तपाईँ बढी बोल्दै हुनुहुन्छ , खुट्टा भाँचिदिऊँ ?….… « Himal Post | Online News Revolution
Logo

तपाईँ बढी बोल्दै हुनुहुन्छ , खुट्टा भाँचिदिऊँ ?….…



हेमन्त गिरी

गएका दुई हप्ता दुई वाक्य सामाजिक सञ्जालमा निकै भाइरल बने -“तपाईँ बढ़ी बोल्दै हुनुहुन्छ” र “खुट्टा भाँचिदिउँ?” ।पहिलो वाक्य प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा जनताको आक्रोशपूर्ण प्रश्नमा दिएको जवाफ थियो भने दोस्रो हालैको स्थानीय निर्वाचनमा उच्च सफलता हासिल गरेको दल एमालेकी प्रभावशाली युवा नेत्रीले एक सर्वसाधारण सँग चुनावी विषयलाई लिएर टेलिफोन संवादमा बोलेको वाक्य थियो । ती दुई वाक्यको बारेमा जे जस्ता राम्रा नराम्रा पक्ष विपक्षका टिका टिप्पणीहरु सामाजिक सञ्जालमा भए, ती स्वभाविक थिए वा थिएनन भन्ने बहसको एक पाटो हुन सक्छ । तर ती टिप्पणीहरु भित्र कस्तो मनोविज्ञान लुकेको छ भन्ने महत्त्वपूर्ण पाटो हो । व्यक्तिको मनोविज्ञान समाजको संरचना अनुसार निर्माण र परिवर्तन हुँदै जान्छ र समाजको संरचनामा राजनीतिको मुख्य भूमिका रहन्छ । आउनोस,यी पाटाहरुलाई खोतल्ने प्रयास गरौँ ।

जब तपाईँलाई तपाईँको तलबले घर चलाउन पुग्दैन,तपाईँ या विकल्प खोज्नुहुन्छ या पासपोर्ट बनाउनु हुन्छ । तपाईँ बढ़ी कमाउने नाममा नैतिकतालाई बन्धक बनाउने अवस्था सम्म पनि पुग्न सक्नुहुन्छ वा सब ठीकठाक चलेको खण्डमा नैतिकवान भैकन पनि आवश्यक आम्दानी गर्न सक्नुहुन्छ,जुन सम्भावना हामी बस्ने समाजमा दिन प्रतिदिन कम हुँदै गएको छ । अर्को तर्फ,तपाईँ स्वाभिमानी हो भने विदेशमा श्रम गर्नको लागि तब सम्म पासपोर्ट बनाउनुहुन्न जब सम्म अन्तिम बाध्यात्मक अवस्था आउँदैन । अन्तिम अवस्था आएर पासपोर्ट बनाएकाहरु धेरै छन् । उनीहरू कम स्वभिमानी होइनन । तर स्वभिमानी हुँ भनेर देखाउने बाटो पासपोर्टले बन्द गरिदिन्छ । यो एउटा पाटो भयो ।

धेरै छन् जो न्यूनतम दैनिक आवश्यकता मात्र पूरा गर्न पनि नसकी एक किसिमको निराशाको जीवन देश भित्रै बाँचिरहेक़ा छन् । उनीहरूलाई आफ्ना साना भन्दा साना दैनिक आवश्यकताको लागि अरूलाई पुकार्नु पर्ने अवस्था छ । हात जोड्नु पर्ने आवश्यकता छ । उदाहरणको लागि नाकाबन्दीको बेला ग्यांसको लागि को कसले को को सँग हात जोड़नुभयो,सम्झिनोस । यो अर्को पाटो भयो ।

धनी धनी नै छन् । झन् पछि झन् धनी भइरहेक़ा छन् । ‘मनी एट्रयाक्ट्स मनी’ भन्छन् नि ,त्यसैले होला ! उनीहरूका कुरा यहाँ नगरम,यो आलेख सँग उनीहरूको दूर दूरको साइनो छैन ।

ती मध्यमवर्गीय, जो धनी पनि होइनन,ग़रीब पनि होइनन,उनीहरू मध्ये अधिकांशले आफ्नो दैनिक जोहोको लागि एउटा बलियो आधार समातेका छन् । त्यो हो राजनीतिक आड । राजनीतिक आड छ भने तपाईँलाई नेपालमा ग़रीब भए पनि फरक पर्दैन । राजनीतिक दलका पहूँचवाला मान्छे सँग चिनजान र बसउठ छ भने जुनसुकै अभाव,आपद,विपदमा पनि तपाईँ नेपालमा मर्नुहुन्न । यो मार्ग सबभन्दा सजिलो मार्गको रूपमा अवलम्बन गरिएको छ नेपालमा ।

एउटा उदाहरण हेरौं: काठमाडौँमै घर भएका,धनी मुनिका,ग़रीब माथिका,तर राजनीतिक आड नभएकाहरुले चिउरा र चाउचाउमा नाकाबन्दी धानेका थिए जबकि राजनीतिक आड भएका खोला किनारका सुकुम्बासी र गरिब भनिएकाहरुको घरमा दुईचार वटा स्टक सिलीन्डर थिए । हो, नेपालको यो मुख्य पाटो यो हो ।

हामी इमान,नैतिकताका कुरा लेखेर बोलर कैलै थाक्दैनौं । तर यी कुरा व्यवहारत: निभाउन धेरै गाह्रो छ देशमा । केन्द्र देखि टोल टोल सम्म यस्तो अवस्था सृजना गरिएको छ,तपाईँ चल्तीका तीन दल बाहेक अन्त कतै आस्था राख्नुहुन्छ भने तपाईँको केही चल्नेवाला छैन । अरू बेला अवस्था ठीकठाक देखिए पनि कैले काहिं प्रकृतिक वा अन्य विपत्ति आइपर्दा तपाईँको चुलोमा आगो बल्दैन जो यी तीन दलको समर्थक हुनुहुन्न । अहिलेको चुनावमा तीन दललाई आएको भोट बाट पनि त्यो कुरा स्पष्ट हुन्छ,जब कि आजसम्म देश पछाड़ी पर्नुमा यिनै तिन दलको मुख्य भूमिका छ भन्ने बच्चा बच्चालाई थाहा छ ।

हामी राजनीतिक चेतनाका कुरा गर्छौँ । धेरैथोरै राजनीतिक चेतना सबैमा छ । राम्रो नराम्रो को हो, के हो भन्ने पनि मोटामोटी सबैलाई थाहा छ । तर हामीलाई सवाल पेटको छ । त्यसो त पेटको सवाल देखाएर लोभको घड़ा भर्ने अझ बढ़ी होलान् ।
मान्छे दुई चरण बाट गुज्रिन्छ जीवनमा । एक भोक मेटाउने चरण । अर्को भोक मेटिए पछि शोख़ मेटाउने चरण । त्यसो त देशमा भोक मेटाउने चरणमै भएकाको सङ्ख्या अधिक छ । तर उनीहरूको अगाडी विभिन्न सोखका विज्ञापन प्रदर्शन गरेर भोकलाई दबाइएको छ,मानौं सब पुगेको छ,गफकै भरमा खान पुग्छ । चुच्चे रेल,मेट्रो सहर,सिंगापुर जस्तो देश,वृद्ध भत्ता आदि तिनै चिल्ला विज्ञापन हुन । यथार्थ कुरा गर्नु भनेको टाउको दुखाउनु हो,नदुखेको टाउको दुखाउन विज्ञापन वाला को चाहन्छ ?

जो पेटको लागि रातदिन सङ्घर्ष गर्छन्,उनीहरूलाई चुनाव एक दिन मात्र आउँछ,त्यो पनि दसैँ जस्तै बनेर । दुई चार दिन अघाउन्जेल खान दिएर,मातुन्जेल पिउन दिएर उनीहरूको पूस्तैनी समृद्धि र वर्गको उत्थानको भोकलाई दबाई चुनावी दसैँले सात पुस्तालाई ऋणमा फसाइरहेको उनीहरू पत्तो सम्म पाउँदैनन । जो यी पेटको लागि लड़नेहरुको मजबूरी बुझेर राजनीति गरिरहेक़ा छन्,उनीहरूलाई चुनावी जीतहारले खासै फरक पर्दैन । उनीहरूको लागि देशमा सधैँ विजयोत्सव छ । चुनाव अघि पछि जनतालाई अबिर जात्रा र रयाली अनि भोजभतेरमा भुलाउनु,सत्य बाट भ्रमित गराउनु उनीहरूको सनातन सत्ता कब्जाको ख़ास सूत्र हो ।

उनीहरूले देशमाथि क़ब्ज़ा गरेका छन्,ग़रीबीमाथि क़ब्ज़ा गरेका छन् । पहिलो,दोस्रो वा तेस्रो हुनुले उनीहरूलाई खासै फरक पार्दैन । उनीहरू जुन स्थानमा भए पनि मिलेर स्वार्थ सिद्ध गर्न सक्छन् । गरेका पनि छन् । बस् उनीहरूले बुझेको के हो भने तल्लो लेभलका समर्थकलाई आपसमा लड़ाइदिएपछि,भिड़ाइदिए पछि उनीहरुमाथि देश लुट्दै आएको आरोप विषयान्तर हुन्छ र आफ्नो सनातन सत्ता जोगिन्छ । अहिलेको चुनावमा केही बढ़ी भोट कुनै पाटीलाई गए पनि सफल यिनै तीन दल भएका छन्,यथार्थ यही हो ।

वैकल्पिक भनिएका साझा,विवेकशील,नयाँ शक्ति र राष्ट्रवादी भनिएका जनमोर्चा,नेमकिपा जस्ता दललाई नेपालीहरूले पत्याउँदैनन । पत्याउने आधार पनि छैन,चमक पनि छैन । किनकि उनीहरू इमानका कुरा गर्छन्,नैतिकताका कुरा गर्छन् । उनीहरू समृद्ध देशका कुरा गर्छन्,जुन नेपालीलाई चाहिएकै छैन । प्रत्येक नेपालीलाई आफ्नो अहङ्कार र स्वार्थ प्यारो छ । प्रत्येक नेपाली आफै भित्र एउटा सामन्त हो र आफै भित्र एउटा बादशाह हो,तानाशाह हो । जहाँ अधिक श्रम नगरी आर्थिक लाभ भइरहन्छ,त्यो समाजमा जन्मिने भनेकै प्रतिपरिवार एक सम्भ्रान्त हो,एक सामन्त हो,जो फलानोलाई भोट हाल,यस्तो लाभ हुन्छ भनेर आदेश दिन्छ,अनि अरू खुरुखुरु त्यही मान्छन । नेपाली समाजमा विवेकको मत,चेतनाको मतलाई जनमत भन्न पाउने दिन आउन वर्षौं लाग्ने निश्चित छ ।

जहाँ काम नगरे पानी खान पुग्छ,जहाँ आपसी चिनजान र राजनीतिक आडमा जस्तो सुकै गैर क़ानूनी बाटो बाट पनि आफ्नो काम सजिलै बन्छ,जहाँ सामाजिक र आर्थिक सुरक्षाको प्रत्याभूति केवल कुनै ठुलो दलको छहारी मुनि मिल्छ,त्यो समाजका मान्छेहरू विकल्प चाहँदैनन । जसले अभावमा पनि पुगिसरी देख्छ,उसलाई किन केही आवश्यक परोस अनि किन केही आविष्कार होस ? किन दासताको जंजीर तोडियोस ?

अब प्रधानमन्त्रीले बोलेको वाक्य र एमाले युवा नेत्रीले बोलेको वाक्यमा आउँ । ती दुवै वाक्य जनतालाई हेपेर बोलिएका वाक्य हुन । उनीहरूले हेप्छु भनेर हेपेका होइनन, हेप्ने ठाउँ हामीले दिएको भएर हेपेका हुन । ती वाक्य क़सले कसलाई बोल्यो भनेर नहेरौं । हामीले समाज र देशको ज़िम्मा लगाएकाहरुले हामी सबैलाई जे भने पानी फरक पर्दैन भन्ने मानसिकतामा भनेका वाक्य हुन ती । तर हामी कित्ताकाट भएर टिका टिप्पणी र आलोचनामा पक्ष विपक्ष भई गाली गलौज सम्ममा उत्रियौं । हो, यहिंनेर हाम्रो नाड़ी छामेका छन् राजनीति गर्नेहरुले । उनीहरूले जे गरे पनि बचाऊ गर्न हामी सेनापति बनेर उभिन्छौं ।

हामीलाई राम्रो सँग थाहा छ, दुवै वाक्य गलत हुन,जनता प्रति राजनीतिज्ञले हेपेर प्रयोग गरेका वाक्य हुन तर हामी आ-आफ्नो स्वार्थको झुण्डमा यसरी फसेका छौँ कि आज उनीहरूको बचाऊ नगरे एक थरीलाई भोलि भोक मेटाउन नपाइएला भन्ने डर छ,अर्को थरीलाई शोख़ मेटाउन नपाइएला भन्ने डर छ । चुनाव अघि पछिका तामझाम,उत्सव र चाकड़िहरु पनि यिनै सनातन दासताका दस्ताबेज हुन । जनता हैन,दास हुनुमा हामीहरू उत्सव मनाइरहेका छौँ ।

कुनै व्यक्तिलाई भनेका होइनन,तमाम लहडी,स्वार्थी,अहंकारीहरुको झुण्डको दास मनोविज्ञानलाई राम्ररी बुझेको आधारमा प्रम र युवा नेत्री जस्ता गणतन्त्रका महाराज महारानीले सजिलै भन्न सकेका हुन,”तपाईँ बढ़ी बोल्दै हुनुहुन्छ,खुट्टा भाँचिदिउँ ?”