अर्घाखाँची घटना राजनीति दलका नेताहरू प्रतिको आक्रोश - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

अर्घाखाँची घटना राजनीति दलका नेताहरू प्रतिको आक्रोश



कर्ण बहादुर अधिकारी मकाउ, चीन
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा बिहीबार उद्योग वाणिज्य सङ्घले आयोजना गरेको अर्घाखाँची महोत्सवको उद्धघाट्न गर्न पुगेका ऊर्जा मन्त्री जनार्दन शर्मा र माओवादी केन्द्रका केन्द्रीय नेता डिलाराम आचार्य माथि स्टेजमै ढुङ्गा प्रहार भएको कुरा पढ्दा र देख्दा लाग्छ अब देश गम्भीर अवस्था तिर उन्मुख भई रहेछ।नेपालका राजनीतिक दलका नेताहरूले जनताको भावना माथि खेलबाड गरेकै कारण यस्तो अवस्था सृजित हुन पुगेको हो।प्रदेश नं ५ टुक्राउन लागेको अवस्थामा विगत डेढ महिना देखि आन्दोलनमा होमिई रहेका जनताको भावनालाई कदर नगरी सरकारमा नेतृत्व गरी रहेका माओवादी केन्द्रका केन्द्रीय नेता डिलाराम आचार्यको सिमाङ्कन हेरफेर जायज रहेको र यो सफल हुने भन्दै दिएको अभिव्यक्तिबाट आक्रोसित भएका जनतालाई रोक्न सक्ने सामर्थ्य कसैसँग पनि भएन र अन्त्यमा ज्यान जोगाउनकै लागि भाग्नु पर्‍यो।आखिर यसरी कति दिन सम्म भाग्ने ?प्रदेश नं ५ लाई बिखण्डन गर्नुका कारण के? के भोलीका दिन जनताको घर दैलामा चुनावी प्रचार प्रचारमा जानु नपर्ने हो की त ? जनता नै जनार्दन हुन भन्ने भुल्दै जानु र जनताको अभिमतलाई कदर नगर्ने किसिमको माहौल बनाउदै गए भने अब आउँदा दिनहरू राजनीतिक दल र नेताहरूलाई झनै कष्टकर हुने छ।राजनीति दलका नेताहरू आफै फस्ने खाल्डो आफै खनि रहेको छन्।

प्रदेश नं ५ का जनताको बिचार र भावना भनेको प्रदेश ५ लाई बिभाजन हुन नदिई अखण्ड नै राख्नु हो तर त्यही भूगोलमा गएर बिखण्डनको कुरा गरे पछि स्थिति त जटिल हुने नै भयो।जनार्दन शर्मा र डिलाराम मात्र होइन यदि त्यो ठाउँमा अन्य पार्टीका अन्य नेताहरू गएर त्यस्तै अभिव्यक्ति दिएको भए पनि परिणाम त्यही नै आउँने थियो आज माओवादीलाई यो अवस्था आयो भन्दैमा अन्य दलहरूले ताली बजाउनुको कुनै अर्थ छैन।नेपालको राजनीतिबाट नेपाली जनताले आशा गर्ने ठाउँ कतै छैन।सबै जनता निराश छन्।राजतन्त्र र राजा फालियो तर सयौ राजाहरू जन्मिए।नयाँ संविधान ७२ मा जारी भयो तर त्यसलाई लागु गर्न नपाउदै संशोधनको तयारीमा छ।संविधानको पालना कहीँ कतैबाट पालना भएको पाईदैन।देशमा भ्रष्ट्राचार भई रहेको छ।अमन चयन कहीँ कतै छैन।नेपाली जनताले सुरक्षाको प्रत्याभूति पाउन सकेका छैनन् अब तपाईँ नै भन्नु होस सङ्घीय लोक तान्त्रिक गणतन्त्र नेपाल बनाएर फाइदा के भो?

नेपालका राजनीतिक दलका नेताहरू माक्सबाद,लेनिनबाद र माओबादका कुराहरू गर्न भ्याई नभ्याई छन् तर नेपाली जनतालाई सङ्घीयताको बारेमा बुझ्न र बुझाउन सक्ने हैसियत राख्दैनन्।हरेक दिन सूर्य पूर्वमा उदाएर पश्चिममा अस्ताउछ र हावा उत्तरबाट दक्षिण तिरै बहन्छ भने झैँ नेपालको राजनीतिलाई पनि सही ढङ्गबाट सञ्चालन गरेर त्यस्तै चक्रिय प्रणालीमा लैजानु पर्ने होइन र ? जब सम्म सङ्घीयताका बारेमा जनतालाई बुझाउन सक्दैनन् तब सम्म यस्ता समस्याहरू आई रहने छ।नेपालका कयौ बिशेषज्ञहरूबाट नेपालको राजनीतिक माहौललाई बुझ्दा देश त गम्भीर अवस्थामा छ भन्ने लाग्दछ।संसद् भवन एउटा नमुना परीक्षण केन्द्र बनी रहेछ।परीक्षण केन्द्रमा कहिले लोकतन्त्र कहिले सङ्घीय गणतन्त्र त कहिले सङ्घीयताको बारेमा परीक्षण गरी रहेका छन्।परीक्षण गरेता पनि परिणाम भने लगभग लगभग शून्यको अवस्थामा छ।

प्रदेश नं ५ लाई बिखण्डन गर्दै नवलपरासी देखि बर्दिया सम्मको भूभागलाई ५ नं प्रदेश बनाउने प्रस्ताव राखिएको छ यो जसले जे भने पनि भारतको एजेण्डा हो।भगवान् गौतम बुद्धको जन्म स्थल लुम्बिनी माथि आँखा गाडी रहेको भारतले यसो गर्न सकेको खण्डमा ठुलै सफलता हात पार्ने छ।चाहे त्यो केपी शर्मा ओलीले विगतमा हस्ताक्षर गरेको होस वा काँग्रेसले नै त्यही कुरालाई नै पालना गरेको हुँ भन्दै मुख्त कण्ठबाट वाचन गर्दै यो सरकारले यस्तो निर्णय गर्नु राष्ट्रियता माथि नै धब्बा लगाउनु हो।भारतले सके सम्म नेपाललाई उपनिवेश बनाउने र नसके आफ्नो कमाण्डमा राज गर्ने सोचका साथ १५० वर्ष पछिको परिकल्पना साथ अगाडी बढी रहेछ।

यस्ता कुरालाई किन बुझ्दैनन नेपालका नेताहरू।स्वर्गीय राजा बिरेन्द्रको पालामा ११६ राष्ट्रले नेपाल शान्ति क्षेत्र घोषणा हो र गर भन्दै हस्ताक्षर गर्दा भारतले किन गरेन?किनकि भारत नेपालको कहिले पनि भलो चाहदैन।आफै ब्रिटिसको उपनिवेश बनेकाले नेपाल जस्तो सार्वभौम सम्पन्न राष्ट्रलाई उपनिवेश लाद्न खोज्नु कतिको जायज छ भन्ने बारे तपाईहरू नै अनुमान लगाउन सक्नु हुन्छ।मदन भाण्डारी काण्ड राजदरबार हत्याकाण्डका नाममा नेपाल माथि अराजक तत्वहरूको राज बढ्दै जानुलाई तपाईँ के भन्नु हुन्छ भन्ने कुराको जवाफ तपाईहरू सँग नै छ।प्रदेश नं ५ लाई बिखण्डन गर्नु भनेको नेपालको राष्ट्रियता माथि नै कालो धब्बा लगाउनु हो र नवलपरासी देखि बर्दिया सम्मको भूभाग छुट्टै प्रदेश भयो भने जीत भारतको हुने छ।