चुनाव हार्नेहरुका निम्ति ! « Himal Post | Online News Revolution
Logo

चुनाव हार्नेहरुका निम्ति !



दीपक घिमिरे

भर्खरै दोस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भएको छ । जित्नेहरुले विजय जुलुस निकाले , गाउँ टोल परिक्रमा गरेर उत्सब मनाए भने हार्नेहरुले मुन्टो लुकाउदै घर तिर टाप कसे । चुनावमा यो अवस्था भनेको सामान्य हो । जित्नेहरु नाच्छन अनि हार्नेहरु रुन्छन । अहिले सम्म देखेकै हो ।तर एउटा कुरा हार्ने वालाहरुले कहिले मनन गर्दैनन कि मैले किन हारे भनेर । समीक्षा गर्दैनन कि मैले किन हारे भनेर । बरु लाल्छना लगाउछन फलानाले गर्दा हारियो भनेर । अनि एकअर्का प्रति दोषारोपणमा उत्रन्छन र झन् कमजोर बनाउछन आफूलाई । भएका आफ्ना दुईचार जना शुभ-चिन्तकलाई पनि गुमाउछन अनि झन् एक्लिन्छन कहिले नजित्ने गरी ।

चुनावमा हारजित हुन्छ भनेर नै प्रतिस्प्रधा गर्ने हो । एउटाले जित्नको लागि अर्कोले हार्नै पर्छ । तर हार्नेहरुले आत्मसमिक्षा या आफू भित्रको कमजोरी पत्ता लगाउन नसक्दा पटक पटक हार्दछन । एउटा हारलाई सहर्ष स्वीकार गरेर आफूभित्रको कमजोरी अनि लोकप्रीयतालाई बढाउन सक्यो भने अर्को पटक अवश्य जित हुन्थ्यो तर त्यसो गरेको पाईदैन बरु धाधली , अन्तर्घात अनि असहयोगको आरोप लगाएर समाजबाट अलग्गै भैदिन्छन अनि सुरु हुन्छ हारको खेल ।

बाहिरी जिल्लाको भन्दा आफ्नै जिल्लाको कुरा गरौँ । यहाँ चुनावी माहोल चल्दै गर्दा धेरै अड्कल हरू काटीए । फलानाले स्योर जित्छ देखि फलाना त गयो भन्ने खालका भबिष्यबाणीहरु भए । कोही जनमानसको पावरमा अगाडि आए त कोही पैसाको पावरमा अगाडि आए । तर जनताले कस्तालाई चुन्छन या कस्तालाई आफ्नो अमूल्य भोट दिन्छन भन्ने कुरा छर्लङ्ग भयो ।

मैले बुझे अनुसार दुई जना हस्तीहरु यो पटक दाङको चुनावमा फेल खाए । एउटा मेयरमा पराजय भए भने अर्का वडा अध्यक्षमा फेल भए । मेयरमा पराजय हुने आदरणीयले जनमत बुझ्न सकेनन् । उनी आफ्नै रटानमा थिए कि आफ्नो दलले जो सुकै लाई उठाएपनी जितिन्छ । उनी भित्र एउटा दम्भ थियो कि आफ्नो दललाई हराउन अरू जति सुकै दल बिच साठगाठ भए पनि सक्दैनन । तर अवस्था त्यस्तो थिएन । स्थानीय तहमा जनताले दललाई भन्दा व्यक्तिलाई हेर्छन । व्यक्ति जनता माझ भिज्न नसक्नु नै ती आदरणीयको हार हो । अब हारलाई आफ्नो कमजोरी ठानेर जनताको राजनीतिमा अग्रसर भए भने अर्को पटक पालो आउला होइन भने उहीँ रामचन्द्र पौडेलको अवस्था नरहला भन्न सकिन्न । उमेद्वारी दिन पनि नछाडने अनि जित्ने त सपनामा मात्र ।

अर्का एक जना थिए युवा । स्थानीय तहको नेतृत्व युवाको हातमा आउनु पर्छ भनेर हामी जतिसुकै कोकोहोलो मच्चाए पनि भोट दिने बेला उनै वृद्धलाई रोज्छौ । आफ्नै गाउँ टोलको नेता युवा होस भन्ने चाहन्छौ तर उसलाई कहिले अगाडि बढन दिदैनौ । ठ्याक्कै त्यस्तै भयो ।
उनले हारेपछी बजारमा धेरै थरी हल्ला फैलिए । कसैले सकारात्मक समर्थन गर्दै जित्नै पर्ने मान्छेले हार्‍यो भने त कतिले बल्ल खायो भने । उनीलाई समाजले हेर्ने नजर दुई थरी थियो । एकथरि सशक्त जुझारु अनि समाज प्रति कटिबद्ध युवाको रूपमा चिनेका थिए भने अर्काथरी हार्नै पर्ने मान्छे मा गन्थे , नजर नकारात्मक लगाउथे । दलिय नजर नलाउनेहरु उनको व्यक्तित्वलाई हेर्दथे । झिनो मतान्तरमा हार्ने उनले अब कसैलाई दोषारोपण गर्नुको साटो आफू भित्रको क्षेमतालाई अझ निखार्नु पर्दछ । हार लाई सहर्ष स्वीकार गरेर समाज र टोलबासीका निम्ति समर्पित भए भने अर्को पटकको चुनावमा भारी मतान्तरले विजयी बन्ने छन् ।

चुनावी समीक्षा गर्ने हो भने विजयी भएकाहरु जनताका रोजाई हुन र हार्ने हरू तिरष्कृत । यहाँ हारको दोष आफ्नै दललाई या जनतालाई दिनुको कुनै अर्थ छैन । जनताले त हाम्रा होइन , राम्रालाई रोजेका हुन । ती राम्रा भित्र हार्नेहरु परेनन । अब राम्रो बन्ने कोसिस गर्नुस ।
आफू सँगैका हरुले जित्दै गर्दा आफूले हारलाई स्वीकार गर्न गार्‍है पर्दछ । तर आफू भित्रको कमजोरीलाई जनताको मतले देखाईसकेपछी त्यसलाई सुधार गर्न तिर लाग्नु पर्दछ । राजनैतिक अस्तित्व बचाईराख्न जनता बिच हातेमालो गरेर सामाजिक काममा उत्तरदायी बन्नु जरुरी छ । जसले गर्दा भोलि हुने निर्वाचनमा आफूलाई जनताले अन्धभक्त भएर चुन्नेछन । जनताले नेताको धन(सम्पतीमा , अनुहारमा हेरेर भोट दिदैनन , उसको विगत अनि वर्तमान र राजनैतिक एजेण्डालाई हेर्छन ।

राजनैतिक एजेण्डा कुनै पनि राजनीतिक दलको कमजोर हुँदैन स्थानीय तहमा जनताले आफ्नो गाउँको लागि एउटा सक्षम र जुझारु नेतृत्व खोजेका हुन्छन् । त्यो अनुरूप आफू नभएको जस्तो लाग्छ भने मासु भात खुवाउदैमा , नगद बाडेर भोट माग्दैमा जनताले नेता बनाउदैनन । किन भने चुनाव गोप्य मतदान बाट सम्पन्न हुन्छ , खाने एउटाको भए पनि रोज्ने अरू सक्षमलाई गर्छन् । अब उमेद्वारले के बुझ्न जरुरी छ भने जनता भेडाँ छैनन् , बुझ्ने भैसके ।

को गाउँ समाजको लागि लडने नेता हो या को चैँ पदको लागि मात्र अगाडि सरेको हो भन्ने कुरा यति बेला जनताले बुझिसकेका छन् । हार्नेहरु भित्र एक किसिमको निराशा होला जसले गर्दा मेरो लेख प्रति असहमति हुनु स्वभाबिक हो । जित्ने भन्दा म कुन रूपमा कमजोर भए भनेर उल्टै प्रश्न गर्न तयार हुने पराजित उमेद्वारहरु पनि छन् तर मेरो सोच यति मात्र हो कि ती हार्ने तमाम उमेद्वारहरु भित्र अझै धेरै कमजोरी छ , त्यो सच्च्याउदै अगाडि बढियो भने अर्को पटक अवश्य जितिन्छ ।

हारलाई निराशामा होइन , अर्को पटक जित्ने जोसमा बदल्न सिक्नु पर्छ । पटक पटक हार्नको लागि समाज , दल अनि जनतालाई दोष दिए पुग्छ तर अर्को पटक जित्नको लागि आफू भित्रको कमजोरी पत्ता लगाए पुग्छ । त्यसैले पराजितहरुले एक रात आत्मसमिक्षा गरौँ । जित्ने हरू सँग आफ्नो तुलना गरौँ । कहाँ छ कमजोरी पत्ता लगाऊ । अनि सुरु गरौँ नयाँ अनि फरक ढङ्गको राजनैतिक यात्रा ।

आफू र परिवार केन्द्रित होइन , जनता केन्द्रित राजनीति गरियो भने हार एकै पटक हो , जित बारम्बार हुनेछ । दलिय सिढी चढेर सफलता मिल्नेहरु कम छन् । जसको उदाहरण यति बेला दाङमा देखिइसक्यो । काँग्रेसले जस्लाई उठाएपनी जित्छ भन्ने मानसिकता कै कारण आज एमालेले काँग्रेसको गढमा लाल झन्डा फहराउन सफल भएको छ । यस्लाई दोषारोपण नगरौ बरु सक्षम बनौ  ।