अनिल शर्माले खोले ओलीका काण्डै काण्ड, देउवालाई पनि छाडेनन् - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

अनिल शर्माले खोले ओलीका काण्डै काण्ड, देउवालाई पनि छाडेनन्



काठमाडौं- नेकपा प्रचण्ड-नेपाल समुहका प्रभावशाली युवा नेता अनिल शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को काण्ड गर्दै जनताका मौलिक अधिकार कुण्ठित गर्दै लागेको बताएका छन् । उनले यति काण्ड र ७० करोड जस्ता काण्ड बचाउनकै लागि ओलीले अनेक तिकडम गरेको आरोप समेत लगाएका छन् ।

फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्वोधन गर्दै शर्माले लाखौँ जनताको बलिदानीबाट प्राप्त उपलब्धिमाथि प्रधानमन्त्री ओलीले धावा बोलेकाले विरोधमा उत्रनुपरेको बताए । ओलीले झापाको एउटा क्षेत्रबाट चुनाव जितेर सांसद बनेको र पार्टीले उनलाई प्रधानमन्त्रीमा जिताएको बताउँदै शर्माले ओलीलाई जनताको हक अधिकार र व्यवस्थामाथि आक्रमण गर्ने छुट नभएको बताए ।

नेता शर्माले पार्टीको नीति र अनुशासनभन्दा बाहिर गएर ओलीले गरेका कुकर्महरूलाई जनताले निस्तेज गर्ने समेत बताए । जहानियाँ शासन फालेका जनताले ओली जस्ता तानाशाहलाई टिक्न नदिने समेत उनले बताए । व्यवस्थामै धावा बोलेर तानाशाह बन्ने दिवास्वप्न नदेख्न पनि शर्माले सुझाए ।

उनले ओलीको मनमा दुरासय भएको भन्दै गलत नियतले संसद विघटन गरेको बताए । भ्रष्टाचारी बचाउनको लागि संसद छलेर संवैधानिक नियुक्ति गरेको आरोप लगाउँदै शर्माले प्रश्न गरे, ‘७० करोड, यति र ओम्नी जस्ता ठुला काण्ड बचाउनकै लागि यति ठुलो बबण्डर गर्ने ? आफ्ना खल्तीका मान्छेलाई नियुक्त गर्न संसदकै घाँटी निमोठ्ने ? भन्नुस ओलीजी तपाईंलाई के चाहिएको हो ?’

सामाजिक संजाल नियन्त्रण गर्ने प्रधानमन्त्रीको कदमले ओलीको भलो नगर्ने भन्दै उनले अरबौँ पैसाको सत्यानास गरेको बताए। उनले भने, ‘सामाजिक संजाल नियन्त्रणकै लागि अरबौँ खन्याएर जनताको भलो हुँदैन, बरू त्यो अरब रकमले मेलम्चीको पानी ल्याउन पहल गरेर काठमाडौंका जनताको कस्ट दुर गर्न सकिन्छ, जनताका अत्यावस्यक काममा खर्च गर्न सकिन्छ, तर यहाँ त ओलीको सपना पुरा गर्न र विरोधमा बोल्नेहरूको मुख बन्द गर्न जनताको रगत पसिनाले आर्जन गरेको अरबौँ रकम दुरुपयोग गर्नुभयो ।’

नेता शर्माले आफ्ना मान्छे पोस्नकै लागि ओलीले पशुपतिमा अरबौँको सुनको जलप लगाउने कार्य सुरू गरेको बताए । उनले ‘बा’ भन्दै गुणगान गाउने छोराहरूलाई पोस्नकै लागि यसरी राज्यकोष दोहन गरेको आरोप लगाए ।

शर्माले एमसीसी र यति काण्डमा पनि ओली जोडिएको भन्दै यसको हिसाव किताव खोजिने बताए । उनले कालापानी समेटेर छापिएको नक्सा पनि शामन्त गोयलको निर्देशनमा ओलीले कितावमा छाप्न नदिएको बताए । ओलीले गुठी प्रकरण ल्याएर काठमाडौंका जनतालाई दु:ख दिन खोजेको समेत शर्माले आरोप लगाए ।

नेकपा काठमाडौं क्षेत्र नं १ का इन्चार्ज समेत रहेका शर्माले कांग्रेस साँच्चै नै बत्ति बालेर खोज्नुपर्ने अवस्थामा पुगेको बताए । एउटा नियुक्तिका लागि शेरबहादुर देउवाले ओलीले चालेको यति ठुलो असंवैधानिक कदमको विरोध गर्न नसकेको समेत बताए । उनले सबैले आआफ्नो स्थानबाट आन्दोलन गर्नुपर्ने समय आएकाले सबैलाई गोलबन्द हुन समेत आग्रह गरे ।