कुरिलो खेती प्रविधि « Himal Post | Online News Revolution
Logo

कुरिलो खेती प्रविधि



— सबिता गिरी, बि.एस्सी (अनर्स) एजी

परिचय
कुरिलो कलिलो टुसाको लागि खेती गरिने एक बहुवर्षे तरकारी बाली हो । कुरिलो बिरामी तथा कमजोर व्यक्तिहरूलाई खान दिने प्रचलन बढी छ, किनकि यो सजिलै पच्न सक्ने र यसमा पौष्टिक तत्त्व पनि बढी रहेको पाइन्छ । नेपालमा समुन्द्री सतहदेखि २२०० मिटर सम्म कुरिलो पाइन्छ । विशेषगरी कुरिलोको माग शहरी क्षेत्रमा बढ्दै गएको छ र काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, मोरङ, सुनसरी आदि जिल्लाहरूमा व्यावसायिक रूपमा उत्पादन गर्न थालिएको छ ।

महत्त्व

आर्थिक महत्त्व
खेर गइरहेको जमिनमा कम जनशक्ति र कम लगानीबाट बढी आम्दानी लिन सकिन्छ । एक पटक लगाइ सकेपछि १०-१५ पटक सम्म उत्पादन लिइरहन सकिने हुँदा र लगाइ रहन नपर्ने हुँदा काम गर्न सजिलो हुन्छ । यसको खेतीबाट ६-७ महिनासम्म आयआर्जन गर्न सकिन्छ ।

पौष्टिक महत्त्व
कुरिलोमा पौष्टिक मात्रा एकदमै धेरै हुन्छ । कुरिलोमा चिल्लो पदार्थ नहुने, कोलेस्ट्रोल र सोडियम तत्त्व नहुने र भिटामिनहरू जस्तै ए र सी प्रशस्त मात्रामा भएको खाद्य पदार्थको रूपमा लिन सकिन्छ ।

अन्य उपयोगिता
कुरिलोलाई तरकारीको रूपमा मात्र नभई सुपको रूपमा पनि प्रयोग गरिन्छ । कुरिलो सलादको रूपमा र सीधा घाम नपर्ने ठाउँमा सुकाएर अथवा डिब्बा बन्द गरेर केही समय पछि पनि प्रयोग गर्न सकिन्छ ।

कुरिलोको वृद्धि र विकास

क्राउनको विकास
नरम चिल्लो जरा र रेसादार जराहरूको समष्टि भागलाई जुन कुरिलोको जमिनमुनि हुन्छ त्यसलाई क्राउन भनिन्छ । क्राउन कुरिलोको बहुबर्षिय अङ्ग हो । जमिनमुनिको जराहरूमा एक प्रकारका डाँठहरूको विकास भएर क्राउन तयार हुन्छ । क्राउनबाट टुसाको विकास हुन्छ ।

टुसाको विकास
कुरिलोको खानयोग्य भाग टुसा हो । मोटो तथा कम रेसादार टुसा बजारको लागि राम्रो मानिन्छ । टुसालाई यदि टिपिएन भने ४ देखि ५ फिटसम्म अग्लो हुन्छ र धेरै हाँगाहरू विकसित हुन्छ। यी हाँगाहरूमा पनि अन्तर आँख्लामा वृद्धि भई दोस्रो चरणका हाँगाहरू विकसित हुन्छन् । स साना पङ्खाजस्ता पातहरू फैलिएर झ्याम्म भएको संरचनालाई फर्न भनिन्छ ।

फुल र फल
फल पाकेपछि राता हुन्छन् । फुल सेता रङका हुन्छन् । भदौपछि लागेका फलमा मात्र बीउ लाग्छ ।

हावापानी र माटो
कुरिलो न्यानो र समशीतोष्ण हावापानी भएको स्थापना राम्रो हुन्छ । यसको खेती १५ देखि १८ डिग्री सेल्सियस औसत तापक्रम भएको क्षेत्रमा राम्ररी गर्न सकिन्छ । बिरुवाको वृद्धि विकासका लागि ३ देखि ५ महिनासम्म सुषुप्त अवस्थामा रहनु अति आवश्यक हुन्छ । सुषुप्त अवस्थामा रहन माटोको तापक्रम १० डिग्री सेल्सियस भन्दा कम हुनुपर्दछ ।

कुरिलोको लागि प्रशस्त मात्रामा प्राङगारिक पदार्थ भएको, खुकुलो माटो राम्रो हुन्छ । माटोको पी.एच. ६ देखि ७.५ सम्म राम्रो मानिन्छ । दिनभरि प्रकाश पर्ने ठाउँ उचित हुन्छ । कुरिलो खेतीको लागि बाह्रै महिना पानीको सुविधा भएको बलौटे दोमट माटो, पारिलो घाम लाग्ने जमिन हुनु आवश्यक छ ।

खेती प्रविधि

जमिनको तयारी
३ देखि ४ पटकसम्म खनजोत गरी राम्रोसँग मल हालेको जमिनमा कुरिलोको खेती गर्न सकिन्छ । १ रोपनी जमिनमा करिब १५०० बिरुवा लगाउन सकिन्छ । ड्याङमै बीउ रोप्न पनि सकिन्छ भने सामान्यतया कुरिलोको बेर्ना तयार गरेर बिरुवा लगाइन्छ ।

रोप्ने तयारी
३ प्रकारले खेती गर्न सकिन्छ

  • -एक वर्षै क्राउन रोप्ने
  • -२ देखि ३ महिने बेर्ना सार्ने
  • -सिधै बीउ छर्ने

एक वर्षे क्राउन रोप्ने

यस तरिकामा प्रसारणका लागि पुरानो कुरिलोको बोटबाट क्राउन निकाली सार्न सकिन्छ । बीउबाट नर्सरीमा उमारिएको एक वर्ष क्राउन पनि रोप्न सकिन्छ । क्राउन १०० देखि १२० ग्रामको भएको राम्रो हुन्छ । बीउबाट क्राउन तयार गरी तपसिल बमोजिम लगाउनु पर्दछ ।

  • -बीउ ५ देखि ७ से.मी. को फरकमा २.५ से.मी गहिरो र ६० से.मी को हरफमा रोप्ने र १ वर्षपछि क्राउन निकाल्ने । बीउ रोप्ने उत्तम समय फागुन देखि चैत हो ।
  • -५० से.मी. चौडा ५० से.मी. गहिरो कुलेसाहरु बनाउने । उक्त कुलेसामा ३० से.मी. गोबर मल भर्ने र त्यसमाथि २० से.मी. गोबर मल र माटो बराबर मिसाएर भर्ने । उक्त कुलेसोमा नाइटोजन , फस्फोरस र पोटास ४:३:२ के.जी. प्रति रोपनीको दरले हाली राम्ररी मिसाउनुपर्दछ ।
  • -कुरिलोको क्राउन १५ देखि २० से.मी. गहिरोमा रोपिन्छ । ५ से.मी. जति मुना , टुसा बढ्दै गएपछि माटोले बिस्तारै छोप्दै जाने ।
  • -साधारणयता कुलेसोको दुरी १२० से.मी. र एक क्राउन देखि अर्को क्राउनको दुरी २५ देखि ६० से.मी राख्नुपर्दछ ।

२ देखि ३ महिने बेर्ना सार्ने
माघ महिना लागेपछि नर्सरी राख्ने तयारी गर्नुपर्दछ । चैतको अन्तिम वा वैशाख सुरुमा बेर्ना सार्न योग्य हुन्छन्’ । चैत पछाडि नर्सरी राखेमा बीउ रोपेको करिब २ महिनामा बेर्ना सार्न योग्य हुन्छन् । वैशाख जेठ बेर्ना रोप्नको लागी राम्रो मानिन्छ । एक रोपनीमा १५०० जति बिरुवाको आवश्यकता पर्दछ ।

सिधै बिउ छर्ने
कुरिलोको बीउ सीधै रोपेर पनि खेती गर्न सकिन्छ । यसो गर्दा भने बेर्नालाई झारपातबाट जोगाउनु पर्दछ ।

रोप्ने दुरी
बिरुवादेखि बिरुवाको दुरी ५० से.मी. र लाइन देखि लाइन ७० देखि ७५ से.मी. मा कुरिलो लगाउन सकिन्छ ।

हेरचाह
झारपात कुरिलोको मुख्य समस्या भएको हुनाले पटक पटक खनजोत र गोडमेल गर्नुपर्दछ । ३—५ से.मी. गहिरो युरिया र चुन २ के.जी. प्रति रोपनीको दरले माटोमा मिलाएर हल्का ड्याङ बनाउने गर्नुपर्दछ ।

मलखाद व्यवस्थापन
जमिन तयारी गर्दा ३ देखि ४ पटक जोतेर, डल्ला फोरेर, झारपात नभएको जग्गामा कम्तीमा ८० देखि १०० भारी प्रति रोपनी कम्पोस्ट मल राखेर बिरुवा लगाउनु पर्दछ । प्रत्येक हिंउदको अन्तिममा कम्पोस्ट मल, कुखुराको मल, गाई भैँसीको धुलो मल करिब २ देखि ३ के.जी प्रतिबोट हाल्नुपर्दछ ।

सिँचाई
नयाँ बेर्ना, बीउ, क्राउन आदि सारेको २ वर्षसम्म सिँचाइ आवश्यकता अनुसार दिनुपर्दछ । चिम्टाइयो माटोमा कम पानी चाहिन्छ । प्रथम सिँचाइ बाली रोप्ने बित्तिकै दिन जरुरी छ ।

बाली लिने अवस्था
कुरिलो को उत्पादन दोस्रो वा तेस्रो वर्ष हुन थाल्दछ । बेर्ना सार्नासाथ टुसाहरू पलाउंछन तर सुरुमा पलाएका केही टुसाहरू टिप्न हुँदैन । त्यसरी छाडिएका टुसाहरूबाट बोटको राम्रो झाङ फैलिन्छ र स्वस्थ रहन्छ । टुसालाई हुर्कन दिएमा खाद्य पदार्थमा वृद्धि आई क्राउनमा संचित भएर अर्को वर्षदेखि बढी टुसा आउने हुन्छ । त्यसैले बेर्ना सारेको दोस्रो वर्ष देखि मात्र वास्तविक रूपमा टुसाहरू टिप्न सुरु गर्नुपर्दछ । टुसा ८- १२ से. मी. लामा भएपछि काटेर अथवा त्यसै भाँचेर निकाल्न पर्दछ ।