यस्तो रहेछ सुरेन्द्र यादव ‘अपहरण’को कहानी... - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

यस्तो रहेछ सुरेन्द्र यादव ‘अपहरण’को कहानी…



काठमाडौं- समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले आफ्नो पार्टीका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरीको टोलीले जनकपुरबाट अपहरण गरेको भन्दै बुधबार साँझ ७:४३ मा ट्वीट गरे ।

उनले यो पार्टी फुटाउने प्रयोजनका लागि भएको दाबी गरे । सरकारले पार्टी विभाजनका लागि संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत मत भए पुग्ने गरी अध्यादेश जारी गरेको तेस्रो दिनमा पाण्डेले गरेको ट्वीटमा तत्कालै पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रतिक्रिया जनाउँदै लेखे, ‘ओलीतन्त्रको यो नांगो रूप । धन्य कमाउनिस्ट कणहरु ।’

जनकपुरमा रहेका केन्द्रीय सदस्य यादवलाई काठमाडौं झिकाएर पार्टी विभाजन गर्न सरकार लागि परेको आशयसहितको ट्वीट सार्वजनिक हुनुभन्दा करिब ४ घण्टाअघि नै यादव जनकपुरबाट काठमाडौंका लागि हिँडिसकेका थिए । पाण्डेले संकेत गरेझैं उनलाई लिन काठमाडौंबाट नेकपाका भक्तपुरका सांसद महेश बस्नेत, तनहुँका सांसद किसान श्रेष्ठ र केही महिनाअघि मात्रै सेवानिवृत्त भएका पूर्वआईजीपी सर्वेन्द्र खनाल घरमै पुगेका थिए । कान्तिपुरसँगको कुराकानीमा खनालले आफूहरू फरक काममा लागि भक्तपुरमा जम्मा भएका बेला त्यतैबाट यादवले लिन बोलाएपछि जनकपुर गएको बताए ।

खनालले आफू जनकपुरमा एसपी रहेका बेला समाजवादीका नेता तथा सांसद उमाशंकर अरगरियासंग चिनाजानी भएको र यादवलाई ल्याउन पनि उनले नै अनुरोध गरेको बताए । सांसद बस्नेत र अरगरियाबीच भएको राजनीतिक संवादबारे आफूलाई थाहा नभएको तर सबैले जनकपुर गएर यादवलाई भेट्ने भनेपछि आफू त्यता गएको बताए ।

मंगलबार दिउँसो भक्तपुरबाट हिँडेका सांसदद्वय र पूर्वआईजीपी महोत्तरीको बर्दिबासस्थित गौतम होटलमा पुगेर बसेका थिए । उनीहरु बिहीबार बिहान ९ बजेतिर सांसद यादवको घर पुगेका थिए । खनालले बिहान खाजा र खाना त्यही खाएको र दिउँसो ४ बजेतिर काठमाडौंका लागि हिँडेको बताए । सायद सांसद यादवलाई खनालसहितको टोलीले काठमाडौं हिँडाएको बुझेरै पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले ट्वीट गरेका थिए ।

सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्वआईजीपी खनाल एउटा गाडीमा र सांसद यादव, प्रदेश सांसद कौशलकिशोर यादव, पीएसओ, यादवका भिनाजु अरू दुइटा गाडीमा काठमाडौं हिँडे । खनालका अनुसार उनीहरुले काभ्रेतिर आइपुगेका बेला काठमाडौंमा समाजवादी पार्टी र जनता पार्टीबीच एकीकरणको खबर सुनेका थिए । खनालले राति ३ बजेतिर सांसदको टोली नक्सालको मेरियट होटल छिरेपछि आफू घर लागेको बताए ।

समाजवादीका नेता र स्वयं सांसद यादवले पनि आफूलाई अपहरण भएको बताइरहँदा खनालले भने राजीखुसीमै यादव काठमाडौं आएको दाबी गरे । उनले यादवले बिहीबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेट्ने योजना पनि बताएको सुनाए । राति नै पार्टी एकताको खबर आएपछि यादवको ‘बालुवाटार छिर्ने योजना’ अधुरै रह्यो ।

अध्यादेशअनुसार नै पार्टी विभाजन गर्न सरकारले नक्सालको मेरियट होलटमा केही सांसदलाई ल्याएर राखेको दाबी समाजवादीका नेताहरुको छ । त्यसो त समाजवादी पार्टीका महासचिव गंगा श्रेष्ठले आफ्ना सांसदलाई मरियट होटलमा राखेको सूचना पाएर आफूहरु त्यहाँ पुगेको भन्दै बिहीबार बिहान ११ बजेर १७ मिनेटमा ट्वीट गरेका थिए ।

उनले आफूसहितका केही नेता करिब साढे ८ बजेछिर त्यहाँ पुगेको तर होटलका कर्मचारीले भित्र छिर्न नदिएको र त्यही बेला नेकपाका नेता महेश बस्नेतले कलुदेवी विश्वकर्मासहितका सांसदलाई रातो कारमा हालेर पछाडिको गेटबाट भगाएको दाबी गरेका छन् । महासचिव श्रेष्ठले ट्वीटमा त्यतिबेला एक हूल प्रहरी आएर आफूहरुलाई नियन्त्रणमा लिएको र दस मिनेटपछि छाडिदिएको उल्लेख गरेका छन् ।

पार्टी विभाजन गर्नका लागि चाहिने ४० प्रतिशत संसद् नपुगेपछि समाजवादी दल विभाजन हुन सकेन । बिहीबार अपराह्न निर्वाचन आयोगमा पार्टी एकीकरणको जानकारी दिइएलगत्तै अपहरण भएका भनिएका सांसद यादव बाबुराम भट्टराईलाई भेट्न पुगिसकेका थिए । कान्तिपुर दैनिकमा खबर छ ।