जूलियन असान्जको जीवन खतरामा, जेलमै असुरक्षित - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

जूलियन असान्जको जीवन खतरामा, जेलमै असुरक्षित



एजेन्सी-लण्डन जेलमा रहेका विकीलिक्सका संस्थापक जूलियन असान्जको स्वास्थ्यअवस्था दयनिय हुँदै गएको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार अयोगका अनुसार जेलमा रहेका उनको स्वास्य अवस्था जटिल बन्दै गएको हो ।

उनको स्वास्थ्यअवस्था जटिल बन्दै गएपनि कतैबाट चासो व्यक्त नगरिएको आयोगले आरोप लगाएको छ ।

असान्जलाई लन्डन जेलमा भेट्न गएका राष्टसंघीय मानवअधिकार आयोगका प्रतिनिधिहरुले जेलमा दिइने उपचारको बारेमा प्रश्न गरेका थिए । उनीहरुका अनुसार तत्काल उपचारको विधि परिवर्तन नगरिए असान्जको जीवन खतरामा पर्न सक्छ । त्यसका लागि बेलैमा सतर्कता अप्नाउन सम्बधित पक्षलाई उनीहरुले आग्रह समेत गरेका छन् ।

असान्जले अमेरिकाका हजारौं गोपनीय सन्देशहरू सार्वजनिक गरेर संसारभरि सनसनी फैलाएपछि अमेरिकाले उनीविरुद्ध मुद्धा हालेको थियो । 

असान्जमाथि क्रूर व्यवहार
युएन विज्ञ नीलस मेजरले शुक्रबार लन्डनको जेल भ्रमणका क्रममा असान्जलाई अमानवीय अवस्थामा राखिएको बताएका छन् । उनले भने, ‘उनीप्रति क्रूर व्यवहार भइरहेको छ। बिरामी असान्जलाई एकदमै उपचारको आवश्यकता छ तर त्यो स्तरको उपचार विधि अप्नाइएको पाइएको छैन।’  

उनलाई अबका केहि दिनमात्र त्यस्तो अवस्थामा राखियो भने ज्यान जोखिममा पर्नसक्ने नीलसले बताएका छन् ।  अस्ट्रेलियाका नागरिक असान्ज लगभग सात बर्ष लन्डनको इक्वेडरियन दूतावासकोअँध्यारो कोठामा लुकेर बसेका थिए । यसवर्ष अप्रिलमा उनले दूतावास छोडेपछि लन्डन पुलिसले पक्राउ गरेको थियो। उनी मे ९ देखि लन्डन जेलमा छन् । असान्ज ११ अप्रिलमा पक्राउ परेका थिए ।

असान्जले हाल जमानत सर्तहरूको उल्लंघन गरेको आरोपमा बेलायतमा ५० हप्ताको जेल सजाय पाइरहेका छ्न् । असान्जलाई स्वीडेनमा भएको बलात्कार र यौन उत्पीडनको आरोपमा जमानत दिइएको थियो ।

अमेरिकामा विभिन्न आरोपमा असान्जका बिरूद्ध १८ वटा मुद्दा रहेका छन् । दोषी ठहरिएमा असान्जले केहि दशकसम्म जेल सजाय भोग्नुपर्नेछ।