मन्त्रालयमै बोलाएर विवादित नीति फिर्ता लिन गभर्नरलाई अर्थमन्त्रीले दिए निर्देशन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मन्त्रालयमै बोलाएर विवादित नीति फिर्ता लिन गभर्नरलाई अर्थमन्त्रीले दिए निर्देशन



काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई लगानीकर्ताको मनोबल गिर्ने निर्णय तत्काल फिर्ता लिन निर्देशन दिएका छन् । अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई आफूलाई जानकारी नदिइ यस किसिमको निर्णय किन गरेको भन्दै ओराश्ना समेत गरेका छन् ।

मन्त्री शर्माले गभर्नर अधिकारीलाई अर्थमन्त्रालयमै बोलाएर सेयर लगानीकर्ताको असन्तुष्टीबारे सोधेका थिए । केन्द्रीय बैंकको एउटा नीतिका कारण लगानीकर्ता गभर्नरसँग चिडिएका बेला मन्त्री शर्माले अधिकारीलाई बोलाएर यस्तो निर्देशन दिएका हुन्।

केन्द्रीय बैंकको एउटा नीतिका कारण लगानीकर्ता गभर्नरसँग रुष्ट बनेका छन् । उनीहरूले उक्त व्यवस्था तुरुन्त फिर्ता लिनुपर्ने माग गरेका छन् । ठूला लगानीकर्तालाई बजारमा अप्ठ्यारो पार्ने हिसावले नीति ल्याइएको भन्दै लगानीकर्ताहरूले राष्ट्र बैंकका गभर्नरको राजीनामा मागेका छन् ।

पुँजी बजार सुधार संघर्ष समितिले नेपाल राष्ट्र बैंक पछाडी नहटेमा केन्द्रीय बैंक समेत घेराउ गर्ने चेतावनी दिएको छ । लगानीकर्ताले आजै आन्दोलनको तयारी समेत गरेका छन् ।

परिस्थिति बिग्रने अवस्थामा पुगेपछि मन्त्री शर्माले लगानीकर्ताको मनोवलमा गिरावट आउने गरी कुनै पनि काम नगर्न र लिइएका निर्णय तत्काल फिर्ता लिन गभर्नर अधिकारीलाई निर्देशन दिएका छन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर बजारमा जाने मार्जिन प्रकृतिको कर्जाको सीमा ४ करोड देखी १२ करोडसम्मको निर्धारण गरेको थियो । यसैगरी केन्द्रीय बैंकले एकीकृत निर्देशिका २०७७ लाई परिमार्जन गर्दै एकाघर परिवारले १ बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र एकभन्दा बढी वित्तीय संस्थाबाट अधिकतम १२ करोडसम्म कर्जा लिन पाउने व्यवस्था गरेको छ ।

उक्त सीमाभन्दा बढी कर्जा लिएका ऋणीले चालु आर्थिक वर्षको अन्त्यसम्म वा कर्जा अवधिमध्ये जुन पहिले हुन्छ सोही आधारमा कर्जा भुक्तानी गरिसक्नुपर्ने निर्देशनमा उल्लेख गरिएको छ ।