अब ओलीको राजिनामा बैठकको 'बटमलाईन': अन्तिम फण्डा झनै प्रत्युत्पादक - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

अब ओलीको राजिनामा बैठकको ‘बटमलाईन’: अन्तिम फण्डा झनै प्रत्युत्पादक



काठमाडौं- सत्तारुढ नेकपाको जारी स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा नै बटमलाईन हुने देखिएको छ । प्रधानमन्त्री आफैले आफूलाई हटाउन भारत र नेपालमा चलखेल भएको आरोप लगाएपछि यहि बिषयमा बैठक केन्द्रित हुने नेताहरूले बताएका छन् ।

लामो संघर्षपछि गत साता सुरु भएको स्थायी कमिटि बैठक प्रधानमन्त्री ओलीले नै पटक पटक बेवास्ता गरेको आरोप लागिरहेका बेला नेताहरूले यस्तो बताएका हुन् । दुई दिनको स्थगनपछि बैठक मंगलबार पुनः बस्दैछ।

प्रधानमन्त्री ओलीले आफूले पार्टी र सरकार संचालन गर्न नसकेको आरोप लागिरहेका बेला उनि आफैले आइतबार आफूलाई हटाउन भारत र नेपालका शक्ति लागिपरेको आरोप लगाएपछि यसले गम्भीर मोड लिएको छ ।

नेकपाका एक स्थायी कमिटि सदस्यका अनुसार प्रधानमन्त्री ओलीमा निकै भ्रम भरिएको र जहाँ जे पनि बोल्दै हिँडेको कुरा सबैले बुझेको पछिल्लो समय भारत र नेपालका शक्तिहरू लागेको आरोप पनि उनको दम्भ र भ्रमकै कारण आएको बताएका छन् । उनले भने, ‘ प्रधानमन्त्री पूर्ण असफल भएको यसैबाट थाहा हुन्छ । उहाँले आफैले राजिनामा दिँदा असफलताको आरोप लाग्छ भनेर कसैले सहयोग गरे हट्न सजिलो हुन्थ्यो भनेर आह्वान गर्नुभएको हो ।’

स्थायी समितिको बैठकमा राजीनामाबारे अहिलेसम्म कुनै कुरा नउठेपनि अब भने राजिनामाको बिषयले गम्भीर रुप लिने ति नेताले बताएका छन् ।

नक्सा जारी गर्नु अगाडी नै प्रधानमन्त्रीको राजिनामा मागिएको थियो

प्रधानमन्त्री ओलीले आइतबार मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा नक्सा जारी गरेपछि आफूलाई हटाउन खोजिएको झुटो भएको नेकपाकै नेताहरूले बताएका छन । भारतसंग सीमा विवाद नहुँदै उनको राजिनामा मागिएको थियो । दल फुटाउने अध्यादेश ल्याएपछिका कैयौं बैठकमा प्रधानमन्त्री ओलीको राजिनामा मागिएको त्यसपछि यो ‘च्याप्टर क्लोज’ भएको ति नेता बताउँछन ।

यसअघि अध्यादेश प्रकरणका बेला नेकपाको सचिवालयमा ओलीको राजीनामा मागिएको थियो। तर, उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेर ओलीले राजीनामाको मुद्दा मत्थर पारेका थिए। लगत्तै नयाँ नक्सा जारी गर्ने प्रक्रिया सुरु गरेपछि ओलीको शक्ति वृद्धि भएको थियो।

तर अहिलेको बैठकमा नेपाल–भारत सीमाका विषयमा ३९ नेताहरुले धारणा राखेर २ दिन स्थगित गरिएको थियो । बैठकमा राजीनामाको प्रसङ्ग नै नआएको स्थायी समिति सदस्य चक्रपाणि खनालले बताएका छन् ।

आइतबार मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा बोल्दै ओलीले नक्सा जारी गरेपछि आफूलाई हटाउन भारत र नेपालका शक्ति लागेपनि राजीनामा नदिने बताएका थिए।

नेकपाका नेताहरुले भने उनको सो भनाइ सरकारको असफलता ढाकछोप गर्ने उदेश्यले आएको टिप्पणी मात्र गरेका छैनन बरू प्रधानमन्त्री आफै छाड्न खोजेको समेत बताएका छन् ।

बुधबारदेखि सुरु बैठकको उद्घाटन गरेका प्रधानमन्त्री ओली शुक्रबारको बैठकमा अनुपस्थित भए । नेताहरूले चर्को आलोचना गर्ने र जवाफ दिन नसक्ने भएकाले प्रधानमन्त्री बैठकबाट भागिरहेको नेकपाकै नेताहरूको बुझाई छ ।

नेताहरुको चर्काे विरोधपछि उनी शनिबारको बैठकमा फोटो खिच्न मात्रै आएर फर्केका थिए । स्वास्थ्यमा समस्या आएको भन्दै निस्किएका प्रधानमन्त्री ओलीले अर्को दिन आयोजना गरिएको मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा भने करिव २ घण्टा धाराप्रवाह भाषण दिएका थिए ।

स्थायी कमिटिका सदस्यहरूले पार्टीको बैठक चलिरहेको बेला नेताहरू र पार्टीको अपमान गर्दै बैठकमा नआउने, कसैका कुरा नसुन्ने तर बाहिर जे पायो त्यहि बोल्दै हिड्ने प्रधानमन्त्रीको मर्यादा पनि बिर्सेर यस्ता हर्कत गरेकोमा आपत्ति जनाएका छन् ।

बाहिर एउटा मुद्दा उठाएर स्थायी समिति बैठकमा राष्ट्रियताको कुरा गरेर आफूलाई सुरक्षित बनाउने जुक्ति निकालेको नेताहरूको आरोप छ । जबजब सत्ता र पार्टीमा आफू संकटमा छु भन्ने लाग्छ अनि राष्ट्रवादी भएको फण्डा गरेर उन्किने प्रधानमन्त्रीको पुरानै फर्मुला भएको एक नेताले बताएका छन् ।

ति नेताले भने, ‘ओलीजीले आफैले नजानी नजानी खनेको खाल्डोमा आफै पर्दै हुनुहुन्छ । न आफैले जान्नुहुन्छ न अरूले भनेको मान्नुहुन्छ, ढाकछोप मात्रै गरेर कहिलेसम्म हुन्छ र ? उहाँका यस्ता फर्मुला पुराना भैसके ।’