'शारीरिक सम्पर्कका लागि सहयोग गर्नुहोस् !' - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

‘शारीरिक सम्पर्कका लागि सहयोग गर्नुहोस् !’



-दिपक घिमिरे

शीर्षक पढेर नआत्तिहाल्नोस, मैले अमेरिकाको सडकमा भिख माग्दै गरेका एकजना युवकले बोकेको प्लेकार्डमा लेखेको नाराको कुरालाई लेखको शीर्षक दिएको मात्र हुँ।

अधिकारका हिसाबले विश्वकै उत्कृष्ट देशमा गनिने अमेरिकामा संस्कार र सभ्यता नहुँदा युवाहरूमा कस्तो असर परेको छ भन्ने कुरा खोतल्ने कोसिस गरेको मात्र हुँ। अमेरिकामा अधिकारले बिगारेको समाज अनि नेपालमा संस्कारले बसालेको समाजलाई तुलना गर्न खोजेको मात्र हुँ।

केही वर्षअघि नेपालमै हुँदा एउटा स्कुलको कार्यक्रममा थिएँ। कार्यक्रममा सहभागी एकजना अतिथिले आफ्नो बिचार राखिरहेका बेला म निकै सोचमग्न भएको थिएँ। उनी भन्दै थिए, ‘आफ्ना बालबालिकालाई कहिल्यै थप्पड नहानौँ, दण्डित नगरौँ, कसैसँग तुलना नगरौँ, अनि यसो नगर र उसो नगर नभनौँ।’

यस्ता क्रियाकलापले बाल मनोविज्ञानमा असर गर्छ भन्दै उनले निक्कै लामो तर्कहरू प्रस्तुत गरे।उदाहरणका रूपमा पश्चिमा विकसित देशहरूसँग तुलना गर्दै आफ्नो वक्तव्य सके। त्यो बेला उनको भाषणले म प्रभावित पनि भएको थिएँ। घर आएपछि छोरालाई अझ धेरै माया पनि दिएँ।उसका साना गल्तीहरूलाई पनि हाँसेरै टारिदिएँ श्रीमती छोरासँग रिसाउँदा उसलाई पनि सम्झाएँ।गाउँ छिमेकमा ती वक्ताले राखेका घतलाग्दा कुराको बयान गरेँ। सकेसम्म उनका कुरालाई समाजमा बाँड्ने काम गरेँ।

त्यसको केही समयपछि म अमेरिका आएँ।यहाँ बस्न थालेपछि विकसित देशलाई र यहाँको समाजलाई हरेक कोणबाट बुझ्न थालेँ।जहाँ म हुर्किएको थिएँ नेपालको मेरो समाज र अहिले जहान छु त्यो समाजलाई दाँज्न थालेँ।

यहाँ हरेक कुरामा मानवअधिकारको कुरा अगाडी आउँछ, न्यायालयको कुरा आउँछ।एउटा ट्राफिक प्रहरीले ट्राफिक नियम मिच्नेलाई कारबाही गर्दा अधिकारको कुरा प्रस्ट पार्छ अनि दण्डित गर्ने काम न्यायालयले गर्छ।

सानो गल्ती या कमजोरीमा पनि अधिकार र न्यायालयलाई तान्नु एकातिर राम्रो पक्ष थियो।यो देख्दा सोच्थेँ ‘आहा!हाम्रो देश पनि यस्तै भैदिए हुन्थ्यो।’

तर सभ्यता र संस्कारलाई पनि अधिकारले रोक्ने हुँदा अचम्म पर्न थालेँ।हिजो नेपालमा हुँदा ठिक लागेका ती शिक्षाविद्का तर्क आजभोलि घिन लाग्न थालेका छन्।आफू हुर्केको समाज अनि अधिकारले सम्पन्न ठाउँमा हुर्केका बच्चाहरूको समाज देखेर आजकल म अचम्म पर्न थालेको छु।

हाम्रो नेपाली समाजले आफ्ना सन्तानलाई कुटेरै भए पनि संस्कार र सभ्यतामा हिँड्न सिकाउने गर्दथ्यो, जसले गर्दा हामी हाम्रो संस्कार र सभ्यतामा भुलेनौँ र सिक्यौँ।गल्ती गर्दा बाउआमा या आफूभन्दा ठुलाको हातबाट चुटाई खाइने डरले भए पनि हामी भित्र नैतिकता पैदा गरिदियो । र हामी आफूभन्दा ठुलासँग डराउन थाल्यौ ।

स्कुलमा चक र डस्टरसँगै छडी बोकेर आउने गुरुहरूलाई देखेर अनुशासित हुन सिक्यौँ । गृहकार्य होस या कक्षा भित्रको अनुशासनमा होस, हामी गुरुको डरले भए पनि अनुशासित बन्दै गयौँ । तर अधिकारवादीहरूको तर्कले अब न स्कुलमा गुरुले छडी बोकेर डर देखाउन पाउँछन् न त बाउआमाले आफ्नै सन्तानलाई लगाम लगाउन सकेका छन् ।

अधिकारका कुराले संस्कार र सभ्यतामा यसरी असर गर्दो रहेछ कि मान्छे जनावर जस्तै हुँदैछ।

हाम्रो घरमा एउटा पोथी माउ थियो।जब उसले बच्चा कोरल्थ्यो, हामी उ देखि निक्कै टाढा बस्नु पर्थ्यो।आफ्नो सन्तानको रेखदेखका निम्ति उ हामीलाई झम्टन्थ्यो तर जब बच्चा ठुला हुन्थे, तब उ आफ्नै सन्तानलाई झम्टन्थ्यो। आफू भोकै बसेर ती बच्चालाई खुवाउने माउले पछि एउटा मकैको दानाको निम्ति आफ्नै सन्तानलाई लखेटी लखेटी ठुङ्थ्यो।

पश्चिमा समाज ठ्याक्कै त्यस्तै छ।बच्चा जन्मेपछि उसलाई गजबको लालन पालन दिन्छन्।गल्ती गर्दा समेत पिट्नु हुँदैन भन्छन् अनि जब बच्चा अठार वर्ष पूरा हुन्छ तब आफूसँग राख्नु हुँदैन भन्ने मान्यता राख्दछन्।र घर परिवारबाट स्वतन्त्र छोडीदिन्छन।

यहाँको समाज ठ्याक्कै जनावरको समाज जस्तै।सानोमा बच्चाले गल्ती गर्दा समेत जनावरले आफ्नो बच्चालाई दण्डित गर्दैन।अनि ठुलो भएपछि आफू सँगै हिडाउदैन।उसलाई आफ्नै समूहमा रमाउन छाडिदिन्छ।

हामी अहिले यही समाजबाट सिक्ने प्रयास गर्दै छौँ।सायद गल्ती गर्दै छौँ।हाम्रो नेपाली सभ्यतामा अधिकारका कुरा कम आउँथे, संस्कारका कुरा बढी आउँथे।र तिनै संस्कारले हामीलाई अनुशासित बनाउँथ्यो अनि कर्तव्यमुखी पनि।

अधिकारले मानिसका कर्तव्यलाई कसरी पाखा लगाइदिन्छ भन्ने कुरा पनि यहीँ आएर सिकायो।मैले काम गर्ने ठाउँमा एक जना असी वर्ष पार गरेको बुढो मान्छे नियमित ग्राहक छन्।उनी एक्लै छन्।एउटा अपार्टमेन्टमा बस्छन्, जवानीमा काम गरेको पेन्सन आउँछन्।घरमा एउटा कुकुर छ, कहिलेकाहीँ उनी कुकुरलाई लिएर पनि म कहाँ आई पुग्छन् ।

उनलाई उनका आफन्तको बारेमा सोधेको थिएँ । उनले भने “मेरो पूर्व श्रीमती कोलोराडो बस्छे, मेरो गर्लफ्रेन्ड कहिलेकाहीँ आउँछे!मेरा दुई छोरा थिए, सायद क्यालिफोर्निया बस्छन् होला।भेट नभएको पनि बिस वर्ष हुन थाल्यो।”

म दुई कुरामा अचम्म परेँ।श्रीमती पूर्व हुनु नौलो थिएन।अहिले डिभोर्सको फेसन नेपालमा पनि व्याप्त छ । पहिलो अचम्म असी वर्ष पार गरेको बुढाको गर्लफ्रेन्ड भएको कुराले बनायो, अनि अर्को अचम्म चैँ आफ्नै सन्तानसँग बिस वर्षसम्म भेट नभएको कुराले बनायो ।

यो सबै अधिकारले बिगारेको त हो नि ! बुढेसकालमा एक्लै बस्नुपर्ने बाध्यता, सन्तानको ठाउँमा कुकुरको साथ अनि बेखबर आफ्नै सन्तान ।

यो सबै अधिकारले बिगारेको समाजको पराकाष्ठा हो जस्तो लाग्छ मलाई । होइन भने असी वर्षको उमेरमा नाति-नातीना खेलाउँदै घरमा रमाउने उमेर हो । गर्लफ्रेन्ड त यहाँ चिया जस्तै हो, मन लागे अर्डर गर्‍यो, मन नलागे क्यान्सिल गर्‍यो।

आफ्नो सन्तानलाई अधिकारको ठाउँमा संस्कार दिइन्थ्यो भने, श्रीमतीलाई अधिकारको ठाउँमा माया दिइन्थ्यो भने सायद ती असी बर्षे बुढा एक्लै हुन्थेनन् ।

यी त मैले यहाँ उल्लेख गरेका एक पात्र मात्र हुन, एउटा उदाहरण मात्र हुन्, अमेरिकामा एक्लै बस्ने बाउआमा धेरै हुन्छन् । बुढा एक्लै बसेर गर्लफ्रेन्ड घुमाउँछ, बुढी एक्लै बसेर ब्वाईफ्रेण्ड बोलाउँछे अनि सन्तान चैँ ह्याङआउट गर्ने भन्दै एक्लै बस्न थाल्दछन् । अनि कुन आफ्नो सन्तान, कुन मेरो अभिभावक भन्ने कुरा बिर्सँदै जान्छन् ।

अहिले हाम्रो नेपालमा यही अधिकारका कुरा उठाएर संस्कार र सभ्यता मास्ने कार्य हुँदै छ जस्तो लाग्छ । बाउआमाले हामीलाई जति धेरै कुट्नु भयो, हामी उहाँहरूको त्यति नै नजिक भयौँ । आफ्नोभन्दा धेरै उहाँहरूको माया लाग्न थाल्यो । तर बाल अधिकारका कुरा गरेर सन्तान नकुटनेहरु आफ्नै सन्तानबाट टाढा भए । त्यही गुरुको हातमा छडी देखेर डराउँदै पढेकाहरू छात्रवृत्तिमा डाक्टर भए तर बाल मनोविज्ञानमा असर गर्छ भन्दै चक-डस्टर र छडीको ठाउँमा मार्करले बोर्डमा लेख्दै सिकेकाहरू ड्रगिष्ट भएर अमेरिकाका प्रत्येक चोकमा भिख माग्दै बसेका भेटिन्छन् ।

विभेद निम्त्याउने खालका कुरामा अधिकारको कुरा उठाउनु ठिकै हो । जस्तो जात-भात, दाइजोका कारण महिला हिंसा । यी व्यवहारहरूमा अधिकारका कुरा उठ्नु राम्रो तर आफ्नै सन्तानलाई पालनपोषणमा अधिकारका कुरा, घरभित्रको सभ्यताको कुरामा अधिकारको कुरा निकालिनु चैँ समाज बिथोलिनु मात्र हो ।

सभ्य भनिएको समाजको एउटा चोकमा हातमा प्लेकार्ड बोकेर भिख माग्दै गरेको युवक भेट्न सकिन्छ । उसले बोकेको प्लेकार्डमा लेखिएको हुन्छ ‘बियर र चुरोटका लागि डलर सहयोग गर्नुहोस् ।’

स्कुलमा गुरुहरूको र घरमा बाउआमाको डर नहुनेले वैज्ञानिक शिक्षा त लिन सक्ला तर संस्कार र सभ्यतामा हिँड्न सकेन भने त्यसले आफ्नो शिक्षालाई समाज परिवर्तनको लागी उपयोग गर्न सक्दैन । त्यस्ता शिक्षित व्यक्तित्व अमेरिकाका चोक-चोकमा भेट्न सकिन्छ ।

कसैको डर नभएपछि ड्रग्सको कुलतमा फसेका अमेरिकी युवाहरू ट्राफिक सिग्नलको तल बसेर भिख माग्दै भेटिन्छन् । झुट बोल्नु हुँदैन भन्ने सिकाइले गर्दा होला, उनले बोकेको प्ले कार्डमा लेखिएको हुन्छ ‘शारीरिक सम्पर्कका लागी डलर सहयोग गर्नुहोस् ।’

अनि कसैले लेखेका हुन्छन् ‘ड्रग्सका लागी सहयोग गर्नुस् ।’

आखिर यस्ता खालका माग्नेहरू उब्जने भनेकै छाडातन्त्रले होइन र ? बाआमा अनि गुरु नटेर्नेहरू भोलि हाम्रै देशमा ‘दारु खान दस रुप्पे दिनुस्’ लेखेको प्लेकार्ड बोकेर चोकमा नबस्लान् भन्न सकिँदैन ।

त्यसैले अधिकार प्राप्तिको नाममा विकृतिलाई पनि देशमा आउन नदिने कि ?