१६ वर्षअघि यतिकै जहाजमा बितेका थिए अञ्जुका श्रीमान्, आज उनी आफै - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

१६ वर्षअघि यतिकै जहाजमा बितेका थिए अञ्जुका श्रीमान्, आज उनी आफै



पोखरामा आज भएको विमान दुर्घटनामा को-पाइलट रहेकी अञ्जु खतिवडा आफ्ना श्रीमानलाई पनि विमान दुर्घटनामा गुमाएको खुलेको छ ।

आजभन्दा १६ वर्षअघि यती एयरलाइन्सकै विमान दुर्घटनामा परी अञ्जु खतिवडाका श्रीमान् दीपक पोखरेलको मृत्यु भएको खुलेको दुखद संयोग भेटिएको छ ।

नेपालगञ्जबाट सुर्खेतहुँदै जुम्ला जाँदै गरेको एयरक्राफ्ट ९ एनएईक्यू सी विमान उडेको २६ मिनेटमा दुर्घटनाग्रस्त भएको थियो । सो विमानमा उनका श्रीमान् पोखरेलको मृत्यु भएको थियो । पोखरेल पनि दुर्घटना भएको उक्त विमानको को-पाइलट थिए ।

त्यो दुर्घटनामा ६ यात्रुसहित पाइलट किरण मल्ल, को-पाइलट पोखरेल र क्याबिन क्रु दीपक शेरचनको मृत्यु भएको थियो । को-पाइलट श्रीमान्‌को मृत्यु भएपछि अञ्जुले पाइलट तालिम लिएकी थिइन् ।

त्यो घटनाको १६ वर्षपछि यती एयरलाइन्सकै विमान दुर्घटनामा अञ्जुले ज्यान गुमाएकी छन् । को-पाइलट दम्पतीले १६ वर्षको अवधिमा एउटै कम्पनीको विमान दुर्घटनामा परी ज्यान गुमाएका छन् ।

यस्तै को-पाइलट अञ्जु खतिवडा आजको उडानपछि क्याप्टेनमा पदोन्नती हुने तयारीमा थिइन् ।