आरजु र मञ्जुको अडियो काण्ड- आवाज सत्य, बयान असत्य - Himal Post Himal Post
  • २१ जेष्ठ २०८०, आईतवार
  •      Sun Jun 4 2023
Logo

आरजु र मञ्जुको अडियो काण्ड- आवाज सत्य, बयान असत्य



काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा बाहिरिएको बालकृष्ण खाण, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा र सांसद मञ्जु खाणको अडियो सत्य भएको खुलेको छ ।

विचौलियामध्येका एक सन्देश शर्माले आफूले टेलिफोनमा कुराकानी गरेको स्वीकार गरेका छन्। अनुसन्धानका क्रममा प्रहरीसँगको बयानमा उनले आफूलाई उक्त कुरा जाहेरवालाले भन्न लगाएको र आफूले भनेको तर उक्त कुरा सत्य नभएको दाबी गरेका छन्।

उक्त अडियो सार्वजनिक भएपछि खाण र देउवाले प्रहरीमा उजुरी पनि गरेका थिए। उनीहरुले अडियो बनाएको दाबी गरेका थिए।

‘जाहेरवाला गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले मलाई पहिले नै फोन सम्पर्क गरी हामीले पैसा लिएका मानिसहरुले हामीलाई समस्यामा पारिसके। निजहरु आएको समयमा हामी तपाईंलाई फोन गर्छौं। सो समयमा तपाईले हामीले भनेको मानिसलाई रकम बुझाएको छौं भनि जानकारी गराइदिनु भयो भने बाच्छौं भनि पहिले नै भनेका थिए,’ उनले भनेका छन्, ‘त्यही अनुसार मैले फोन गरेको हुँ। पहिले नै उनीहरुको नाम लिई पैसा दिएको हो भनी भन्नु भनेको हुँदा उनीहरुले भनेअनुसार आरजु देउवा तथा बालकृष्ण खाण र तपाईंले हामीले भनेको मानिसलाई रकम बुझाएका छौं भनी जानकारी गराइदिनु भनेर मज्जु खाणकोसमेत नाम लिई मैले रकम बुझाएको हो भनी कुरा गरेको हो।’

उनले टोपबहादुर रायमाझीसँग गोसाइकुण्ड गएको पनि स्वीकार गरेका छन्। ‘सिम्रिक एअरको गोसाई कुण्ड घुम्नको लागि प्याकेज चलेको हँदा संयोगबस एउटै हेलीकप्टरमा गएका हौं, पूर्व चिनजान भई भुटानी शरणार्थी बनाई नेपालीहरुलाई अमेरिका लैजाने प्रसंगका लागि गएको होइन’ उनले बयानमा भनेका छन्, ‘जाहेरवाला गजेन्द्र बुढाथोकीले भुटानी शरणार्थी भई अमेरिका जाने मानिसहरु संकलन गर्ने, रकम उठाउने काम गर्ने गरेका र प्रतिवादी केशव प्रसाद दुलालले गजेन्द्र बुढाथोकीले संकलन गरेका मानिसहरुको नाम माथिल्लो निकायमा पुर्‍याउने, सो सम्बन्धी कागजातहरु तयार पार्न लगाउने जस्ता कार्य गर्ने भएकोले निज प्रतिवादी केशव दुलालको जाहेरवालासँग सम्पर्क नहुँदाको अवस्थामा निजले केही कागजातहरु मेरोमा पठाएकोले मैले निजले पठाइदिएको उक्त कागजातहरु जाहेरवाला गजेन्द्र बुढाथोकीको ह्वाट्स एपमा पठाइदिएको मात्र हुँ।’