जनस्वास्थ्यको दृष्टिमा कोरोना, लकडाउन र लकडाउन पछिको तयारी « Himal Post | Online News Revolution
Logo

जनस्वास्थ्यको दृष्टिमा कोरोना, लकडाउन र लकडाउन पछिको तयारी



डिकेन्द्र ढकाल (समाजशास्त्री)/प्रा. डा. माधव भट्ट (जनस्वास्थ्य विज्ञ)

अहिले नोभेल कोरोना भाइरसबाट लाग्ने कोभिड १९ रोगको त्रासले गर्दा जनसमुदाय संकट र त्रासमा देखिन्छ । पछिल्ला दिनमा विशेष गरेर तराईका जिल्लामा संक्रमित व्यक्तिहरुको संख्या दिनानूदिन बढ्दो छ । भारतमा पनि प्रत्येक दिन बढेको बढ्यै छ । भारतसँग खुल्ला सिमा र बढी आउजाउका कारणले नेपालमा समुन्द्रपारबाट आएका व्यक्तिको तुलनामा भारतबाट आएकाहरुमा नै बढी संक्रमण रहेको अन्दाज गर्न सकिन्छ । तर यसमा कसैलाई आरोपित गर्नु, लाञ्छना लगाउनु बिल्कुलै गलत काम हुनेछ । बरु के अन्दाज गर्न आवश्यक छ भने संक्रमण हाम्रो जनसंख्याको ठूलै हिस्सामा घुसिसकेको हुनसक्छ ।

विश्वको परिवेश हेरेर हामीले धेरै अगि नै सावधानी अपनायौँ र राम्रो काम ग-यौँ । नेपालको जस्तो पूर्वप्रारम्भिक अवस्थामा पश्चिमी मुलुकहरुले सावधानी अपनाउन आवश्यक ठानेनन् र त्यसको परिणाम अहिले महँगो सावित भएको छ । तर नेपालमा धेरैलाई अब भाइरस नियन्त्रण हुने बेला भयो कि भन्ने लाग्न सक्छ । तर पछिल्ला संक्रमणको तथ्यांक हेर्दा के अन्दाज गर्न सकिन्छ भने यो सुरुआती चरण हो र अझै केही महिना उकालो लाग्न सक्छ र त्यसपछि बिस्तारै ओरालो लाग्नेछ । त्यसैले व्यवस्थापकीय दृष्टिकोणबाट हेर्दा हामीले अझै संकटका दिन आउन सक्छन् भन्ने सम्झेर सबैभन्दा खराब अवस्था (worst scenario) को अन्दाज गर्नै पर्छ ।

हामीले हाम्रो मुलुकको भौगोलिक क्षेत्रफल, भूबनौट, जनसंख्या, जनघनत्व आदिलाई ध्यानमा राखेर संक्रमणका आयामबारे अनुमान गर्नुपर्दछ । समाचारमा आए अनुसार महामारीलाई व्यवस्थापन गर्न तयारी गरेका हाम्रा सरकारी विद्हरुले अन्य प्रशासनिक र राजनीतिक प्रयोजनका लागि विभाजन गरिएका प्रशासनिक साना इकाई जिल्लालाई नै आधार बनाएर संक्रमण व्यवस्थापन गर्ने रणनीति बनाउन लागेको देखिएको छ । यो त्रुटिपूर्ण छ । यसले अहिलेसम्म अन्य कारणबस संक्रमण पुष्टि नभएको जिल्लामा बस्ने जनतालाई आफ्नो जिल्ला सुरक्षित भएको भ्रम पार्दछ । औसतमा २०० किलोमिटर भन्दा कमको फैलावट भएको हाम्रो मुलुकको दक्षिणी सीमाका जिल्लाबाट उत्तरी सिमाका जिल्लासम्म सजिलै हिंडेरै पुग्न सकिन्छ । अहिले पहाडका कुना कुनासम्म सडक पुगेका छन् । वास्तवमा अहिले संक्रमण भएका जिल्ला र भारतबाट हुने जनसाङ्खिकीय आउजाउ (demographic mobility) कताबाट कता छ यसको आधारमा जोखिमयुक्त भेग वर्गीकरण गरिनुपर्छ । उदाहरणको लागि कर्णालीका पहाडी ७ जिल्ला मौसमी रोजगारीका लागि भारतसँगको आउजाउको कारणले झनै जोखिमयुक्त जिल्ला भैसकेका छन् । तर यिनै जिल्लालाई हालै गरेको वर्गीकरणमा सरकारबाट सबैभन्दा सुरक्षित कोटीमा राखिएको छ । यस्तै हेलचेक्राइ गरिएमा नेपालमा संक्रमण भुसको आगो भएर भित्रभित्रै फैलिई नियन्त्रणभन्दा बाहिर जाने खतरा छ ।

नेपालको क्षेत्रफल भारतको भन्दा २२ गुणा सानो छ । अमेरिकाको भन्दा ६७ गुणा सानो छ । अर्थात् नेपालको पूरै क्षेत्रफल नै औसतमा अमेरिकाको एउटा राज्यभन्दा सानो छ । यसरी नेपाल मुलुक नै भूगोलको हिसाबले साह्रै सानो छ । यस्तो अवस्थामा नेपाललाई एउटै इकाई मान्दा फरक नपर्ने भएकोले नेपालका सबै जिल्लाहरु जोखिममा छन् । तर रोजगारीका लागि भारत जाने र त्यहाँबाट फर्कने कामदार भएका जिल्ला, तराईका जिल्ला, तराईसँग जोडिएका जिल्ला र देशभरिका ठूला सहरहरु सबैभन्दा बढ्ता जोखिममा छन् ।

त्यस्तै जनसाधारणको स्वास्थ्य साक्षरता, (अन्ध)विश्वास, हेलचेक्राइ, सुचनाको पहुँच, चालचलन आदिले पनि संक्रमणको फैलावटलाई निर्धारण गर्दछ । हालै फोन र मेसेन्जरको माध्यमबाट पंक्तिकारले गरेको द्रुत सर्वेक्षणको निष्कर्ष छ: राजधानीकै मानिसहरु संक्रमणबाट जोगिने भरपर्दो उपायबारे लगभग जानकार नै छैनन् । जानकारी भएकाहरु पनि व्यवहारमा सचेत छैनन् । बाक्लो बस्तिसहित १५ लाखभन्दा बढी स्थायी वासिन्दा भएको काठमाडौँ उपत्यकामा लगभग एउटै घरमा ५ देखि १० वटा परिवारसम्म बहालमा बस्ने गरेको अवस्था छ । यिनीहरुको जनसंख्या कति छ खासै रेकर्ड छैन । वास्तवमा सामाजिक दुरी व्यवस्थापनको हिसाबले अनभिज्ञता, लापरवाही, र चरम् हेलचेक्राई भएको पाइएको काठमाडौँ उपत्यका नै कोरोनाको सम्वन्धमा नेपालमा सबैभन्दा बढ्ता जोखिममा छ । संक्रमण समुदायमा पसिसकेको पाइएकोले काठमाडौँ सुरक्षित रही रहने कुनै ग्यारेन्टी छैन । स्वास्थ्य साक्षरता राम्रो भएका विश्वका अन्य मुलुकमा पनि ठूला सहरमा बस्नेहरु गाउँमाभन्दा धेरै बढी संक्रमित भएको पाइएका छन् । यदि काठमाडौँ उपत्यकामा संक्रमण फैलिन सुरु भयो र समयमै सचेतना र सावधानी अपनाइएन भने यहाँ संक्रमण अनियन्त्रित ढंगले फैलिन सक्छ र यसको असर मुलुकभरि नै पर्ने आंकलन गर्न सकिन्छ ।

यस पृष्ठभूमिमा बुझ्नु पर्ने अझ महत्वपूर्ण कुरा के हो भने नोभेल कोरोना भाइरसको समस्या २-४ महिनामा समाधान हुने कुरो होइन । यसको संक्रमणको समस्या १ – २ बर्षसम्म जानसक्छ र अझ बढी समयसम्म पनि रहिरहन सक्छ । त्यसैले यस रोगलाई नियन्त्रण गर्न जनसमुदायको नै ठूलो भूमिका हुन्छ । सरकारले सिमित स्वास्थ्य संरचना र सुविधाका माध्यमबाट केही चिकित्सकीय भूमिका निर्वाह गर्ला । सरकारले जति उपाय गरे पनि जनता सचेत नभएमा र सरकारका कार्यक्रमलाई साथ नदिएमा सबै मेहनत बेकार हुन्छ । किनभने सरुवा रोगको महामारी भनेको विशुद्ध चिकित्सकीयभन्दा बढी जनस्वास्थ्यको विषय हो । जनस्वास्थ्यका कुरामा जनता नै बढी सचेत र सहयोगी हुनुपर्दछ ।

समाजशास्त्रीय हिसाबले हाम्रो समाजको जनस्वास्थ्यबारे छोटकरीमा भन्नुपर्दा वहुसंख्यक जनता धेरै हदसम्म स्वास्थ्य निरक्षर छन् । समाजमा अन्धविश्वास व्याप्त छ । रोगबारे सही जानकारी छैन । जानेबुझेकाहरुमा पनि हेलचेक्राइ गर्ने बानी छ । सरुवा रोगको सवालमा एउटा व्यक्तिले पूरै समुदायलाई रोगी वा निरोगी बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने कुरामा उति व्यावहारिक सुझबुझ भएको पाइदैन । थाहा भएकै कुरामा पनि लापर्वाही व्याप्त छ । यस्तो हुनुको कारण वैज्ञानिक ज्ञानको कमी नै हो । प्रत्येक व्यक्तिले रोग कसरी सर्दछ भन्ने कुरा राम्ररी बुझेमा मात्र आफूलाई रोग लाग्न नदिन सावधानी अपनाउन सक्छ र रोग लागेको व्यक्तिले पनि नफैलाउनका लागि उपाय अपनाउन सक्दछ।

त्यसकारण अझै पनि जोड दिनु पर्ने सबैभन्दा महत्वपूर्ण कुरा नोभेल कोरोना भाइरस एक व्यक्तिबाट अर्कोमा कसरी सर्दछ भन्नेबारे सर्वसाधारणलाई राम्रो ज्ञान हुनै पर्दछ । कसरी सर्छ भन्ने थाहा भएपछि मात्र कसरी बच्न सकिन्छ भन्ने उपाय बुझ्न र बुझाउन सकिन्छ । यस्को अर्को पाटो पनि उत्तिकै महत्वपूर्ण छ । त्यो हो, हामी गलत र अवैज्ञानिक सुचनाबाट जोगिनु पर्दछ । गलत जानकारीले झनै डरलाग्दो परिणाम दिन सक्छ ।

नोभेल कोरोना भाइरस कसरी सर्छ र छिट्टै धेरै ठूलो जनसंख्यामा पुग्दछ ?

सरुवा रोग कसरी छोटो समयमा धेरै जनामा छिट्टै फैलिन सक्छ भनेर वैज्ञानिकहरुले विशेष विधिबाट मापन गर्दछन् । एउटा संक्रमित व्यक्तिले कतिजना सम्मलाई भाइरस सार्न सक्दछ भन्ने मापन गर्ने इकाइलाई R-0 (R-Naught) अर्थात् प्रजनन संख्या भनिन्छ । चैत महिनाको मध्यतिर विश्व स्वास्थ्य संगठनले नोभेल कोरोना भाइरसको R-0 ( प्रजनन संख्या) २ देखि २.५ को विचमा भएको अनुमान गरेको थियो । यसको अर्थ संक्रमित एकजना व्यक्तिले औसतमा २ देखि २.५ जनालाई कोरोना भाइरसको संक्रमण सार्न सक्छ भन्ने हो । मौसमी रुघाको R-0 मापन गर्दा १.३ भएको आंकलन गरिएको छ भने दादुराको १२-१८ भएको अनुमान गरिएको छ । अर्थात् एकजना दादुरा भएको व्यक्तिले १२ देखि १८ जना सम्मलाई दादुरा सार्न सक्दछ । तर यो एउटा औसत आँकडा मात्र हो । कुनै पनि सरुवा रोगको R-0 लाई थुप्रै कारक तत्वले प्रभाव पर्दछन् । नोभेल कोरोना भाइरसको R-0 सम्वन्धित ठाउँमा जनसंख्याको आकार, जनघनत्व र साथसाथै भाइरस आफैमा कति संक्रामक छ जस्ता कुराले निर्धारण गर्ने भएकाले ठाउँ अनुसार यसको R-0 फरक फरक हुन सक्दछ । बुझ्न आवश्यक अर्को कुरा के छ भने R-0 ले रोग कति संक्रामक छ र छिट्टै धेरैमा फैलन सक्छ भन्ने मापन गर्ने हो तर रोग कति खतरनाक छ भन्ने भने होइन ।

यसै प्रसंगमा एउटा अर्को कुरा पनि बुझ्न आवश्यक छ । R-0 (आधारभूत प्रजनन संख्या) मुख्य गरेर ३ कुरामा भर पर्दछ: १. संक्रमणताको अवधि । संक्रमणताको अवधि भनेको संक्रमण कति लामो समयसम्म रहिरहन्छ भन्ने हो । २. प्रति सम्पर्क संक्रमणको सम्भावना । प्रत्येक प्रकारको सम्पर्कको तौरतरिका फरक फरक हुने हुँदा प्रत्येक सम्पर्कमा संक्रमणको सम्भावना पनि फरक हुन्छ । गफ गरेर सँगसँगै हिंड्नु, हात मिलाउनु, सूर्ती मागेर खानु, अरुले प्रयोग गरेको कुर्चीमा बस्नु, एउतै टेबलमा बसेर कुरा गर्नु संक्रमणको हिसाबले फरक फरक सम्पर्कका माध्यम हुन् । यसै अनुसार संक्रमणको सम्भावना कम र बढी हुन्छ । ३. संक्रमित र अतिसंवेदनशील व्यक्ति बिच सम्पर्कको संख्या । संक्रमित व्यक्ति र अर्को व्यक्ति बिच हुने पटक पटकको सम्पर्क । जन स्वास्थ्यको विधिबाट रोग नियन्त्रण गर्न यिनै कुराहरुलाई ध्यानमा राखेर व्यक्तिगत वा सामुदायिक तवरमा नीति र योजना बनाई कार्यान्वयन गर्ने हो । विश्वमा भर्खरैका अनुभव र अध्ययनले के देखाएका छन् भने हामीले केही ठोस विधि अपनाउँदा R-0 (प्रजनन संख्या) लाई नियन्त्रण गर्न सफल भएका छौँ । अर्थात् R-0 लाई न्यून गर्न सकेका छौँ । प्रजनन संख्यालाई प्रभाव पार्ने ३ वटा कारक तत्व मध्ये पहिलो कारक ‘संक्रमणताको अवधि’ घटाउन अहिलेसम्म सम्भव भएको छैन किनभने यसको प्रभावकारी औषधी बनाउन अझै सकिएको छैन । ‘प्रति सम्पर्क संक्रमणको सम्भावना’ हामीले कुन खालको सम्पर्क गर्छौं त्यसमा भर पर्छ । त्यसै गरेर ‘संक्रमित र अति संवेदनशील व्यक्ति बिच प्रत्येक सम्पर्कमा संक्रमणको सम्भावना’लाई सजगता अपनाएर घटाउन सम्भव छ । अहिलेसम्म दोश्रो र त्यस्रो कारक तत्वलाई हामीले लक्डाउन जस्तो कडा विधि लागु गरेर निश्चय पनि घटाउन सकेका छौँ । लक्डाउन विधिलाई पश्चिमी मुलुकमा स्वास्थ्य सुविधा थप्नको लागि अपनाएका छन् भने नेपालमा लक्डाउनमा खासै त्यस्तो नयाँ तयारी भएको देखिंदैन ।

त्यसैले लक्डाउन लोकप्रिय र दीर्घकालीन उपाय नभएपनि नेपालमा भने खेतिपाती र आर्थिक गतिविधि गर्न सहज पार्न केही परिमार्जन सहित अझै बढाउन पर्ने देखिन्छ । तर फेरि भन्नै पर्छ, लक्डाउनलाई लामो समय जारी राख्न भने सम्भव छैन र राख्नु पनि हुँदैन । त्यसैले लक्डाउनको बेला देखिनै लक्डाउन हटाएपछि के गर्ने त्यसबारे तयारी गर्नु पर्छ । लक्डाउनकै बेला जनताले सोसल डिस्ट्यान्सिङ अर्थात् सामाजिक दुरी कायम गर्न सिक्न र सिकाउन आवश्यक छ । र लक्डाउन हटाइएपछि यसलाई अति संवेदनशिल र अनुशासित निरन्तरता दिन आवश्यक छ ।

सोसल डिस्ट्यान्सिङ अर्थात् सामाजिक दुरी भनेको के हो ?

सुरुमा एकपटक फेरि नोभेल कोरोना भाइरस कसरी सर्छ भन्नेबारे नै चर्चा गरूँ । यो भाइरस संक्रमित व्यक्तिसँगको संसर्ग अर्थात् प्रत्यक्ष सम्पर्कबाट मात्र अर्को मान्छेलाई सर्न सक्छ । त्यसैले यो भाइरसबाट बच्न संक्रमित व्यक्तिसँग संसर्ग हुनबाट जोगिनुपर्छ । यसरी हेर्दा जोगिन सजिलो छ: संक्रमित व्यक्तिबाट जोगिए पुग्छ । तर यतिबेला भाइरस संक्रमण समुदायमा फैलिसकेको हुनाले को संक्रमित छ र को संक्रमित छैन चिन्न सकिंदैन । त्यसैले घरबाहिर निस्कनासाथ जति पनि भेट हुने सबै व्यक्तिलाई सम्भाव्य संक्रमित ठानेर उनीहरुबाट जोगिनुको विकल्प छैन । संक्रमित व्यक्तिसँगको संसर्गबाट जोगिनु भनेको ऊसँग नछोइनु मात्र होइन । उसले छोएका तर सफा नगरिएका बस्तुलाई तत्कालै नछुनु, उसले भर्खरै फेरेको सासमा भाइरस हुने सम्भावना हुने भएकोले त्यस्तो हावाबाट टाढा रहनु पनि हो । त्यसैले निश्चित दुरीभन्दा नजिक उभिनु, बस्नु, सँगसँगै हिंड्नु सबै जोखिमपूर्ण काम हुन् । यिनै जोखिमबाट जोगिन सोसल डिस्ट्यान्सिङ अर्थात् सामाजिक दुरी कायम गर्नुपर्छ ।

सामाजिक दुरी कायम गर्दा कम्तिमा ३ ओटा पक्षलाई अवलम्बन गर्नुपर्छ: १. व्यक्ति व्यक्ति भेट हुँदा एकआपसको भौतिक दुरी टाढा राख्ने । जस्तै कुनै पनि अवस्थामा अर्को व्यक्तिबाट कम्तिमा २ मिटर टाढा रहने । २. अन्य व्यक्तिसँगको भेट दोहोरिने पटक सकेसम्म घटाउने । जस्तै हामी पसल गई राख्नु पर्छ । तर पसल जाने पटक घटाउन एकै पटक सम्भव भएसम्म धेरै दिनलाई पुग्ने गरि सामान किन्न सकिन्छ । प्रत्येक भेट उत्तिकै जोखिमयुक्त हुन्छन् । जति कम भेट ग-यो उति जोखिम न्यून हुने नै भयो । र ३. कुनै पनि भिडभाड हुने ठाउँ र आवश्यक दुरी राख्न नसकिने ठाउँमा जाँदै नजाने । जस्तै, साँघुरा गल्ली, अव्यवस्थित तरकारी पसल, बजार आदि ।

सामाजिक दुरी भनेको जनस्वास्थ्यमा सरुवा रोगबाट बच्न र बचाउन सयौँ बर्ष अगिदेखि अपनाइएको विधि हो । समाजशास्त्रीय हिसाबले भन्दाखेरि व्यक्ति समाजको सबैभन्दा सानो इकाई हो । व्यक्ति व्यक्ति विच आवश्यक भौतिक दुरी कायम गर्नु नै सामाजिक दुरी कायम गर्नु हो । मानिसको समुह नै समाज हो । मानिसका जमघट, भेला, भोज, पूजाआजा, स्कुल, कलेज आदि समाजका केही उदाहरण हुन् । व्यक्तिले त्यही समाजबाट टाढा रहनु पर्ने विधिलाई बुझाउन सामाजिक दुरी कायम गर्ने भनिएको हो । समुदायस्तरमा संक्रमण फैलिई सकेपछि जो पनि व्यक्तिमा संक्रमण भएको हुन सक्ने हुनाले मानिसका जमघट, भेला, भोज, पूजाआजा, स्कुल, कलेज आदिमा संलग्न नहुनु पनि सामाजिक दुरी कायम गर्नु हो । अब यसको पालना गर्न एकदमै आवश्यक छ ।

फेरि भनौँ, राज्य वा स्थानीय प्रशासनले सामाजिक दुरी कायम गराउन कठोर र वाध्यकारी विधि जस्तै लक्डाउन, क्वारेन्टिन, आइसोलेशन, आवतजावतमा रोक, सार्वजनिक स्थलमा भेला हुनमा प्रतिवन्ध लगाउने काम आदि अवलम्बन गर्न सक्छ । तर यी विधि लामो समयसम्म अपनाउन न सम्भव छन् न त जनस्तरमा व्यक्तिहरु अनुसाशित र सचेत नबनेको अवस्थामा प्रभावकारी नै हुन्छन् । त्यसैले सबै भन्दा उत्तम विधि सोसल डिस्ट्यान्सिङ अर्थात् सामाजिक दुरी कायम गर्ने नै हो । अब हामी सबै इमान्दार भएर सबै कुरा सामान्य नहुन्जेल सामाजिक दुरी कायम गर्न सिकौँ, सिकाऔँ र अभ्यास गरौँ । समाजलाई जोगाउन समाजबाट अहिलेलाई निश्चित दुरीमा बसौँ ।