१५ दिनभित्रमा वार्ता गर्ने आश्वासन पछी : गोरखाल्याण्ड अान्दाेलन स्थगित - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

१५ दिनभित्रमा वार्ता गर्ने आश्वासन पछी : गोरखाल्याण्ड अान्दाेलन स्थगित



रुबेन गुरुङ (सिलिगढी) र इन्द्रकमल जैरू (नयाँ दिल्ली), असाेज ११

 दार्जीलिङका जारी गोरखाल्याण्ड अान्दाेलन १ सय ५ पाँच दिनपछि स्थगित भएको छ। भारतीय केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले अान्दाेलनरत पक्षसँग १५ दिनभित्रमा वार्ता गर्ने आश्वसन दिएपछि अान्दाेलन स्थगन भएकाे हाे।

गोर्खा जनमुक्ति मोर्चाले आमहड्तालसहितका कार्यक्रम फिर्ता लिइएको जनाएकाे छ। साथै दशैंपछि वार्ता प्रक्रिया अघि नबढे अान्दाेलन शुरु गर्ने चेतावनी पनि माेर्चाले दिएकाे छ।

गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङका अनुसार केन्द्रीय गृहमन्त्री सिंहले बडादशैंपछि त्रिपक्षीय वार्ता गर्न आश्वासन दिएका छन्। ‘त्यसैले निश्चितकालीन आमहड्ताल फिर्ता लिएको हाैं,’ गुरुङले शुभदिनसँग भने।

अामहड्ताफ फिर्ता भएपछि दार्जीलिङ पहाडसँगै नेपालसँगकाे सीमावर्ती सिलिगढीमा दशैंकाे चहलपहल बढेकाे छ। नयाँ जिल्ला कालेबुङसहित मिरिक, खर्साङको जनजीवन सामान्य बन्न थालेकाे छ।

सुनसान रहने बजार, पसल खुलेका छन्। सवारीसाधन पनि सञ्चालनमा आएका छन्। १ सय ५ दिन चलेकाे अान्दाेलनका क्रममा ११ जनाले शहादत प्राप्त गरेकाे छन् भने कयाैं गाेरखाल्याण्ड कार्यकर्ता घाइते भएका छन्।

माेर्चाले दार्जीलिङ पहाडमा छुट्टै गोरखाल्याण्डका लागि अन्तिम लडाई भन्दै अनिश्चितकालीन बन्द आह्वान गरेको थियाे। तर, माेर्चाले दशैंलार्इ लक्षित गर्दै बिना लक्ष्य प्राप्ति आन्दोलन फिर्ता भएको छ।

गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङले आन्दोलन फिर्ता लिएको घोषणा गरेपछि पहाडका बजार पसल खुल्ला भएका छन्। यातायातका साधनहरु गुडेका छन्। बुधबार बिहानैदेखि बजारका राशन पसल, कपडा पसल, मीठाई पसल, शैक्षिक संस्थाहरु र अन्य व्यवसायिक प्रतिष्ठानहरु निर्वाध रुपमा खुलेका हुन्।

आन्दोलनका कारण प्राय सुनसान देखिने पहाडका बजारमा भीडभाड शुरु भएको छ। त्यसैगरी, सवारीसाधनले पनि यात्रु बोकेर ओहोरदोहोर शुरु गरेका छन्।

यसअघि मंगलबार मोर्चा अध्यक्ष बिमल गुरुङले बुधबार बिहानदेखि पहाडका पसल, गाडीघोडा, स्कूलका साथै सबै व्यापारिक प्रतिष्ठान खुल्ला हुने घोषणा गरेका थिए। उनले अडियो सन्देश जारी गर्दै माटो अनि जातिको उन्मुक्तिका लागि ११ जना शहीदको बलिदानका कारण केन्द्र सरकारले वार्ताका लागि बोलाएको बताएका छन्।

उनले शहीदका बलिदानी खेर नजाने भन्दै भोलि अवश्य गोरखाल्याण्ड हुने दावी गरेका छन्। गुरुङले बाँचेसम्म गोरखाल्याण्डका लागि लडिरहने बताएका छन्। अर्कोतर्फ गुरुङले गोरखाल्याण्ड आन्दोलनलाई आफ्नै लडाइँ सम्झेर एक सय ५ दिनसम्म सहयोग गरेकोमा अल्पसंख्यक समुदायलाई पनि आभार प्रकट गरेका छन्।

उनले वार्ताको टेबलमा जान केही दिनलाई आन्दोलन स्थगित गरेको बताएका हुन्। उनले १५ दिनभित्र हुने वार्ताका लागि अनिश्चितकालीन बन्द स्थगित गरेको बताएका छन्।

एकातर्फ एक सय ५ दिनको आन्दोलन गोरखाल्याण्ड बिना नै खोलिएपछि पहाडबासीमा निराशा छाएपनि अर्कोतर्फ दशैंको मुखमा बन्द खोलिएपछि पहाडबासीमा उत्साह भरिएको छ।