देउवा पत्नी आरजुको नाममा स्रोत नखुलेको दुई अर्बको सम्पत्ति भेटियाे - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

देउवा पत्नी आरजुको नाममा स्रोत नखुलेको दुई अर्बको सम्पत्ति भेटियाे



काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी तथा पूर्व सांसद आरजु राणा देउवाको नाममा स्रोत नखुलेको करिब दुई अर्ब बराबरको सम्पत्ति फेला परेको छ ।

गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै राणाविरुद्ध उजूरी परेपछि छानविनको क्रममा सम्पत्ति शुद्धिकरण विभागले करिब २ अर्ब बराबरको सम्पत्ति फेला पारेको बताइएको छ । विभिन्न व्यवसाय, आइएनजिओ र एनजिओमार्फत गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप उनीमाथि लाग्दै आएको थियो ।

अनुसन्धानका क्रममा आश्चर्यजनक तथ्यहरू भेटिएको समेत बताइएको छ । गैरकानूनी सम्पत्ति आर्जनको आशङ्कामा राणामाथि २ वर्षदेखि विभागले अनुसन्धान गरिरहेको थियो ।

राणाको विषयमा गरेको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ । विभागका अनुसार अनुसन्धानका क्रममा राणाका नाममा फेला परेको सम्पत्तिको स्रोत खुलेको छैन ।

विभाग स्रोतका अनुसार, ‘शैक्षिक संस्थामा गरेको लगानी, शेयर बजारमा गरेको लगानी, घरजग्गा र हाइड्रोपावरमा भएको लगानी मध्ये धेरैको स्रोत खुल्दैन ।’

राणा लगायतको लगानीमा ललितपुरस्थित खुमलटारमा नेपालकै महँगो शुल्क लाग्ने युलेन्स स्कुल तथा क्याम्पस सञ्चालनमा छ । विभिन्न हाइड्रोपावर, बैंक तथा वित्तिय संस्थाहरूमा राणाको नाममा शेयर भेटिएको छ ।

त्यतिमात्र होइन थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कमा पनि राणाको लगानी रहेको खुलेको छ । यस्तै स्रोत नखुलेको धेरै लगानी भेटिएको बताइएको छ । राणाले गत निर्वाचनमा निर्वाचनताका कैलालीमा किनेको घरको समेत लगानीको स्रोत म्याच नभएको विभाग स्रोतको दाबी छ ।

राणाका पति पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री हुँदा सार्वजनिक गरेको आफ्नो सम्पत्ति विवरणमा भने आरजुको नाममा रहेको कुनै पनि सम्पत्ति विवरण देखाएका छैनन् । देउवाले पनि भ्रष्टाचार निवारण ऐन नै मिचेर सम्पत्ति नदेखाएको भेटिएको छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो पद धारण गरेको मितिले साठी दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक विवरण पेश गर्नुपर्ने व्यवस्था छ । तर, प्रधानमन्त्रीको हैसियतमा कांग्रेस सभापति शेरबहादुर देउवाले पेश गरेको सम्पत्ति विवरणमा आरजु राणाको नाममा कुनै पनि सम्पत्ति देखाएका छैनन् ।

भ्रष्टाचार निवारण एन २०५९ ले सम्पत्ति विवरण बुझाउनु पर्ने व्यवस्था गरेको छ । ऐनको दफा १६ मा सम्पत्ति विवरण पेश गर्दा झुट्टा विवरण दिन नहुने उल्लेख छ । यदि कुनै विवरण झुट्टा दिएमा वा सो सम्बन्धी झुट्टा प्रमाणपत्र पेश गरेमा निजलाई कसुरको मात्रा अनुसार छ महिनादेखि एक वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि बीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

दफा १६ को उपदफा २ मा सम्पत्ति विवरण बुझाउँदा आफ्नो नाममा वा अंशमा हक लाग्ने वा एकासगोलको परिवारको नाममा रहेको वास्तविक सम्पत्तिभन्दा बढाई वा भए रहेको सम्पत्ति लुकाई छिपाई झुट्टा विवरण दिएमा निजलाई एक महिनादेखि तीन महिनासम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । यसरी लुकाई छिपाई राखिएको सम्पत्ति समेत जफत हुनेछ ।