अनसनकारीलाई सरकारले शहीद घोषणा गर्‍यो - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

अनसनकारीलाई सरकारले शहीद घोषणा गर्‍यो



काठमाडौं, ३१ साउन ।

मधेस केन्द्रित ६ वटा दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई खुसी बनाउन शेरबहादुर देउवा नेतृत्वको सरकारले मधेस आन्दोलनको क्रममा मारिएका १३ जनालाई र अनसन बसेका तनहुँ एक जनालाई सहिद घोषणा गरेको छ ।

साउन ५ गते बसेको मन्त्रिपरिषद बैठकले १० जनालाई र त्यसपछि हालै चार जनालाई सहिद घोषणा गरेको हो । यो समाचार जनप्रहार साप्ताहिकले छापेको छ ।

साउन ५ गतेपछि कुन मितिको मन्त्रिपरिषद बैठकले चार जनालाई सहिद घोषणा गरेको भन्ने खुलाइएको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले राजपा नेपालका नेतासँग सहिद घोषणा हुन बाँकीको नामावली माग गरेका थिए, राजपाले ती नाम उपलब्ध गराएपछि सहिद घोषणा गरिएको हो ।

‘हामीले मधेस आन्दोलनमा मारिएका तर सहिद घोषणा हुन छुटेका १५ जनाको नाम बुझाएका थियौं तर सरकारले १४ जनालाई मात्र सहिद घोषणा गरेछ’, राजपा महासचिव केशव झाले भने ‘सप्तरीका जितेन्द्रनारायण देवलाई यो सरकारले अझै सहिद घोषणा गरेको छैन ।’

सप्तरीका देवको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आयोजना गरेको मानव साङ्लो प्रदर्शनीको क्रममा २०७२ साल कात्तिक ३ गते मृत्यु भएको राजपाका नेताको दाबी छ ।

सहिद घोषित हुनेहरूमा काठमाडौंको खुल्लामञ्चमा रिले अनसन बसेका बर्दियाका बाबुराम शर्मा भुसाल पनि परेका छन् । २०७३ साल भदौ पाँच गते मृत्यु भएको भन्दै सहिद घोषणा गरेको छ ।

मन्त्रिपरिषदले रौतहटका रामप्रवेश साहको रौतहटमा आन्दोलनको क्रममा मृत्यु भएको र पहाडि भूभागमा सीमांकन विरूद्धको आन्दोलन गर्ने क्रममा तनहुँका रोशन दुराको समेत मृत्यु भएको भन्दै सहिद घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को पछिल्लो निर्णय अनुसार बाँकेका जमिल घात, सर्लाहीका नागेन्द्र ठाकुर, सुनसरीका दुखीलाल मेहता र सप्तरीका रघु साप्रीलाई सहिद घोषणा गरिएको छ । उनीहरू मधेसको कुन आन्दोलनमा कहिले मारिए भन्ने कुरा खुलाइएको छैन ।

एक मन्त्रीका अनुसार सरकारले साउन ५ गते बिहीबारको मन्त्रिपरिषद् बैठकबाट २०७२ असोज ३० गते मृत्यु भएका सुनसरीका रामनारायण यादव, असोज १४ गते मृत्यु भएका बालकृष्ण राय, असोज २४ गते मृत्यु भएका धनुषाका रोशन ठाकुर (रमण), असोज ८ गते मारिएका रौतहटका भगवान राउतलाई सहिद घोषणा गरेको छ ।

त्यस्तै २०७२ साउन २१ गते मारिएका विद्यानन्द राय यादव, २०७१ चैत २३ गते मृत्यु भएका सप्तरीकै रामआशिष ठाकुरलाई पनि सरकारले सहिद घोषणा गरेको छ ।

सरकारले बाराको सिम्रौनगढमा भएको आन्दोलनको क्रममा २०७१ असोज २५ गते सुरक्षाकर्मीसँगको झडपमा परी मृत्यु भएका जयनारायण पटेललाई पनि सहिद घोषणा गरेको छ । पटेल नेपाली नागरिक नभएको भन्दै यसअघि सरकारले शहिद घोषणा गर्न मानेको थिएन् ।

२०७२ देखि ८१ सहिद सरकारले यसअघिनै ५० जनालाई सहिद घोषणा गरिसकेको थियो। योसँगै मधेस आन्दोलनको क्रममा २०७२ सालदेखि हालसम्म सहिद हुनेको सख्या ६२ पुगेको छ ।

एक जना तनहुँका रोसन दुरा सहित सहिदको सख्या ६३ पुगेको छ। यो बाहेक सरकारले पहाडी भूभागको सीमांकनविरूद्धको आन्दोलनमा मारिएका ६ जना, कैलालीको टीकापुरमा प्रहरीसहित १३ जनालाई पनि सहिद घोषणा गरेको छ। योसँगै २०७२ सालदेखि यता सहिद हुनेको सख्या ८१ पुगेको छ ।

राजपाले यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई १२ जना मधेस आन्दोलनमा मारिएकालाई सहिद घोषणा गर्न माग गरेको थियो। तत्कालिन उपप्रधानमन्त्री तथा गृह मन्त्री विमलेन्द्र निधिले आन्दोलनमा मारिएकाको प्रमाण नजुटेको, नेपाली नागरिकता नभएको, आन्दोलनका घटना भन्दा पछि मृत्यु भएको र अन्य कारणले मृत्यु भएको भन्दै सहिद घोषणा गर्न मानेका थिएनन् ।

स्थानीय तहको निर्वाचनमा भाग लिने वातावरण बनाउन संविधान संशोधन विधेयक पास गराउनु पर्नेसहित राजापाले मधेश आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा गर्न माग गर्दै आएको थियो ।

आन्दोलनमा मारिएकालाई सहिद घोषणा गर्नुपर्ने माग सरकारले पूरा गरेसँगै राजपालाई निर्वाचनमा जान दबाब परेको छ ।

राजपाको माग बमोजिम सरकारले शान्ति तथा पुन निर्माण मन्त्रालयमार्फत मधेश आन्दोलनमा घाइते भएका ३४ जनालाई जीवन निर्वाह खर्च उपलब्ध गराउने भएको छ। गृह मन्त्रालयमार्फत राजपाले मधेश आन्दोलनको क्रममा हत्या, लुटपाट, आक्रमण र क्षति पुर्याउन भूमिका खेलेका दुई दर्जनको मुद्दा भने फिर्ता गरेको छैन् ।

नेपाल प्रहरीले कैलालीको टिकापुर र महोत्तजरीको जलेश्वरमा भएको प्रहरी हत्या प्रकरणका दोषीबाहेकका मुद्धा भने फिर्ता लिएको छ । राजपाले तत्कालिन नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य रेशम चौधरी, राजपा महोत्तरीका अध्यक्ष अभिराम शर्मा, नेता देवेन्द्र यादव, फोरम नेपालका नेता कौशल यादबको मुद्धा फिर्ता गर्न दबाब दिएको छ ।

टीकापुर प्रकरणमा २१ जना पक्राउ परेका छन् भने ५८ माथि सरकारले मुद्दा लगाएको थियो। मुद्धा दर्ता भएकामध्ये दुई सय ५१ ले सफाई पाईसकेका छन् ।