अर्ध–पागल « Himal Post | Online News Revolution
Logo

अर्ध–पागल



दीपक घिमिरे

प्लास्टिकको पोकाभरि कालो र हरियो अङ्गुर थियो । मुख्य बजारको बीचमै भएको किलोमिटरको सानो पिलरमाथि राखेको त्यो सानो पोकाको मालिक कोही नदेखेपछि पोको खोलेर अङ्गुर गमागम खान थालें । अलि पर रहेको दुकानदारको छोरा सचिनले सानो ढुङ्गाले हिर्काउँदै भन्यो, ‘ए बौला, उता भाग !’

त्यो फुच्चे सचिनलाई मैले राम्ररी चिन्थें । कुनै जमाना थियो, उसले मलाई सर नमस्कार भनेर दुई मिटर परैबाट शिर निहुराएर भाग्थ्यो । उसको म क्लास टिचर थिएँ । मलाई अहिले पनि थाहा छ म उसको सबैभन्दा प्यारो टिचर थिएँ । उसका बा त्यो दुकानदार साउजीले मलाई बारम्बार भन्थे, ‘प्लिज सर मेरो छोरोलाई तपाईंजस्तै असल र आदर्शवान् मास्टर बनाइदिनुस्, म हजुरलाई हात जोडेर बिन्ती गर्दछु !’
तर समयले उल्टो बनाइदियो– म पागल भएँ । एक बर्ष अघिसम्म सर भन्दै सम्मान पाउने म आज बौलाको उपनाम पाउँदै लखेटिन्छु जहाँतहींबाट । अङ्गुर खादै गर्दा पनि धेरैले पागल भन्दै दया देखाए । केटाकेटी डराएर बाउआमाको काखमा लपेटिए । युवायुवतीहरु मलाई हेर्दै कुरा काट्न थाले, ‘यो मान्छे त पैला मास्टर हो– मा.वि.मा म्याथको स्थायी टिचर ! खै के कारणले यस्तो भयो यो मान्छे । एक युवतीले आफ्नो नयाँ साथीलाई मेरो परिचय गराई । उसले मलाई पुलुक्क हे¥यो अनि मुखबाट प्याच्च बोल्यो, ‘कठै नि !’

उनीहरुलगायत सम्पूर्ण समाजले मलाई कठै नि बाहेक केही सहयोग गर्न सक्दैनथे । मनदेखि सम्मान गर्थे तर नजिक पर्न डराउँथें । मैले उनीहरु सबैलाई चिन्थें तर कोही पनि मलाई चिन्न चाहदैनथे । सबैले छिःछिः र दुरदुर मात्र भन्थे । कारण म बौला थिएँ, सबैलाई लाज लाग्थ्यो होला सायद मलाई चिन्न अनि नजिक पर्न । त्यसैले त चिन्नेहरु पनि बौला भन्दै भाग्थे परैबाट ।

तर म पूर्ण पागल भइसकेको छैन सायद, त्यसैले त म सबैलाई चिन्छु । बेला–बेलामा म आफै सोच्छु– म किन यस्तो गरेको ? फाटेको पाइन्ट र खाली खुट्टा तातो सडकमा किन हिड्दैछु ? किन म कहिले नुहाउदैन ? किन मेरो शरीर चिलाउँछ ? एकैछिन यिनै कुराले लाज लाग्छ अनि नजिकैको मन्दिरमा पुगेर थकित शरीरलाई विश्राम दिन्छु । फेरि एकैछिनमा दिमाग आउट हुन्छ अनि फेरि त्यही फाटेको पाइन्ट पनि फुकाल्छु अनि नाङ्गै दौडिन्छु सडकै सडक । महिला लजाउँछन् अनि मुन्टो बटार्छन् । युवतीहरु मलाई देख्नासाथ हिड्दै गरेको बाटो चेन्ज गर्छन् र युवाहरु ढुङ्गा र लौरोको सहाराले मलाई भगाउँछन् । म जथाभावी भाग्दै गर्दा फेरि सोच्छु– हैट, म पागल भएछु । किन यस्तो हर्कत देखाउँदै छु म ? म रोकिन्छु, सास फुलेको हुन्छ । आफैले आफैलाई देखेर लाज लाग्छ ।

अघिसम्म मलाई लखेट्दै गरेका केटाहरु पनि अलि परै रोकिन्छन् । सायद म रोकिएकाले डराउँछन् । उनीहरुमध्ये धेरैलाई म चिन्छु, ठेलावाला किरण काकाको छोरा निर्मल पनि उनीहरुको ग्याङमा सामेल हुन्छ । उसको हातमा बाँसको लठ्ठी थियो । मैले उसलाई बोलाएँ, ऊ आएन । आफ्नो हर्कतले मेरा आँखा रसाएँ । फेरि बोलाएँ, ‘प्लिज निर्मल, यता आइज न !’

ऊ डराउँदै मेरो नजिक आयो । म नाङ्गै थिएँ । उसले नजिकै फालेको जुटको बोरा दियो । मैले त्यही बोराले आफ्नो लाज छोपें अनि भने, ‘म किन यस्तो गर्दैछु के निर्मल ? प्लिज मलाई उपचार गर न, म निको हुन्छु ।’ ऊ केही बोलेन । मैले फेरि भनें, ‘म जीवनमा धेरै प्रगति गर्न चाहन्छु, मेरा बाआमालाई र इष्टमित्रलाई भनेर मेरो उपचार गर न ।’

उसले हातमा भएको लौरो अलि पर मिल्कायो अनि भन्यो, ‘तेरो परिवार यो ठाउँबाट अन्यत्र सरिसके । तैंले देखाउने हर्कतले तेरा इष्टमित्रहरु पनि टाढा भइसके । अब कसले गर्छ तेरो उपचार ? त पनि उस्तै छस्, एकैछिन राम्रो एकैछिन नराम्रो ।’
उसको उत्तरले दिमाग बम्म फुल्यो । म फेरि अचेतजस्तै भएँ । नजिकैको निर्मललाई भूतजस्तै देख्न थालें । फेरि म आफू दीपक नै हुँ भन्ने भुलें अनि उसले दिएको जुटको बोरा मिल्काउँदै नाङ्गै भएँ । अनि त्यही जुटको बोराले निर्मललाई कुट्न थालें । निर्मलले अघि नजिकै फालेको बाँसको लौरो लिन गयो । म दगुर्दै अझ पारी पुगें अनि उनीहरु थाकेर फर्किए ।

‘ओए ल खा !’ पछाडिबाट कसैले पाकेर कुहिन थालेको एक कोसा केरा फालिदियो । मैले बिरालोले मुसा झम्टिएझैं केराको कोसा झम्टिएँ । थाहा थियो– केराको बोक्रा फालेर खानुपर्छ तर मैले फालिनँ । पहेंलो केराको बोक्रा कालो भइसकेको थियो तर ग्वाम–ग्वाम बोक्रैसँग केरा खाएँ अनि हात चाट्दै फेरि अरु केरा मागें । उसले ठूल्ठुला आँखा देखाउँदै भन्यो, ‘उता भाग पागल ।’ उसले पागल भनेपछि रिस उठ्यो तर यतिबेला म दीपक नै थिएँ पागल हुनका लागि त दिमाग आउट हुनुपथ्र्यो ।

नाङ्गिने र कपडा लगाउने क्रम दिमागमा भर पथ्र्यो । दिमागले काम गर्न छाडेपछि म पागल हुन्थें अनि नाङ्गिन्थें । फेरि दिमाग सही ठाउँमा आउँथ्यो अनि जे भेटिन्छ त्यही लगाउँथें । कहिले बोरा त कहिले प्लास्टिक, कहिलेकाहीं कपडा पनि भेटिन्थे ।
‘तिमी किन यस्तो भयौ ? मनमा के पीर छ र दीपक ?’ नजिकै प्लास्टिकको गिलासमा चिया र आधा दर्जन पाउरोटी बोकेर आएको सुजितले मलाई सुम्सुम्याउँदै सोध्यो अनि चियाको कप मेरो हातमा राखिदियो । सुजित मेरो सानैदेखिको साथी थियो, सँगै पढेको अनि सँगै खेलेको । ऊ बिदेशिएको बिगत तीन बर्षदेखि हाम्रो भेटघाट भएको थिएन । आज कताबाट थाहा पाएर मलाई भेट्न आयो । म पनि उसलाई भेट्दा निक्कै खुशी भएँ ।

मिनरल वाटरले हात धोइदियो अनि चिया र पाउरोटी खान दियो । उसको माया र अतीतको सम्झनाले मेरो मन भक्कानिएर आयो । आँखा रसाए, हिक्का छाड्दै रोएँ । ऊ पनि चाहन्थ्यो कि म पहिलेजस्तै दीपक बनुँ– सबैको प्यारो दीपक सर बनुँ । तर सानो प्रयासले त्यो सम्भव थिएन । मेरो हालत देखेर ऊ पनि निकै बेर रोयो अनि चिया र पाउरोटी खाइसक्नासाथ भन्यो, ‘तँ यही बस्, म तेरा लागि कपडा लिएर आउँछु ।’

मैले उसको प्रस्ताव अस्विकार गरें । किनभने म कुनै पनि बेला मानसिक सन्तुलन गुमाएर नाङ्गै हिड्न सक्छु । त्यसैले उसलाई भनें, ‘एकैछिन मेरो कुरा सुन न यार । मलाई उपचार गरेर सही मान्छे बना । यी कुकुर र फोहरको साथमा सुत्दा–सुत्दा म मर्न थालिसकें । मलाई सबैले बौला, पागल भन्चन् । प्लिज मलाई नयाँ जीवन दे ।’ उसले मेरो कुरा गम्भीर भएर सुन्यो अनि एक पोका शुद्ध प्लस मुखमा हाल्दै भन्यो, ‘पैला भन् तँलाई के कुरा को पीर छ ? के चिन्ता लिन्छस् र बेला–बेलामा बौलाउँछस् त ?’

उसको प्रश्नको कुनै उत्तर मसँग थिएन । मलाई आफै पनि थाहा छैन कि म किन यस्तो हर्कत देखाउँछु । पढेलेखेको, जेहेन्दार अनि गाउँकै उदाहरणीय छोरो म आज कसरी यो हालत मा पुगें ? म आफैलाई पनि थाहा छैन । उसले पत्याएन अनि भन्यो, ‘ल ल त यही बस्दै गर्, म तेरो लागि लुगा लिएर आउँछु अनि सफा भएर मेरै घरमा गएर गफ गरौंला ।’ मैले हुन्च भन्दै मुटो हल्लाएँ । ऊ निस्कियो ।
आधा घन्टापछि ऊ नयाँ लुगा लिएर आउँदै थियो । उसलाई देख्नासाथ मलाई स्वाँ–स्वाँ बढ्न थाल्यो । पृथ्वी नै घुम्न थालेजस्तो लाग्यो अनि लाज छोप्न बेरेको प्लास्टिकको बोरालाई शरीरबाट थुतेर मिल्काएँ । जथाभाबी दौडिन थालें । सुजित मलाई रोक्न खोज्दै थियो मैले उसलाई चिन्न छाडिसकेको थिएँ । ऊ भन्दै थियो, ‘दीपक किन यस्तो गरेको ? म तँलाई सही मान्छे बनाउँछु, उपचार गराउँछु ।’

म चोक–चोकमा दौडिएँ । पसल–पसलमा नाङ्गै उभिएर हात थापें । मान्छेहरु लाजले भए पनि खानेकुरा दिन्थे, म सफा फोहर नछुट्याएरै खान्थे । एक मिठाई पसलमा उभिएर साउजीले दिएको समोसा खाँदै थिएँ, एकजना लफङ्गाले भन्यो, ‘छिः फोहरी पागल ।’ मैले उसको गर्धन समातें अनि भनें, तेरो शाखा–सन्तान पागल । मार्दिन्छु तँलाई अनि तेरो परिवारलाई । सबै जना मिलेर उसलाई मबाट बचाए अनि सबै मिलेर मलाई लखेटे ।

सुजित पनि नजिकिन छाड्यो । बाआमा कहाँ छन् ? त्यो मलाई मात्र होइन कसैलाई पनि थाहा छैन । इष्टमित्रहरुले त चिन्नै छाडिगे पागल भनेर । म पूरै पागलजस्तै भएँ । अब त नाङ्गै हिड्दा पनि के–के बर्बराउँदै पो हिड्न थालेछु– प्योर पागलजस्तै ।
मान्छेहरु भन्छन्, मर्नुभन्दा बहुलाउन बेश । ती बहुलाउन बेश भन्नेहरुलाई चुनौति दिन्छु, ‘ओए पागल हुन नसकेकाहरु, एक दिन बहुलाएर त हिड कति गाह्रो छ बहुलाउन, बरु मर्न सजिलो । मनमा यस्तै कुरा खेल्दा सडकमै गुनगुनाउँछु– ‘मर्न बरु गाह्रो हुन्न…. ।
०००