विद्यालय गुणस्तर सुधार अनुदानमा करोडौंको चलखेल, सेटिङमा धन्दा चलाउँदै लामा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

विद्यालय गुणस्तर सुधार अनुदानमा करोडौंको चलखेल, सेटिङमा धन्दा चलाउँदै लामा



नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत विश्व बैंकको ऋण सहयोगबाट सञ्चालित योजनामा करोडौं रुपैयाँको चलखेल भएको खुलासा भएको छ।

मन्त्रालय अन्तर्गतको  इभेन्ट परियोजना शाखालाई एक कर्मचारीले भ्रष्टाचारको अखडा बनाएका हुन्। राज्यको अनुदान र विदेशी ऋण कसरी ब्रह्मलुट पारिन्छ भनेर बुद्धनगर अवस्थित परियोजनाको कार्यालयमा भएका गतिविधि हेर्दा छर्लङ्ग हुन्छ।

परियोजना शाखा अधिकृत अष्ट लामाले परियोजनाका हाकिमलाई प्रभावमा परेर राज्यको पैसा ब्रह्मलुट गरिरहेको स्रोतको दाबी छ ।

आफूलाई माओवादी केन्द्र निकटको कर्मचारी बताउने लामाले त्यही आडमा योजना शाखालाई भ्रष्टाचारको अखडा बनाएको पीडितहरुले बताएका छन् । उनी शक्तिकेन्द्रकै आडमा लामो समयसम्म सरुवा समेत नभई योजना शाखामै रहेका पिडितहरूले बताए।

शिक्षा मन्त्रालय मातहत रहेको विश्व बैंकको ऋणमा सञ्चालित यो परियोजनामा लामाले विभिन्न व्यक्ति र संस्थाको प्रयोग गरी पैसा उठाउने र कमिसन नदिने सामुदायिक प्राविधिक विद्यालयलाई रकम निकासामा दुःख दिँदै आएको नाम नखुलाईदिने सर्तमा एक विद्यालयका प्रधानध्यापकले बताए। उनले पैसा नदिएमा अरु योजनाहरुमा समावेश नगर्ने गरेको समेत बताए। 

‘पैसा नदिएसम्म उहाँबाट कुनै काम पनि सम्भव छैन, नियमसँगत रुपमा हुने काममा पनि उहाँले कमिसन माग्नुहुन्छ’, ती पीडित प्रधानध्यापकले भने, ‘कमिसन नदिँदा योजना नै अर्को पूर्वाधार नपुगेको विद्यालयलाई दिनुहुन्छ।’

प्राविधिक विद्यालय गुणस्तर सुधार अनुदानमा  विद्यालयका प्रधानध्यापक र विद्यालय व्यवस्थापनसँगको मिलेमतोमा कागजी प्रक्रिया मिलाएर पैसा निकासा गरिएको प्रमाण हिमालपोस्टले फेला पारेको छ।

उनले कुनै पनि काम नगर्ने र विद्यालयसँग भएका सामानलाई उपयोग गरेर र फर्जी कागजात मिलाएर रकम निकासा गर्ने गरेको पाइएको छ।

यस विषयमा मन्त्रालयले र मन्त्री समेत जानकार रहेको पीडितहरु बताउँछन् । ‘पूर्वमन्त्री देवेन्द्र पौंडेल पनि जानकार हुनुहुन्थ्यो । उहाँले पनि कुनै कारबाही गर्न सक्नुभएन’, ती प्रअले भने । उनले लामाले मन्त्री र सचिवसम्म मिलाएर धन्दा चलाउँदै आएको बताए।