एउटा यस्तो आर्टीकल ! जसले चिस्यायो सम्बन्ध । « Himal Post | Online News Revolution
Logo

एउटा यस्तो आर्टीकल ! जसले चिस्यायो सम्बन्ध ।



दीपक घिमिरे

अस्ति एउटा आर्टिकल लेखे , आफ्नै मनमा लागेको कुरा । लोकतन्त्रले हरेक व्यक्तिलाई व्यक्तिगत अभिव्यक्त स्वतन्त्रता दिएको छ जसले गर्दा मैले मेरो मनको कुरा बोल्न , लेख्न पाउछु । तर यत्ति हो ! मैले बोलेको कुरा अथवा मैले लेखेको लेखले कसैको व्यक्तिगत जिबनीलाई ठाडो हस्तक्षेप नहोस । यसैलाई मध्यनजर राखेर एउटा आर्टिकल लेखे । आफ्नै मनका कुरा सरसर्ती उतारे ।

थाहा थियो कि त्यो आर्टिकल प्रकाशित भयो भने मेरा लागी अलिकति असहज परिस्थिति उत्पन्न हुन्छ भन्ने । तर पनि लोकतन्त्रमा मलाई नबोल , नलेख भन्ने अधिकार अरू कसैलाई छैन । अग्रजले यस्तो भएन भन्न सक्छन् , हल्का सुझाव दिन सक्छन् तर धम्क्याउन , यस्तो नलेख , यस्तो नबोल भन्न कसैले सक्दैनन । यही सोच मनमा पालेर आर्टिकल सक्याए अनि मैले नियमित लेख्दै आएको युगबोध राष्ट्रिय दैनिकमा मेल गरे तर चार दिन पछि खबर पाए , लेख प्रकाशित हुँदैन भनेर ।

यो लेख युगबोधमा प्रकाशित हुँदैन भन्ने पनि थाहा थियो मलाई , किन भने लेख अलिकति पेचिलो र हेपाह प्रवृत्तिको थियो । वास्तविकतालाई औल्यायर लेखिएको भएतापनी कसैप्रती कटाक्ष गरियको लेख नछाप्नु पत्रिकाको आफ्नै आचांरसहिंता भित्र पर्छ होला । मैले मन दुखाईन । अनि मैले नियमित जसो लेख्ने एउटा अनलाइन सँग सल्लाह गरे । अनलाइन सञ्चालकले लेख पठाउन सुझाव दिनु भयो । मैले अरू अग्रजहरुलाई पनि त्यो लेख पठाए ।

सबैको सुझाव थियो “ तलाई आमा छोयर गाली गर्चन । सकेसम्म लेख नछापौ । ” तर मैले सोचे , मनको कुरा गर्दा आमा छोयर गाली गर्चन भने गर्न दिउ । जस्तो संस्कार जसले पाएको हुन्छ उसले त्यस्तै संस्कार देखाउने हो । मैले कसैको कुरा सुनिन , अनलाइनलाई आर्टिकल अपडेटको आदेश दिए ।

अनलाइनमा आर्टिकल अपडेट भएसि मैले थाहा पाईहाले अब गालीको वर्षा सुरु हुन्छ । एउटा कुरा मैले पहिले नै भनेको थिए अर्टिकलमै , लेख पढने साथीहरूले मलाई गाली गर्न सुरु गर्नुहोस् भनेर । नभन्दै सुरु भयो गाली । अनलाइनको पेजमा , लिकंमा अनि मेरो च्याट बक्समा ।

मैले एउटा स्टाटस पोस्ट गरे , ‘ पेटभरी गाली खान तयार भएर एउटा आर्टिकल पोस्ट गर्दैछु । ’ यसले मलाई अलिकति ऊर्जा थपिदियो । एउटा साथीले जहिल्यै भन्थ्यो “ कि अगाडि जा , कि पछाडि बस तर सँग सँगै हिडिस भने महत्त्व हुँदैन । ”

उसको कुरा सही हो ! अगाडि गए भने डाँहा गर्नेहरुले कुरा काटछन , माया गर्नेहरुले बधाई दिन्छन । जसले गर्दा हिट भएको महसुस हुन्छ । पछाडि रहियो भने सबैले कठै भन्छन् , सबैको प्यारो भैन्छ त्यो पनि हिट नै भएको हो । म जे कुरामा पनि अलिकति अलग देखिन चाहन्छु । त्यो सबैलाई थाहा छ । अलग देखिने जोसले म भित्र गालीको डर भएन ।

अनि आर्टिकल मेरो वालमा शेयर गरे । दस जना निस्किय गाली गर्ने तर पाँच घण्टामै दुई हजार भन्दा माथि शेयर भयो । शेयर गर्नेहरु सबैले बधाई दिए तर दुईचार जना कमेन्ट गर्नेहरुले निक्कै निच शब्द प्रयोग गरेर गाली गरे । बा आमा छोयर गाली गरे । मैले पहिल्यै भनेको थिए , जसले जस्तो संस्कार सिकेको हुन्छ उसले उस्तै हैसियतमा गाली गर्ने हो । मैले कसैको वास्ता गरेन , बरु निक्कै गाली गर्नेहरुको कमेन्टमा रिप्लाई गर्दिए ‘ आहा कति मीठो भाषा ! ’

आर्टिकल पोस्ट भए पछाडि कतिले गाली गरे , कतिले प्रशंसा गरे , त्यो गनेर बसिन र बस्न पनि हुँदैन किन भने गालीले मन दुख्छ अनि प्रशंसाले बेकारको हिम्मल आउँछ । तर बेलुकी पख फेसबुकमा आएको एउटा स्टाटसले निक्कै दुखी बनायो । सोचे ! मैले लेखेका लेखकै कारण मैले मेरा शुभ–चिन्तक गुमाउने त हैन ? म एक्लो हुने त हैन ?

मैले चाकडी गर्न कहिले सिकेन । मेरा बालाई चिन्नेहरुले मलाई चिन्छन । उहाँ हरुलाई थाहा हुन सक्छ , बा कै सिको मैले गरे । आर्थिक लाभ देखायर राजनैतिक स्वार्थ लुटन मेरा घरमा आउनेहरुलाई बा ले चिया ख्वायर बिदा गर्नुहुन्थ्यो । तर आफ्नो हैसियत कहिले भुल्नु भएन । ठ्याक्कै त्यस्तै छु म पनि । हो ! हल्का झुकाब माओवादी तिर ढल्किन्छ तर खेदो खन्न मैले कसैको छाडदैन । तीन पटक माओवादी नेता प्रचण्डको खेदो खनेपछी यो पटक ओलीको खनेको थिए , त्यही सहन नसकेर अनगिन्ती एमाले शुभ–चिन्तकले मलाई गाली गरे त्यही भिडमा मिसिन आउनुभयो एक जना आदरणीय दाइ । जसको स्टाटसले मलाई भित्रबाट गलाएको थियो , आत्मग्लानी भएको थियो ।

बेलुका ती आदरणीय दाइको स्टाटस पढेपछी गल्ती भयो कि भनेर दुईचार जना अग्रजलाई फेरि फोन गरे । अनलाइनबाट आर्टिकल हटाउने कि भनेर अनलाइन सम्पादक सँग कुरा गरे । सबैले मनको कुरा राखेको होस भनेर हौसला दिए , हटाउन नपर्ने सुझाव दिए । यसबिचमा ती दाइको स्टाटस मैले सय पटक पढे , मिठो कमेन्ट पनि गरे तर मन आफै डराईरह्यो , जाबो एउटा आर्टिकलले म दुई कदम पछाडि फर्कने त हैन भनेर ।

मैले गलत गरे भन्ने मनमा जाग्यो तर लोकतन्त्रमा लेख्न बोल्न पाउने अधिकार भएको भुलेन ।
हिजो प्रचण्डलाई गाली गरेर लेख्दा सबैले ‘ वा वा भाइ दम छ लेखमा ! ’ भने तर आज ओलीलाई गाली गरेर लेख्दा तल्लोस्तरको गाली खाइयो । थाहा छ , गालीले मरिन्न , तर आफ्ना अनि आफन्त गुमाईने डर भयो । मैले निक्कै सम्मान गर्ने अनि मलाई धेरै माया गर्ने दाइले ‘बगरे’ को उपमा दिएर स्टाटस पोस्ट गरेपछि सोच्ने बेला भएछ झैँ लाग्यो । तर चाप्लुसी गरेर मन नपर्ने नेताको बारेमा प्रशंसा गरेर लेख्नै सक्दिन अनि सोचेर पनि के गर्नु ? म यस्तै छु , फेरीनै सक्दैन ।

म राम्रो कामको खुलेर समर्थन गर्ने मान्छे हु , गलतको विरोध गर्छु । अस्तिको आर्टिकलमा पनि मैले धेरै ठाउँमा सकारात्मक कुरा लेखेको थिए । मात्र ओलीजिले सकारात्मक कामको पनि नकारात्मक टिप्पणी गर्ने बानी गलत हो भन्ने मेरो ठहर थियो र आर्टीकलको निचोडपनि यही थियो तर त्यति सानो कुरामा हामी बिचको मीठो सम्बन्ध , इज्जतिलो नाता कसरी भुल्न सक्नु भयो दाइले ?

म जे देख्छु , त्यो लेख्छु । तर कसैलाई समर्थन गर्दा अर्कोलाई पीडा हुनु स्वभाबिक हो । पीडा भयो भन्दैमा मैले आफ्ना मान्छेबाटै ‘बगरे’को उपमा पाउँदा चैँ नमिठो लाग्ने । सोच्दैछु ! म भित्र सुधारको आवश्यकता छ या मलार्ई बुझ्न नसक्नु मेरा आदरणीयको कमजोरी हो ? सुझावको आशामा छु ।