनुसार, भेटमा प्रचण्ड र देउवाले संसदको कामकारबाही अघि बढाउन सहयोग गर्न ओलीसँग आग्रह गरेका थिए । ओलीले भने सुनियोजित तरिकाले प्रतिपक्षी दल र नेतालाई बदनाम गराउने खेल भइरहेको भन्दै आपत्ती जनाएका थिए । बैठकमा कांग्रेस, एमाले र माओवादीका अन्य केही नेता पनि सहभागी थिए ।