आरजु भाउजुको उट्पट्याङ्ग हर्कतले कांग्रेस नेताहरू आजिद - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

आरजु भाउजुको उट्पट्याङ्ग हर्कतले कांग्रेस नेताहरू आजिद



काठमाडौँ- कांग्रेस नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको पछिल्लो सक्रियता सहस्यमय बन्दै गएको छ ।

निरन्तर भारत भ्रमण र भारतीय नेताहरूसँगको उठबसले उनको सक्रियता रहस्यमय बन्दै गएको हो । लामो समयदेखि भारतमा रहेकी राणाले बुधबार फेरि नयाँदिल्लीमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेकी छन् ।

यसअघि भाजपाको मुख्यालयमै उनीहरूको भेट भएको थियो भने देउवाले पाँचौं पटक सत्ताको नेतृत्व गरेको एक वर्षमा राणा र चौथाइवालेबीच भएको यो चौथो भेटवार्ता हो ।कांग्रेस सभापति देउवा पछिल्लोपटक प्रधानमन्त्री भएको डेढ महिना नबित्दै चौथाइवाले नेपाल भ्रमणमा आएका थिए ।

त्यही बेला राणा र चौथाइवालेबीच सम्बन्ध स्थापनाको आधार तय भएको हो । भदौ ६ गते रक्षा बन्धनको बेलुकी बालुवाटार पुगेका चौथाइवालेलाई राणाले राखी बाँधिदिएकी थिइन्, जसले उनीहरूको सम्बन्धलाई दुई मुलुकका नेताबाट ‘दिदी–भाइ’ मा परिणत गरिदियो । यसलाई ‘राखी कूटनीति’ भनेर टिप्पणी गर्ने गरिएको थियो।

उनीहरूबीच भैरहेको निरन्तर भेटवार्तालाई लिएर सामाजिक सञ्जालमा समेत विभिन्न टिप्पणी हुने गरेका छन् । लगातारको भेटलाई लिएर राणाले आउँदो निर्वाचनपछि सत्ताको यात्रा सहज बनाउन खोजेको आरोप लाग्ने गरेको छ । राणाले गत वर्ष पुस र गत जेठमा स्वास्थ्योपचारका लागि दिल्ली गएका बेला पनि चौथाइवालेलाई भेटिन् ।

गत चैतमा प्रधानमन्त्री देउवाले भारत भ्रमण गर्दा पनि राणा र चौथाइवाले बीच भेटवार्ता भएको थियो । देउवा दिल्लीको इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेबित्तिकै पत्नी राणाका साथ दिनदयाल मार्गस्थित भाजपा मुख्यालय पुगेका थिए ।

चौथाइवाले र राणाबीचको घनिष्ठ सम्बन्धकै कारण भारतीय सत्तारूढ दलको मुख्यालय भ्रमण तय भएको चर्चा हुने गरेको छ । नेपालमा चिनियाँ र अमेरिकी सक्रियता बढ्ने अनुमान भइरहेका बेला भारत सरकार र भाजपाले चौथाइवालेलाई नेपाल मामिलामा सक्रिय रूपमा परिचालन गरिरहेको देखिन्छ ।

चौथाइवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विश्वास पात्र मानिन्छन् । अर्कातर्फ प्रधानमन्त्री देउवा पत्नी राणा आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने कसरतमा रहेको कांग्रेसकै नेताहरूले बताइरहेका छन् । त्यसैले राणा र चौथाइवाले बीचको निरन्तर भेटवार्तालाई अर्थपूर्ण रूपमा हेर्ने गरिएको छ ।

राणाको शल्यक्रिया सफल भएपछि उनीहरूले बुधबार भेटवार्ता गरेका हुन् । नेपालको सत्तारूढ कांग्रेस र भारतको सत्तारूढ भाजपाले एक वर्षयता दलगत सम्बन्ध विस्तारलाई प्राथमिकता दिइरहेका छन् । यसमा पनि आरजु र चौथाइवाले सेतुका रूपमा काम गरिरहेका छन् ।

भारतीय कंग्रेससँग राम्रो सम्बन्ध भएको नेपाली कांग्रेससँग त्यसअघि भाजपाको पार्टीगत सम्बन्ध थिएन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालाई दुई साताअघि भारत भ्रमण गराउनुमा पनि राणाकै भूमिका रहेको थियो ।

कुनै हल्लाबिना प्रचण्ड एकाएक भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा दिल्ली जाने खबर सार्वजनिक भएको थियो । प्रचण्डसँग दिल्लीमै भएको भेटमा पनि आरजुलाई प्रधानमन्त्री बनाउने समझदारीका रूपमा हेरिएको थियो । कतिपयले त प्रचण्ड र राणाले आधा-आधा कार्यकालका लागि सहमति गरेको दाबी समेत गरेका थिए ।

कांग्रेस थप संकटमा

देशमा पुराना राजनीतिक दलहरूका यस्तै मनोमानीका कारण स्थानीय तहको निर्वाचनमा जनताले स्वतन्त्र उम्मेदवारहरू रोज्न बाध्य भएको विश्लेषण भैरहेको छ भने संसदीय निर्वाचनमा यसको ठूलो रुप देखिने आंकलन गरिएको छ ।

प्रधानमन्त्री देउवाले आरजुलाई प्रधानमन्त्री वा उपप्रधानमन्त्री बनाउने कसरत गरेको खण्डमा कांग्रेस थप संकटमा पर्ने देखिएको छ । सामाजिक संजालमा व्यक्त गरिएका आक्रोशले पनि यस्तो संकेत गर्छ ।

एकातिर नाताबादविरुद्ध जनमानसमा ठूलो आक्रोश देखिएको छ भने अर्कातिर स्वतन्त्र उम्मेद्वारहरूलाई सघाउने अभियान देशव्यापी चलेको बेला कांग्रेस वा कांग्रेसका सभापतिले चालेका कदम कांग्रेसका लागि अत्यन्त घातक बन्ने देखिन्छ ।

उट्पट्याङ्ग हर्कतले नेताहरू आजिद

देउवा प्रधानमन्त्री भएपछि आरजु देउवाले कर्मचारी सरुवा, सरकार संचालन र पराराष्ट्र मामिलामा गरेका उट्पट्याङ्ग हर्कतले कांग्रेस नेताहरू आजिद बनेको बताउने गरेका छन् ।

पछिल्लो समय अलोकप्रिय बनेको कांग्रेसलाई नयाँ रूपमा लैजाने बेला झन् अलोकप्रिय बनाउन देउवा परिवार नै लागिपरेको भन्दै नेताहरूले आलोचना गर्ने गरेका छन् ।

प्रधानमन्त्री कार्यालयदेखि पार्टीका निर्णयसम्म राणाकै बोलाबाला चल्ने गरेको भन्दै कांग्रेसका एक नेताले चिन्ता व्यक्त गरे । उनले आरजु भाउजुका पछिल्ला सक्रियताले सरकार र पार्टीलाई झन् समस्यामा पारेको बताए । उनले भने, ‘भाउजुले कर्मचारी सरुवा, सरकार संचालन र पराराष्ट्र मामिलामा अस्वाभाविक सक्रियता देखाउँदा नेताहरू नै आजिद बनेका छन् ।’