मोदीलाई अर्को झट्का: १९६ घन्टामा १ अर्ब ३० करोड डलर घाटा - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

मोदीलाई अर्को झट्का: १९६ घन्टामा १ अर्ब ३० करोड डलर घाटा



एजेन्सी- पछिल्लो समय इन्टरनेट जीवनको अभिन्न अंग बनेको छ । इन्टरनेट भएन भने दैनिक कार्यतालिका मात्रै होइन व्यक्तिगत स्वतन्त्रतामा पनि अवरोध उत्पन्न हुने स्थिति छ ।

इन्टरनेट नहुँदा आर्थिक गतिविधिमा पनि नकारात्मक असर पर्छ । इन्टरनेट नहुँदा भारतीय अर्थतन्त्रलाई ठूलो घाटा भएको छ । बेलायती प्रविधि अनुसन्धान कम्पनी टप टेन भीपीएनले सार्वजनिक गरेको ‘इन्टरनेटमा प्रतिवन्धको विश्वव्यापी घाटा’ शीर्षकको प्रतिवेदनले यस्तो देखाएको हो ।

अध्ययनअनुसार सन् २०१९ मा ४ हजार १९६ घन्टा इन्टरनेट नहुँदा भारतीय अर्थतन्त्रलाई करीब १ अर्ब ३० करोड डलर घाटा भएको छ ।

सरकारले इन्टरनेट प्रवाहमा प्रतिबन्ध लगाउँदा विश्वमा सबैभन्दा धेरै प्रभावित हुने तेस्रो देश भारत बनेको प्रतिवेदनमा उल्लेख छ ।

सर्वाधिक प्रभावित शीर्ष २ देशमा भने इराक र सुडान छन् । भारत सरकारले जम्मु कश्मिर, अरुणाचल प्रदेश, असम, मेघालय, राजस्थान, उत्तर प्रदेश र अन्य केही क्षेत्रमा इन्टरनेट बन्द गरेको प्रतिवेदनले देखाएको छ ।

पटक– पटक इन्टरनेट अवरुद्ध हुँदा औसतमा ८४ लाख इन्टरनेट प्रयोगकर्ता प्रभावित भएका छन् । अध्ययनमा ठूलो क्षेत्रमा इन्टरनेट प्रवाह अवरुद्धको मात्रै आकलन गरिएको छ । यसमा स्थानीयस्तरमा गरिएको प्रतिवन्धलाई समावेश गरिएको छैन ।

यसलाई समेत समावेश गर्ने हो भने यसले अर्थतन्त्रमा पारेको प्रभाव झनै ठूलो हुन सक्ने बताइएको छ ।

गत वर्ष विश्वभर कुल १८ हजार २२५ घन्टा इन्टरनेट बन्द भएको थियो । यसको कारण विश्व अर्थतन्त्रलाई सो अवधिमा ८ अर्ब ५ करोड डलर घाटा भएको प्रतिवेदनले देखाएको छ ।

यो सन् २०१५–१६ को तुलनामा २३५ प्रतिशत धेरै हो । प्रतिेवदनमा विश्वका २१ देशमा भएका १२२ ठूला प्रतिवन्धलाई मात्रै समावेश गरिएको छ ।
सो अवधिमा सामाजिक सञ्जाल मात्रै भने ६ हजार ३६८ घन्टा बन्द भएका छन् ।

गत वर्ष अहिलेसम्मकै धेरै इन्टरनेट बन्द भएकोे प्रतिवेदनका लेखकद्वय स्यामुएल वूडह्याम्स र सिमोन मिग्लिआनोले बताएका छन् ।