क्यासिनो अन्ना चलाउन सृजनालाई १५ करोड घुस - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

क्यासिनो अन्ना चलाउन सृजनालाई १५ करोड घुस



 मंसिर १३, काठमाडौं ।।

दरबारमार्गस्थित होटल अन्नपूर्णकी सञ्चालिका सृजना राणाले प्राइड क्यासिनोका सञ्चालक विनय शाहलाई सोही होटलमा नयाँ क्यासिनो खोल्न सहमति दिएकी छिन् । नेपाल ट्रष्टलाई औपचारिक रुपमा जानकारी नै नदिई सृजना राणा र ट्रष्टका सचिव अर्जुन कार्की समेतको मिलेमतोमा शाहलाई सो होटलमा क्यासिनो सञ्चालनको अनुमति दिइएको हो ।

होटल अन्नपूर्णको सम्पत्ति नेपाल ट्रष्टमा जानुपर्ने भए पनि जालसाजी गरेर सृजनाको श्रीमान् कपिल शमशेर राणाको नाममा होटलको सेयर हस्तान्तरण गरिएको थियो । अघिल्लो पटकको क्यासिनो सञ्चालकको बारेमा अदालतमा समेत मुद्दा विचाराधीन छ ।

अदालतमा मुद्दा विचाराधीन भए पनि त्यसलाई बेवास्ता गर्दै र नेपाल ट्रष्टको कार्यालयलाई जानकारी नै नदिई क्यासिनो सञ्चालन गर्न अनुमति दिइनुले त्यसमा झण्डै १५ करोड रुपैयाँको आर्थिक चलखेल भएको स्रोतले जनाएको छ । केही सेयर नेपाल ट्रष्टको कार्यालयको नाममा रहेको कारण क्यासिनो सञ्चालनको औपचारिक जानकारी ट्रष्टलाई दिनुपर्ने हुन्छ ।

अन्नपूर्णमा पहिले रहेको क्यासिनो अन्नाले सरकारलाई १६ करोड रुपैयाँभन्दा बढी राजस्व तिर्न बाँकी छ । त्यसका साथै उक्त क्यासिनोमा कार्यरत मजदुरले झण्डै ३३ करोड रुपैयाँ तलबभत्ता र उपदान पाउन बाँकी रहेको छ । मजदुरले तलबभत्ता र उपदान दिलाई न्याय पाऊँ भनी  अदालतमा हालेको उजुरीमा फैसला भएको छैन । षड्यन्त्रमूलक ढंगले सृजना राणाले अन्ना क्यासिनोको स्वामित्व तप्तबहादुर विष्टलाई हस्तान्तरण गरेर सहमतिअनुसार काम नगरेको भन्ने आरोप लगाएर क्यासिनो बन्द गराएकी थिइन् ।

बन्द हुनुअघि अन्ना क्यासिनोमा नौ सय २२ जना कर्मचारी थिए । अहिले उनीहरु रोजगारीविहीन मात्र भएका छैनन्, क्यासिनोबाट पाउनुपर्ने तलबभत्ता र उपदान नपाएर घर न घाटको भएका छन् । विष्टलाई षड्यन्त्रपूर्ण तरिकाले सृजनाले अन्ना क्यासिनो टाँसो लगाएकी थिइन् ।

राणाले निकै चालबाजी गरेर उक्त क्यासिनो बन्द गर्नैपर्ने अवस्थामा पु¥याएकी थिइन् । क्यासिनो बन्द भएपछि २०७२ वैशाख १२ गते विनाशकारी भूकम्प भएको थियो । त्यसबाट पनि खासै क्षति नभएको अन्ना क्यासिनोको भवन सृजना राणाले आफूखुसी ढंगले भत्काएकी थिइन् । भवन भत्काएपछि सृजनाले आफ्नो भाइ र आफन्तहरुमार्फत भारतीय नागरिक आशिष पटेललाई नयाँ क्यासिनो सञ्चालन गर्न प्रस्ताव गरेकी थिइन् । नयाँ क्यासिनोको नाम थियो — ‘इम्पेरियल’ ।

त्यसका नेपाली सञ्चालक थिए धिरेन मोक्तान । मोक्तानको नाममा थोरै सेयर राखेर इम्पेरियल नामको कम्पनी खडा गरी जीवनबहादुर शाही पर्यटनमन्त्री भएलगत्तै इम्पेरियल नामको कम्पनीलाई होटल अन्नपूर्णको कफीशप रहेको भवनमा क्यासिनो सञ्चालन गर्न दिने प्रि—लाइसेन्स (अग्रिम अनुमति) पनि दिलाइएको थियो । पटेलसँग लिएको एड्भान्स (अग्रिम) रकम पचाएर सृजनाले क्यासिनो चलाउने अन्य पार्टीहरुको खोजतलास गर्न गएकी थिइन् र एउटा श्रीलंकाको पार्टीलाई झण्डै फसाएकी थिइन् ।

होटलसँग सहमति गरेर प्रि–लाइसेन्स लिइसकेको अवस्थामा राणाले आफूलाई क्यासिनो सञ्चालन गर्न नदिएकाले न्याय दिलाइपाऊँ भनी इम्पेरियलका सञ्चालक मोक्तान र पटेलले अदालतमा मुद्दा हालेका छन् । त्यसको पनि छिनोफानो हुन भ्याएको छैन । तर सृजनाले चाहिँ गत कात्तिक २५ गते हायात होटलमा सञ्चालित प्राइड कम्यासिनोका सञ्चालक विनय शााहलाई १५ वर्षका लागि क्यासिनो चलाउन दिने सम्झौतापत्रमा हस्ताक्षर गराएकी छिन् । उक्त सम्झौतापत्रमा होटलका महाप्रबन्धक राज शाह र प्राइड क्यासिनोका सञ्चालक विनय शाहले हस्ताक्षर गरेका छन् ।

प्राइडका सञ्चालक शाहले सृजनासँग आफूले अन्नपूर्ण होटलको कुमारी हल लिजमा लिएर भारतीय नागरिक अशोक क्षेत्रपाल र बलदेवराज अरोरालाई दिएकी हुन् । सम्झौतामा भाडा (लिज) एग्रिमेन्ट १५ वर्षको हुनेछ । क्यासिनो चलाउने पक्षले पाँचतले भवन बनाएर क्यासिनो चलाउने, लिजबापत होटललाई २० करोड रुपैयाँ अग्रिम दिने, उक्त रकम भाडामा कटाउँदै जाने, त्यही रकमबाट भवन बनाउने गरी सहमतिपत्रमा हस्ताक्षर भएपछि एक करोड रुपैयाँ अग्रिम रकम दिएको र अरु बाँकी १९ करोड रुपैयाँ १५ दिनभित्र दिने सहमति भएको छ ।

त्यसबापत क्यासिनो चलाउन ठाउँ उपलब्ध गराइदिएबापत सृजना राणालाई १५ करोड रुपैयाँ घुसबापत अग्रिम रुपमा दिने भनी सृजनाका भाइसँग विनय शाहको मौखिक सहमति भएपछि उनलाई क्यासिनो सञ्चालन गर्न ठाउँ दिने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । एक करोड एड्भान्स दिएको उक्त पार्टी १५ दिनको भाखामा दिइसक्दा पनि वैध रुपमा होटललाई दिनुपर्ने १९ करोड रुपैयाँ र सृजना राणालाई नगद घुस दिनुपर्ने १५ करोड रुपैयाँ बुझाउन होटल अन्नपूर्णमा गएको छैन ।

क्यासिनो सञ्चालकले बाँकी बक्यौता रोयल्टी नबुझाई भागी गएमा होटलले नै बुझाउनुपर्ने हो तर १६ करोड रुपैयाँभन्दा बढी बाँकी बक्यौता रकम नउठाई पर्यटन विभागले सृजना राणालाई होटल अन्नपूर्णमा अर्को क्यासिनो चलाउन अनुमति दिनलागेको बुझिएको छ ।

यसअघि पनि कन्डिसनल रुपमा इम्पेरियललाई प्रि–लाइसेन्स दिइएको थियो । प्रि–लाइसेन्स दिएपछि सृजना राणाले अन्ना क्यासिनोको नाममा रहेको बक्यौता रोयल्टीमध्येको एक करोड रुपैयाँ बुझाएकी छैनन् । तत्कालीन मन्त्री जीवनबहादुर शाही र पर्यटन विभागका केही कर्मचारीसँगको साँठगाँठमा त्यसबेला प्रि–लाइसेन्स लिइएको थियो । अहिले त्यसैलाई आधार मानेर अर्को लाइसेन्स लिने/दिने प्रयास भइरहेको समाचार स्रोतको दाबी छ ,आर्थिक दैनिकमा उल्लेख छ ।

दरबार हत्याकाण्डबाट राजपरिवारको वंशनाश भएपछि नेपाल ट्रष्टमा जानुपर्ने दरबारको सम्पत्ति जालसाजी गरी कपिल राणाको नाममा सेयर ट्रान्सफर गरेर होटल अन्नपूर्णमा सृजना राणाले यसरी राइँदाइँ गर्दै आउँदा पनि सरकारी निकायले खासै चासो दिएको छैन ।