शिक्षा क्षेत्रमा १ अर्ब ९ करोड ७७ लाख ४४ हजार रूपैयाँ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

शिक्षा क्षेत्रमा १ अर्ब ९ करोड ७७ लाख ४४ हजार रूपैयाँ



सन्धिखर्क : आर्थिक वर्ष ०७४÷७५ का लागि जिल्लामा चालु र पूँजीगत गरी शिक्षा क्षेत्रमा १ अर्ब ९ करोड ७७ लाख ४४ हजार रूपैयाँ विनियोजन भएको छ । स्थानीय तहबाट शिक्षा क्षेत्रमा छुट्टाइएको ८८ करोड २९ लाख ३९ हजार, जिल्ला शिक्षा कार्यालयमा छुट्टाइएको २१ करोड ६१ लाख ३७ हजार ७ सय ६४ गरी सो रकम विनियोजन गरिएको हो ।

जिल्ला शिक्षा कार्यालयले सन्धिखर्कमा पत्रकारहरूसँग अन्तक्र्रिया गर्दै आगामी कार्यक्रमहरूका बारेमा जानकारी गराएको छ । जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउत क्षेत्रीले शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि जिल्ला शिक्षा कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

उनले विद्यालयको सिकाइ वृद्धि ४७.३ प्रतिशतबाट वृद्धि भई ५२.९२ पुगेको बताए । शैक्षिक गुण्स्तर वृद्धि गर्न मासिक रूपमा नियमित विद्यालयले प्रगति विवरण शिक्षा कार्यालयमा वुझाउनु पर्ने व्यवस्था लागू गरिएको बताए । राउतले जिल्लामा कक्षा १ देखि ९ कक्षा सम्मै ग्रेडिङ्ग प्रणलीमा परिक्षा सञ्चालन गरेको जानकारी दिए । उनले अर्घाखाँची ग्रेडिङ्ग प्रणलीमा परिक्षा सञ्चालन गर्ने पश्चिमाञ्जकै पहिलो जिल्ला रहेको बताए ।

‘तालिमको अभावमा शिक्षकहरूले ग्रेडिङ्ग प्रणलीमा परिक्षा गराउन झण्झट मानिरहेको छन्’ उनले भने, ‘प्रत्येक विद्यालयका शिक्षकहरूलाई तालिमबाट प्रशिक्षित गराउने योजना छ ।’ न्यून विद्यार्थी संख्या भएका जिल्लाका ११ विद्यालय समायोजनको पक्रियामा रहेको भन्दै उनले निर्वाचन पछि विद्यालय समायोजनको काम थाल्ने बताए ।

कार्यालयका शाखा अधिकृत बलराम मिश्रले पछिल्लो समयमा सरकारी विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको बताए । उनले रेमिटान्सको प्रभावले मानिसहरू शहर केन्द्रीत हुँदा गाउँका विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएको बताए । उनले पछिल्लो १८ वर्षमा सरकारी विद्यालयमा विद्यार्थीको संख्या ७६ हजारबाट घटेर ४६ हजारमा झरेको बताए ।