कथा : शेष सम्बन्ध « Himal Post | Online News Revolution
Logo

कथा : शेष सम्बन्ध



– अनुपम रोशी

यो यात्रामा सबै कुरा परिचित छन्। तर सबै अपरिचित जस्तो लाग्छन्। एउटा पृष्ठभूमि छ। तर कथा अर्कै मञ्चन हुन्छ। एउटा सहरबाट एकाएक अर्को सहरमा आएर आफ्नो वर्तमान रिझाउन खोजिरहेको छु म। हेर्छु, सरगम विनाको सङ्गीत जस्तो लाग्छ, आफूले बाँच्दै आएको आदर्श। बेसुरमा गाइने गीत जस्तो घरीघरी क्रमभङ्ग भइरहने।

सागर बगिरहेको छ या सुतिरहेको छ, म बुझ्न सक्दिनँ। तर यी लहरले मलाई छोएर जाँदा मेरा अनुभूति पनि लिएर गए हुन्थ्यो जस्तो लाग्छ। नितान्त शून्य भएर जिन्दगीलाई हेर्न मन लाग्छ। मेरा खुट्टाले आँखा चिम्लेर सामुद्रिक किनार छोइरहेका छन्। त्यहाँ पनि तथाकथित गल्तीहरू उपस्थित हुन्छन् र भगाउन खोज्छन् मलाई। तर भाग्‍नु कहाँ ? जहाँ पुगे पनि मनको अप्ठेरो भागेको खोई?

मभित्र छाल उर्लन्छ, त्यो पानीको लहरमा जस्तै। साथीहरू भन्छन्, बन्न जान्नु पर्छ। अनुकूल हुन जान्नेले जहाँ पनि दुनियाँ बसाउँछ। सायद त्यही सत्य थियो। आफूलाई बनाउन नजान्दा म बिल्कुल एक्लो भएको थिएँ।

जिन्दगीले अलिकति कोल्टे फेऱ्यो कि जस्तो लागेको थियो। चर्को घाममा हिँड्दाहिँड्दै थाकेको मनलाई केही शीतलता प्राप्त भयो कि जस्तो लागेको थियो। तर त्यो भ्रममा यसरी बल्झियो कि जिन्दगी सम्हाल्नै कठिन भयो।

हो, मैले नै उनलाई छाड्ने निर्णय गरेको हुँ। र, यो सहरमा आइपुगेको हुँ।

किनकि मसँग एउटा अपराधबोध छ, जुन सजिलै अन्त्य हुन सक्दैन। त्यही अपराधबोधलाई शान्त पार्न म यो यात्रामा छु। त्यो अपर्याप्त साइनो र सिलसिला नमिलेको आफ्नोपन, जसबाट छुट्कारा पाउन भाग्‍नु जरुरी थियो।

सानैदेखि होस्टेल बसेको म केही समयका लागि घर आएको थिएँ। म आएकै दिन मेरी आमाले बालाई छोडेर गएकी थिइन्। पहिलोपटक बाले मलाई अँगालोमा लिएर निकै रोएका थिए। त्यतिबेला यस्तो लागेको थियो, संसारमा मलाई माया गर्ने मेरो बा मात्रै हुन्। मभित्र आमाले छाडेर गएको दुःख र बाप्रतिको माया एकै साथ उर्लिएको थियो ।

त्यो दिन मैले जन्मदिने आमालाई धिक्कारेँ। उनको स्त्रीत्व र मातृत्वलाई साफ घृणा गरेँ। किनकि उनले मेरा बा लाई छोडेर गएकी थिइन्।

मेरो बा एक सरकारी अफिसर थिए। उनी प्रायः घर बाहिरै रहन्थे। त्यही झोँकमा आमाले दोस्रो प्रेम गरेकी हुन् या कारण अरू नै थियो, मैले बुझिनँ। र, बुझ्न पनि चाहिनँ। लाग्यो, आफ्नो  छोरोलाई छोडीहिड्ने आमा सम्भवतः आमा होइनन्। ‘आमा’ सम्बोधन उनलाई सुहाउँदैन।

आमा हिँडेपछि घरमा म एक्लै भएँ। हुन त होस्टेल बसेको हुनाले मलाई यस्तो एक्लोपनले सताउन छाडीसकेको थियो। निकै लामो समय मैले आफन्तबिना नै बिताएको हुँदा मलाई एक्लोपनले खासै सताएन। तर भान्साको काम हामी दुवैका लागि अप्ठेरो प्रश्न बन्यो ।

एक दिन बाले एउटी युवती लिएर आए। भर्खरकी युवती, म जिल्ल परेँ। को हुन् ? भनेर सोध्‍न पनि सकिनँ। बाले आफै भने–

‘बाबु ! तेरी आमाले छोडेर गइहाली। हामीलाई भात पकाएर खानदिने मान्छे पनि भएन। मैले यिनलाई बिहे गरेर ल्याएको हुँ। अब यिनले नै हामीलाई भात पकाएर ख्वाउँछिन्। यी तिम्री आमा हुन्।’

ऊफ् ! म बोल्न सकिनँ। कताकता रिस उम्लेर आयो। के जो पनि आमा हुन सक्छ ? नौ महिना गर्भमा राखेर दशधारा दूध खुवाएकी मेरी आमा त आमा हुन सकिनन्। मेरो बासित बिहे गर्दैमा ऊ मेरी आमा कसरी हुन सक्छे ? म मनमनै भुत्भुतिएँ।

अब घरमा म एक्लो थिइनँ। बा अफिस गए पनि उनकी नयाँ श्रीमती थिइन्। हेराहेर भए पनि हामीबीच बोलचाल थिएन। उनी घरको कामकाजमा व्यस्त नै रहन्थिन्। म आफ्नो  धुनमा। उनलाई देख्यो कि मलाई खसखस लाग्‍न थाल्थ्यो। आमाको सम्झनाले पोल्थ्यो।

कसरी जान सकेकी मेरी आमा पच्चीस वर्षसँगै बसेको लोग्‍ने छाडेर ? के मेरो र बाको माया लागेन उनलाई ? उनले दिन नसकेका मेरा प्रश्नको जबाफ बाकी नयाँ स्वास्नीले सोधिरहे जस्तो लाग्थ्यो। म उनलाई हेरिरहन सक्दिनथेँ। लाग्थ्यो, एक दिन यिनले पनि छोडेर जानेछिन् र मेरो बा फेरि एक्लो हुनेछन्। मलाई अँगालेर बलिन्द्रधारा आँसु बगाउनेछन्।

पच्चीस वर्ष सँगै रहेको लोग्‍ने त छोड्दा रहेछन् आइमाईहरू, यी त हिजो आएकी ! मेरा बाभन्दा पच्चीस वर्ष सानी, मेरै उमेरकी केटी ! गरीवीका कारण उनका बाआमाले टीका लगाएर मेरो बाको जिम्मा लगाएका रे ! कस्तो अचम्म ! टीका लगाएर पठाएपछि उनी मेरो बाकी स्वास्नी भइन् !

के लोग्‍नेस्वास्नीबीचको त्यो गहिरो सम्बन्ध एउटा ल्याप्चेमा जोडिन सक्छ ? या हिजोसम्म आफ्नै ठानेर गरेको प्रेम त्यही ल्याप्चे लगाए पछि तोडिन्छ ? ल्याप्चे लाउँदैमा मनभित्रको भावुकता पनि सँगै जोडिएर आउँछ भन्ने कुरामा मलाई विश्वासै लाग्दैन। मेरी आमाले त्यही ल्याप्चे ठोकेर बालाई छोडेकी थिइन्। बाले त्यही ल्याप्चे टाँसेर अर्की स्वास्नी भित्र्याएका थिए। उनीहरूको हिसाबकिताब त बराबर भयो होला तर मेरो हिसाबकिताबमा शेष रह्यो । त्यो पीडाको शेष, बेचैनी र एक्लोपनको शेष र सबैभन्दा धेरै, मान्छे मान्छे बीचको सम्बन्धको शेष।

००

आफ्नो गुनासाहरू कसैगरी पोख्‍न सकिनँ।  मैले उनलाई आमा भन्नै सकिनँ। उनी अर्थात् बाकी नयाँ श्रीमती। उनले घरीघरी मलाई हेर्थिन् । मुस्कुराउन खोज्थिन्। म देखेको नदेख्यै गर्थेँ। उनलाई देख्‍नु आमालाई देख्‍नु थियो। आमाको गल्तीहरूलाई सम्झनु थियो।

म आफ्नै  संसारमा हराउन चाहन्थेँ। बार्दली, कोठा, बैठक या घरको छत मेरा प्रिय स्थान थिए। जहाँ म टीभी हेर्थें, हार्मोनियम बजाउँथेँ, किताव पढ्थेँ। एउटै घरमा दुई जना भएर पनि सन्नाटा थियो। मौनता थियो र अपरिचित थियौँ हामी।

बा विहान नौ बजे निस्कन्थे। र, राति नौ बजे नै घर फर्किन्थे। उनको जागिर नै यस्तै थियो।

दुई महिना बित्यो। म पुनः होस्टेल गएँ।

कुनै नौलोपन थिएन जिन्दगीको। कुनै उत्साह र परिणामहरू थिएनन्। म प्रायः मौन रहन्थेँ। साथीहरूको कुरामा म सहभागी हुन कहिल्यै सकिनँ। सधैँ एकलकाँटे जस्तो मेरो जिन्दगी कसैले बुझ्न सक्छ जस्तो लाग्थेन। म आफैभित्र हराएको मान्छे जस्तो थिएँ। एकदम शून्य शून्य।

कलेज सकियो। त्यसपछि पुनः घर जानु पर्ने भो। केही दिनका लागि होइन, सधैँका लागि। म अत्यन्त दुःखी भएँ। पहिलोपटक मलाई होस्टेलको माया लागेर आयो। सम्भवतः मलाई घर जान मनै थिएन। किनकि घर जाँदा हुने कुनै उत्साह र उमङ्ग  थिएन। मेरी आमाले मेरा सबै खुसीहरू लिएर गएकी थिइन्। घर जानलाई मसँग बाको माया बाहेक अरू केही थिएन। बाले पनि अर्की स्वास्नी भित्र्याएपछि मबाट ती सबै चीजहरू गुमेका थिए, जसका लागि म घर जाने उत्सुकता पाल्थेँ।

नचाहँदानचाहँदै पनि म घर जानु पऱ्यो। बा खुसी भए तर पहिलेजसरी अँगालो मार्न आएनन्। बाकी स्वास्नी मुस्कुराइन् र सोधिन्।

‘अब होस्टेल जानु पर्दैन हो ?’

मैले हो सूचक टाउको हल्लाएँ र सरासर आफ्नो कोठामा गएँ। उनले मेरो पछिपछि लगेजहरू बोकेर कोठामा ल्याइन्। म जिल्ल परेँ। उनी पहिलेभन्दा निकै बदलिएकी थिइन्। पहिलेको जस्तो गाउँलेपन र सोझो अनुहारको रङ पूरै फेरिएको थियो। उनी पूरै शहरिया भइसकेकी थिइन्। मेरा बा पनि निकै खुसी देखिएका थिए। बूढेशकालमा ल्याएकी तरुनी श्रीमतीले उनको अनुहारमा मेरी आमाले दिन नसकेको खुसी दिएकी रहिछन् भन्ने आभाष भयो। यी सब कुरा देखिसकेपछि आफू झनै फाल्तु र एक्लो छु भन्ने महसुस भयो।

मेरा बा अब सुखी थिए। मलाई त्यो नै पर्याप्त थियो। यही सोचेर मैले चित्त बुझाएँ र बाँकीका दिन बिताउन थालेँ।

बाकी श्रीमती र म प्रायः घरमै हुन्थ्यौँ। उनी आफैँ मसँग बोल्न आउँथिन्। म सामान्य जबाफ फर्काउथेँ। म बोल्दा उनी निकै खुसी भएकी हुन्थिन्। तर मलाई भने उनीप्रति न कुनै सम्मान थियो, न त आकर्षण। उनी मेरी बाकी स्वास्नी हुन्, मेरी आमा होइनन् भन्ने कुरा मनमा गडेर बसेको थियो।

घरीघरी त्यही कुराले निकै पीडा दिन्थ्यो। म निष्फिक्री हिँडिदिन्थेँ। हिँडेरै काठमाडौँका सडक र गल्लीहरू चहार्थेँ। आर्यघाट, कैलाश डाँडामा घण्टौँ बिताउँथे। रोक्ने कोही थिएन।

त्यो पानी परिरहेको दिन म दिनभर पानीमा भिजेर सडकमा हिडिरहेँ। साँझसम्म पानीमा भिजेपछि मलाई चीसो लाग्यो। बा थिएनन्। उनी केही दिनका लागि बाहिर गएका रहेछन्। घर आएपछि थाहा पाएँ।

लुगा फेरेर खाना खाएपछि मलाई ज्वरो आउला जस्तो भयो। मैले एउटा डिकोल्ड खाएर ओढ्ने ओढेँ। अहँ, निन्द्रा लागेन। उल्टो टाउको चड्किन थाल्यो। ज्वरोले विशाल रूप लियो। म अत्तालिएँ। बर्बराउन थालेँ।

यो सुनेर उनी मेरो नजिक आइन्।

‘के भो ?’ उनले हतपत मेरो निधार छामिन्।

‘ओ हो ! ज्वरो पो आएछ।’ भन्दै भान्सामा गइन्।

तुरुन्तै चीसो पानी र सफा टालो लिएर आइन्। एउटा ज्वरोको औषधी दिएर उनले मेरो निधारमा पानी पट्टी गर्न थालिन्। केहीबेर पछि मलाई शान्ति मिल्यो। ज्वरो पनि केही कम भयो। उनी सुत्‍न गइनन्। रातभर मेरो शरीर, पैतला र निधारमा पानीपट्टि गरिरहिन्। मलाई उनको स्पर्शले कति बेला निद आयो, थाहै भएन। ब्यूझिँदा बिहान भएको थियो।

भोलिपल्ट उनले नै मेडिकल लगेर चेक गराइन्। त्यो रात पनि उनी मसँगै बसिन्। मेरै बेडमा उनी पनि निदाइन्। बा नभएको र म बिरामी भएकोले होला, उनले मलाई निकै सेवा गरिन्। खाना, औषधीदेखि लिएर सबै कुरामा ख्याल गरिरहिन्। उनको त्यो आफ्नोपनले मलाई निकै प्रभाव पाऱ्यो। भित्रैदेखि माया लागेर आयो। अर्को रात पनि उनी मेरै छेउमा सुतिन्। मलाई कस्तो कस्तो लाग्यो। म उठेँ। उनी निदाएकी थिइन्। मैले उनलाई निकैबेर हेरिरहेँ।

अहँ ! कतैबाट लागेन, उनी मेरी आमा हुन आएकी हुन्। हेरिरहँदा बाकी श्रीमतीजस्तो पनि लागेन। अँगालो हालूँहालूँ जस्तो लाग्यो, तर सम्हालिएँ।

अर्को दिन म अलि ठीक भएँ। साँझ बा पनि आइपुगे। उनी मलाई औषधी खुवाएर हिजो जसरी मेरो बेडमा बसिनन्।

‘अब अलि ठीक भए जस्तो छ। गाह्रो भयो भने बोलाइहाल्नू।’ भन्दै उनी बाको कोठामा गइन्।

मलाई ननिको लाग्यो। नगइदिए हुन्थ्यो जस्तो।

बा यति छिटै किन आएका होलान्। मनमा एउटा विष्मय उत्पन्न भयो।

उनी गइन्। म एक्लो भएँ। ओछ्यानमा पल्टिएर निकैबेर उनलाई सम्झिरहेँ। उनले गरेको स्पर्श। उनले देखाएको आफ्नोपन। मलाई झन्‌झन् प्रिय लाग्‍न थाल्यो। उनलाई हेरिरहूँ, बोलिरहूँ हुन थाल्यो। उनले घरीघरी मेरो निधार छामेर नापेको ज्वरो बढी दिए हुन्थ्यो जस्तो लाग्‍न थाल्यो। उनले मेरो कोठामा बिताएको त्यो तीन रातले मलाई पूर्ण रूपमा बिथोल्न सुरु  गऱ्यो। बिस्तारै ज्वरो त ठीक भयो तर मन झन् बढी बिरामी पर्दै गयो। हरसमय म उनकै तरङ्गमा डुब्‍न थालेँ।

समय आफ्नै  गतिमा थियो। बा र उनको सम्बन्ध पनि आफ्नै  उत्कर्षमा थिए। तर मभित्र पहिरो गएको थियो। कस्तोकस्तो हुने अप्ठेरोको पहिरो, उनले छोएको अनुभूतिको पहिरो। म एकान्तमा टोलाउने भएको थिएँ। उनको कल्पनामा डुब्‍न थालेको थिएँ। उनको चुराको खनक र पाउजुको झनकले मुटुमा एक किसिमको सल्बलाहट उत्पन्न गर्थ्यो।

म निकै नै छटपटाउन थालेँ। उनको अगाडि अब बसिरहन नसक्ने अवस्था सिर्जना भइरहेको थियो। उनको मुस्कानले मनको भित्री तह स्पर्श गरेर जान्थ्यो। उथलपुथल बनाउँथ्यो।

एकदिन बिहान नौ बजिसक्दा पनि म सुतिरहेको थिएँ। बा खाना खाएर अफिस गएपछि उनी मेरो कोठामा आइन्।

‘कति सुतेको उमेश, उठ्ने बेला भएन ?’ उनले मेरो ओढ्ने अलिकति उघारेर भनिन्।

म बोलिनँ।

‘खाना खाने बेला भयो त? किन सञ्चो छैन र ?’ उनले फेरि सोधिन्।

‘अँ.. टाउको दुखेको छ।’ मैले अन्कनाउँदै जबाफ दिएँ।

‘किन ? राति निन्द्रा परेन र !’ उनले फेरि सोधिन्।

मैले अन्कनाउदै ‘खोइ.. !’ भनेँ।

उनले मेरो निधार छामिन्। मलाई उनको हात च्याप्प समातेर छातीमा टासूँ जस्तो भइरहेको थियो। तर हिम्मत जुटेन।

‘ज्वरो छैन त, उठ ! अलिकति खाना खाऔँ ! अनि म तिम्रो कपालमा तेल मालिस गरिदिन्छु।’

उनले प्रेमपूर्वक भनिन्। म झनै आक्रान्त भएँ। कताकता खुसी उत्पन्न भयो। उनको त्यो स्पर्श प्राप्त गर्न मलाई चुक्नु थिएन। म जुरुक्क उठेर बाथरुम गएँ। र, खाना खान तयार भएँ।

खाना खाएपछि उनले तोरीको तेलमा मेथी डढाएर ल्याइन्। मलाई त्यो गन्ध पटक्कै मन पर्दैनथ्यो। असाध्यै गन्ध आउने हुनाले मलाई मेथी प्रयोग गरिएको परिकार पनि खान मन लाग्दैनथ्यो। तर मैले उनको त्यो मेथी डढाएको तेल अस्वीकार गरेर उनको स्पर्श गुमाउन चाहिनँ। म बैठकको भुईँमा बसेँ। उनले सोफामा बसेर मेरो कपालमा तेल मालिस गर्न थालिन्। मलाई स्वर्गीय आनन्द प्राप्त भो। कस्तो शीतल स्पर्श उनको। आज पनि त्यो स्पर्शले बारबार झस्क्याउँछ मलाई।

‘भयो ?’ निकै बेर मालिस गरे पछि उनले सोधिन्।

म बोलिनँ। उनले घाँटी तन्काएर मलाई हेरिन्। मैले आँखा चिम्लिरहेको थिएँ। उनको काखमा टाउको अढ्याएर निदाए जस्तो गरेको थिएँ। मलाई उनको काखमा यसरी नै निदाइरहूँ जस्तो लागेको थियो। उनले एकछिन मलाई आफ्नै  काखमा निदाउन दिइन्। मलाई उनको सुगन्धले च्याप्दै थियो। उनको काखबाट सरेर अनुहारतिर सर्दै जाऊँ जस्तो लागेको थियो। तर साहस भएन। बाकी श्रीमती भन्ने कुरा अगाडि आएर उभियो।

‘उमेश, तिमीलाई निन्द्रा लागे जस्तो छ, उठ ! बेडमा गएर पल्ट ! म हात धुन्छु।’ म निकैबेर नउठेपछि उनले मलाई झक्झक्याउँदै भनिन्।

मैले नसुने जस्तो गरिरहेँ।

‘उठ न !’ उनले कुहिनाले ठेल्दै फेरि भनिन्।

मैले आँखै नहेरी टाउको उठाएँ। भूईँबाट अलिकति उठेर उनलाई हेरेँ। उनले तेल लतपतिएको दुवै हात माथि उठाएकी थिइन्। मैले एक्कासी उनलाई अँगालो हालेँ। अनुहारभरि किस गरूँगरूँ लाग्यो, तर रोकिएँ।

‘के गरेको ?’ उनी अल्मलिइन् र फुत्किन खोजिन्।

मैले छोडिदिएँ। उनी दौडेर भान्सामा गइन्। म कोठातिर दौडिएँ। आफैसँग लाज लागेर आयो। सिरकले मुख ढाकेँ। बिस्तारै मलाई डर लाग्‍न थाल्यो। उनले बालाई भनिन् भने के होला ? बाले कति नीच सोच्लान्।

‘छिः !’ मैले आफैँलाई धिक्कारेँ।

के भएको होला ? किन यसरी पागल भएको हुँला ? भन्ने सोची रहेँ। सोच्दासोच्दै साँझ भयो। कोठाबाट बाहिर निस्किने साहस आएन। बा आएपछि के होला ? मन भत्भती पोल्न थाल्यो।

साँझ भयो। बा आए। बिहान जाने बेला पनि र अहिले पनि सुतेकै देखे पछि, के भो उमेश, बिरामी भयौ कि के हो ?’ भन्दै उनी सरासर मेरो कोठामा प्रवेश गरे। मलाई डरलाग्दो सिंह आफूतिर आइरहेको महसुस भयो। बाको अगाडि कुख्यात अपराधी अनुभूत भयो। म बोल्न सकिनँ।

‘टाउको दुखेको छ भनेका थिए।’ बाकी श्रीमतीले नै जबाफ दिइन्।

सम्भवतः उनी मेरै कोठामा आउँदै थिइन्। एकपटक मुटु ढक्क फुलेर आयो। अब के होला भनेर थर्थराउन थालेँ।

‘अझै ठीक भएको छैन ?’ उनले मेरो ओढ्ने उघार्दै सोधिन्।

‘अलि ठीक भएको छ।’ मैले आँखा चिम्लिएरै जबाफ फर्काएँ।

उनको आँखामा हेर्ने साहस मसँग भएन। उनको त्यो सोधाइले मन चसक्क चस्कियो। तर उनी सहज थिइन्। उनलाई सहज पाएर मलाई केही सजिलो महसुस भयो।

‘कसरी जबाफ दिन सकेकी उनले ? मानौँ केही भएकै थिएन। के उनले गलत सोचिनन् ? फेरि म किन यति धेरै पिरोलिएँ ?’ मैले आफैँलाई सोधेँ।

केही समय चुपचाप बित्यो। उनले केही भनिन्। मैले केही भन्ने कुरा भएन। केही दिनपछि फेरि बा बाहिर गए। घरमा हामी दुई मात्रै भयौँ। उनी सहज थिइन्। लाग्थ्यो, त्यो घटनाले उनलाई कुनै प्रभाव पारेको छैन। तर म सङ्कोचले भरिएको थिएँ। उनीसँग आँखा जुधाउनु त के, नजिक पर्न पनि कठिन भएको थियो।

साँझ म गितार लिएर छततिर उक्लिएँ। र, आफ्नै  सुरमा गाउन थालेँ।

‘जीवन किन सोचे जस्तो हुन्न

माया किन चाहे जस्तो हुन्न…..!’

उनी मेरो लागि कफी लिएर आएकी रहिछन्।

हातमा कफीको कप लिएर मेरो गीत सुनिरहेकी उनी आँखाभरि आँसु लिएर उभिएकी थिइन्। यो देखेपछि मैले गाउन रोकेँ र उनीतिर केन्द्रीत भएँ। कफी टेबलमा राखेर उनी भागिन्। म पनि उनको पछि पछि लागेँ। उनी बैठकको सोफामा घोप्टो परेर रुन थालिन्। के भएको हो ? मैले छुट्याउन सकिनँ। उनी निकै रोइन्। मलाई छटपटी भयो, उनी किन रोएकी ? के अस्तिको घटनाले हो ? आफैलाई सोधिरहेँ। जबाफ पाइनँ। म नजिकै गएँ र उनलाई उठाउन खोजेँ।

‘के भयो, किन रुनु भयो ?’ डराइडराइ सोधेँ। उनी बोलिनन्।

‘मेरो कारण हो ?’ फेरि सोधेँ।

उनले एक्कासी मलाई अँगालो हालिन् र घुँक्कँघुक्क गर्दै रुन थालिन्। म चुपचाप उभिइरहेँ। उनलाई आफूबाट अलग्याउन पनि सकिनँ। उनले मलाई अझै बलियोसँग कसिन्। त्यो अप्रत्याशित घटना थियो। म स्थिर भएँ।

‘मलाई रुन देऊ उमेश।’ उनी सासले नै बोलिन् र मेरो छातीमा टाँसिन आइन्।

‘मान्छेले चाहेको नहुँदो रहेछ, त्यसमा पनि हामी गरिबका छोरीहरूको त कुनै सपना नहुँदो रहेछ।’ निकैबेर रोएपछि मेरो छातीबाट बिस्तारै अलग्गिँदै उनी बोल्न थालिन्।

मेरा बाआमाले एकपटक पनि सोचेनन्, बाबुको उमेरको लोग्‍नेसँग म कसरी जिन्दगी बिताउँला ? बस्, पठाइदिए।’

उनका आँखा पुनः आँसुले भरिए।

‘उमेश मलाई तिम्रो बासँग कुनै गुनासो छैन। तर आफ्नो भाग्यसँग म कहिल्यै खुसी हुने छैन।’

यतिबेला मसँग उनलाई सम्झाउने कुनै शब्द थिएन। मैले आफ्नो काखमा राखेर, एउटा हातले उनको कपाल सुम्सुम्याउँन थालेँ।

‘यस घरमा आएपछि मैले तिमीलाई देखेँ। तिम्रो बाबुले छोरो भनेर चिनाए पनि आफ्नै उमेरको केटो देखेपछि मलाई तिमी साथीजस्तो लागेको थियो। म तिमीलाई दुःखसुखका कुरा सुनाउन चाहन्थेँ तर तिमीले मलाई फर्केर पनि हेरेनौ। एउटा बूढो मानिससँग बिहे गरेर आउनुको दुःख त मनमा थियो नै, तिम्रो व्यवहारले म निकै दुखी भएँ।’ उनले रुँदै भनिन्।

मसँग कुनै जबाफ थिएन। बस् उनलाई हेरिरहेँ। उनले आँखाबाट अनवरत झरिरहेका आँसु पुछिन् र आफ्ना दुबै हत्केलाले मेरो अनुहारलाई छोपेर हेरिरहिन्।

त्यसपछि म म रहिनँ। मभित्र एउटा जन्तु सवार भयो। त्यो बेहोशी र तृष्णाको संसारले मलाई अन्धो बनायो। हाम्रो औपचारिक सम्बन्धको आकाश भत्कियो। एउटा सम्मानित साइनो लथालिङ्ग भयो।

त्यसपछि जिन्दगीको परिभाषा बद्लियो । न मलै उनलाई  प्रेमिका भन्न सकेँ न उमेर ढल्किँदै गएका मेरा बाबुकी श्रीमती।

बा जसको एउटा विश्वास थिएँ म। एउटा शक्ति थिएँ, जो सन्तानबाट उत्पन्न हुने गर्थ्यो। तर म थाहै नपाई ति सबै कुराको विरुद्ध भैदिएँ। मभित्र मानिस होइन, एउटा भड्किएको तृष्णा बाँकी रह्यो। बा फर्किएका थिएनन्। मलाई आफ्नै घर बिरानो लाग्यो। भित्रभित्रै नजानिँदो आगोले भत्भती पोल्न थाल्यो। त्यही दिन आगोबाट निस्किएको धुवाँ जसरी म पनि बाको घरबाट निस्किएँ। र एउटा अज्ञात यात्राको यात्री बनेँ।