असम्भव प्रेम - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

असम्भव प्रेम



–दीपक घिमिरे

उसलाई बिदाइ गरेपछि म एक्लो फिल गरे । कहीँ जानै मन नलाग्ने, कसैसँग बोल्ने त परैको कुरा । बाइक अलि परै थियो । उ चढेको गाडी गुडेपछि नजिकैको पसलबाट एउटा सूर्य लाईट सिग्रेट किने अनि एउटा पानी ।
म कहिले सिग्रेट पिउँदिन । उसले एक पटक सोधेको याद छ– ‘तिमी सिग्रेट पिउछौ ?’
‘हाहाहा ! नाई , किन र ?’ मैले हाँस्दै जवाफ अनि प्रश्न एकै पटक बर्साएको थिए ।

बाइकनेर पुगेर सूर्य लाइट सल्काए । पानीको बोतल खोलेर दुई घुटुक पिए । सूर्य लाइट सिग्रेट स्पेसल्ली केटीहरूको लागि बनेको हो रे । यो कुरा मलाई थाहा थिएन । लाइट चुरोटका फ्यान नरेश दाइले यसै भन्थे । अर्को लक्जरी सिग्रेट पिउँदा खोकी बढी लाग्छ, यो पिउँदा केही हुँदैन भनेर दिनमा दुई बट्टा सिग्रेट सक्ने नरेश दाइकै कुराले आज सूर्य लाइट तन्काउन खोजेको खोकी लागिहाल्यो ।
म खोकेको परैसम्म सुनियो सायद । अलि परसम्मका मान्छेहरू मलाई फर्की–फर्की हेर्दै थिए । तर गाडीमा बसेर गएकी मायालाई केही पत्तो छैन ।

आँखा राता भए, आँसुले भिजे । यो पटक आँखा मायाको यादले रसाएका थिएनन् , सिग्रेटको धुँवा सहन नसकेर रसाएका थिए । तर पनि मलाई सिक्नु थियो ।

‘सिग्रेट किन पिउनुहुन्छ दाइ ?’ मैले नरेश दाइलाई एक पटक प्रश्न गरेको याद छ ।
‘एक सर्को सिग्रेटको धुँवा खिचेर नाकबाट आकाशतिर फ्याक्दै आँखा चिम्ल त ! भगवान् कसम सारा पीडा भुल्नेछौ ।’ उनले कति मीठो उत्तर दिएका थिए ।
त्यसै गरे, एक पटक लामो सर्को तानेर नाकबाट धुवा निकाल्ने कोसिस गरे । घाँटीमै धुवा अड्कियो सायद, मुटु नै फुटला जसरी खोकी लाग्यो, रिङ्गाटा लागे जस्तो भयो ।

हातको आधा जलेको सिग्रेट फाल्दिए, बोतलको पानीले मुख धोए अनि लामो सास तानेर फ्रेस हुने कोसिस गरे ।
घडीमा पाँच बज्दै थियो, ऊ हिडेको बिस मिनेटभन्दा धेरै भैसकेको थियो । तर उसले– ‘आई मिस यु डियर !’ लेखेर म्यासेज पठाइन् । दशौ पटक मोबाइल हेरे, तर अहँ ! उसको एउटा म्यासेज थिएन । म गल्दै थिए उसको मायामा ।
घर जानै मन थिएन, तर पनि कहाँ जानू ? ऊ सँगै जान मन थियो उसैको ठाउँ ! तर यो सपनामा मात्र सम्भव थियो । मन नलागे पनि घर फर्किए ।

पाँच घण्टा बितिसक्दा पनि ‘म आइपुगे है !’ भनेर खबर नगरेपछि मलाई रिसको पारो चढ्दै थियो । म्यासेन्जरमा म्यासेज गरे– ‘क्या स्वार्थी छ यार दुनियाँ, पुगे नपुगेको खबरसम्म छैन है !’
ऊ आठ घण्टाअघि अफलाईन थिई । म्यासेन्जरमा एट आवर अगो लेखेको थियो ।
मैले पठाएको म्यासेज उसले हेर्ने कुरै भएन, मात्र डेलिभर्ड भयो ।
मोबाइलमा एसएमएस गरे– ‘घमण्डी केटी ! एक पटक म्यासेज वा कल छैन है !’
यता पठाएको पनि घण्टौ भयो, रिप्लाई आएन । रातीको एघार बज्दासम्म ऊ अनलाइन आउने या मलाई एसएमएस गर्ने कुरेर बसे । हातको मोबाइल चार्जमा नलगाई निदाए । उसकै यादमा निदाइयो ।

मोबाइल पलङ मुन्तिर खसेको थियो, म कपडैसँग निदाएछु । उठेपछि थाहा भयो, मैले त खाना पनि खाइन । उसको रिप्लाईको पर्खाईमा भोकै सुतिएछ ।

चार्ज सकिनै लागेको मोबाइलमा हेरेको, सात वटा म्यासेज थिए । पढे, मन प्रशन्न भो ।
लाग्दैथ्यो ! मैले भन्दा धेरै माया त उसैले गर्छे । गर्छे या गर्दैने ऊ आफै जानोस् तर उसले पठाएका हरेक म्यासेजले यस्तै भन्दैथे । उसलाई गाली गर्ने म उस्तै रहेछु । ब्याट्री सकिएर स्विच अफ हुनै आटेको मोबाइल बोकेर छुट्टिएकी ऊ, बसमा बसेको पन्ध्र मिनेटमै अफ भएको रहेछ । म चैँ नानाथरी सोचेर बस्दै थिए ।
अहिले चैँ ऊ हल्का रिसाई, मैले फकाए । च्याटबाटै हजारौँ आइ लभ यूका पोकाहरु पठाईदिए, दर्जनौ लभका सिग्नलहरु पठाइदिए । तर उसलाई फकाउन सकिएन ।

ऊ धेरै बेर रिसाउन सक्दिन, मजस्तै । म पनि ऊ सँग सयौंपटक रिसाएको छु तर आधा घण्टासम्म । ऊ पनि यस्तै हो । रिसाएको नाटक गरेर अफलाईन भएकी उसले बिस मिनेटपछि आफै कल गर्दै भनी– ‘आइ हेट यु !’
मलाई हाँसो उठ्यो, उसको आई हेट यु शब्दमा लाखौँ आइ लभ यूका पोका भेट्थे मैले । म हाँसे, उसले फेरि भनी– ‘रियल्ली ! आइ हेट यु ।’
मैले हाँस्दै भने– ‘बट आइ लभ यु कान्छी ।’
उसले रिसाउँदै भनी– ‘मलाई कान्छी नभन्नु, मन पर्दैन ।’

मलाई थाहा छ उसलाई सबैभन्दा प्यारो लाग्ने शब्द कान्छु हो । खुसी पार्न भन्दिए ‘आइ लभ यु कान्छु !’
ऊ रुन थाली, मैले सम्झाउँदै भने– ‘रियल्ली आई लभ यु कान्छु ! हामी जीवनभर अलग नहुने है ?’
ऊ धेरै बेरसम्म सुक्सुकाइरही, मैले फोनबाट किस पठाइदिए । ऊ रोइरहेकी छे थाहा छ तर पनि मैले जिस्काउन छाडिन्– ‘किस यु बड्डी ! अब त नरो यार !’

उसले रुन्चे स्वरमा भनी– ‘लभ यु टु बुढो ।’
उसले बुढो भनेसी आफैले आफैलाई बिबाहित महसुस गरे, उसको साख्खै पोइ जस्तो अनुभव गरे । बाथरुमको सिसामा अनुहार नियाले । भर्खर बस्न थालेका जुङ्गाका रेखीलाई मुसारे, आफैले आफैलाई ठुलो मान्छे महसुस गरे ।

फेरि चले हाम्रा प्रेमका मिठा गफ । घण्टौं च्याट हुन्थे, घण्टौं फोन । न ऊ थाक्थी गफिएर न म थाक्थे । अचम्म पर्थे म, आखिर किन लाग्छ यति माया उसको ? यही प्रश्न गरिरहन्थे ।

ऊ एक घण्टा अफ भैदी भने म पागलजस्तै हुन्थे । गोजामा सिग्रेट बोकेर हिँड्ने भैसकेको थिए । उसको अनुपस्थितिमा सिग्रेटले मलाई साथ दिन्थ्यो । सुरु–सुरुमा खोक्दै सिग्रेट तान्ने म आजभोलि जाबो धुवा सुलुत्त निल्ने भैसकेको छु । एक कप चिया पिउदा एउटा सिग्रेट तान्नैपर्ने भइसकेको छु ।
मैले सिग्रेट पिएको उसलाई कत्ति मन पर्दैन । अस्ति जिस्किदै भने– ‘त हुँदा भैहालिस्, नहुँदा सिग्रेट तानेर दिन बिताउछु ।’
उसले रिसाउँदै भनी– ‘पागल ! आर यु म्याड ? मलाई सिग्रेट पिउने मान्छे मन पर्दैन भन्ने थाहा छैन ?’
ऊ रिसाउँदा झनै माया देखाउँथी । त्यसैले पनि कहिले काहीँ रिसाउने कुरा गर्दिन्थे । ‘त नहुँदा सिग्रेटले साथ दिन्छ । सिग्रेट छुटाउन हरपल तेरो साथ चाहिन्छ ! सक्छेस साथ दिन ?’

मैले बटारिएका कुरा गर्थे, उसलाई चिढ्याउन । ऊ झनै रिसाउँथी ।
चोखो लभ परेको महिनौ भैसकेको छ । उसलाई नदेखेको महिनौ भयो । च्याट र फोनले मात्र मायालाई मलजल पुगेन । मनले मायालाई छिट्टै भेटौं भन्दै थियो ।

उसलाई कहिले आइज भनेर भन्न सकिन, किनभने ऊ आफ्नो लक्ष्यमा हिडेकी थिई । हामी दोबाटोमा भेटिएका थियौँ, कुनै चौबाटो आयो भने अवश्य छुट्टिनुपर्छ । ऊ सधैँ भन्थी– ‘हामी एकअर्काको लागि बनेका हैनौ है दीपक । तर जीवनभर साथ चैँ दिनुपर्छ । जीवनसाथी बन्न नसके पनि जीवनभरको साथी चैँ बन्ने है !’

उसले मलाई च्याटमा फोनमा बुढो भने पनि, मैले उसलाई बुढी भने पनि उसलाई थाहा थियो हामी एउटा नदीका दुई किनार हौँ, हामीसँगै जीवन चलाउँछौ तर कहिले एक हुन सक्दैनौ । ऊ सधैँ यही भन्थी– ‘हाम्रो मिलन असम्भव छ ।’

आखिर किन असम्भव छ ? मैले हजारौँ पटक यही प्रश्न उसलाई गरेको छु तर आजसम्म उसले भनेकी छैने, यो पटकको भेटमा अवश्य उत्तर पाउने छु, आखिर किन एक हुन सक्दैनौ हामी ?