अष्टलक्ष्मी ४५ दिनमै पदच्युत, सकियो तामझाम - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

अष्टलक्ष्मी ४५ दिनमै पदच्युत, सकियो तामझाम



काठमाडौं- पार्टी विभाजन हुँदा एमालेमै बसेर तामझामका साथ बागमती प्रदेशको मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यको ४५ दिनमै बहिर्गमन हुने भएको छ । स्पष्ट अल्पमतमा परेकी शाक्यले आज संसदमा विश्वासको मत लिँदै छिन् ।

अल्पमतमा परेपछि मुख्यमन्त्री शाक्यले आइतबार दिउँसो विश्वासको मत लिन लागेकी हुन् । त्यसका लागि प्रदेशसभाको बैठक बोलाइएको हो । तर, प्रदेशसभाबाट मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउने सम्भावना छैन ।

विश्वासको मत नपाए मुख्यमन्त्री शाक्य पद च्युत हुनेछिन् । शाक्य २ भदौमा एकल बहुमत प्राप्त दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन् । तर, एमालेका १३ सांसदले एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् ।

बागमती प्रदेशसभामा १ सय ९ सांसद छन्। प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेसँग ४३ सांसद छन् । हाल विपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्रसँग २३, नेपाली कांग्रेससँग २२, एकीकृत समाजवादी १३ र जनता समाजवादीका एक सासद छन् । विपक्षी गठबन्धनसँग सरकार बनाउन पुग्ने संख्या छ ।

विपक्षी गठबन्धनका दलहरूले मुख्यमन्त्री शाक्यको सरकार ढालेर नयाँ सरकार बनाउने बताइसकेका छन् । यस्तै तीन सांसद रहेको विवेकशील साझा पार्टीले सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

बागमतीमा स्पष्ट बहुमतसहित सरकार चलाउँदै आएको एमाले सरकारबाट बाहिरिने निश्चित छ । पार्टी विभाजनसँगै अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउने सम्भावना छैन । सरकार बनाउन ५५ मत आवश्यक पर्छ भने एमालेसँग जम्मा ४३ मत मात्रै छ ।

५६ मतसहित सरकारको नेतृत्व गरिरहेको एमालेका १३ सांसदले एकीकृत समाजवादी रोजेपछि सरकार ढल्ने निश्चित भएको हो । साना दलको समर्थन खोजे पनि एमालेले सरकार टिकाउन नसक्ने अंक गणित छ । एमालेलाई समर्थन गर्न सक्ने दल राप्रपा र नेपाल मजदुर किसान पार्टीसँग २-२ जना सांसद छन् । जुन मतले शाक्य नेतृत्वको सरकार टिक्दैन् । सरकार जोगाउन शाक्यलाई १२ मत आवश्यक पर्छ । ३ सांसद रहेको विवेकशील साझा पार्टीले यसअघि नै शाक्यलाई समर्थन नगर्ने जनाइसकेको छ । एक स्वतन्त्र सांसद पनि गठबन्धननिकट रहेका छन् ।

तीन वर्षअघि २९ माघमा बागमतीको मुख्यमन्त्रीमा डोरमणि पौडेलले नेतृत्व गरेका थिए । तत्कालीन नेकपाबाट पौडेलको नेतृत्वमा देशकै पहिलो प्रदेश सरकारको रुपमा बागमती प्रदेश सरकार गठन भएको थियो । पौडेलले गत २ भदौमा पार्टीको एकता कायम राख्न भन्दै शाक्यलाई मुख्यमन्त्री बनाएर सरकारबाट बाहिरिएका थिए ।