संस्मरण – अतिथिदेवो भव « Himal Post | Online News Revolution
Logo

संस्मरण – अतिथिदेवो भव



—निर्मोही व्यास
निजी अतीतका अविस्मरणीय प्रसङ्गहरूको कलात्मक उत्खनन हो संस्मरण। यो उत्खनन कार्य एकमुष्ट रूपमा नभएर किस्ताबन्दीमा गरिन्छ। र अझ त्यो किस्ताबन्दी पनि सिल्सिलेवार ढङ्गको हुन्छ वा हुनुपर्छ भन्ने पनि केही छैन। एकदम विशृङ्खलित तवरमा पनि हुन सक्छ। अनि हुन सक्छ पनि किन भन्नु ! प्रायः हुन्छ नै त्यस्तै। त, आज उत्खनन गरिन लागेको मेरो अतीत–प्रसङ्ग अतिथिसत्कारसित सम्बन्धित छ। आजभन्दा ५६–५७ वर्ष पुरानो प्रसङ्ग हो यो मेरो स्मृतिको भण्डारमा जीवन्त रूपले सञ्चित रहेको। त्यसको बेलिबिस्तार रिट्ठो नबिराई यसप्रकार छ —

‘अतिथिदेवो भव’ भन्ने नीति वचन र सनातनी संस्कारको त जहिले पनि उच्च सम्मान गर्नै पर्छ तर अतिथि पनि थरी थरीका हुन्छन्। देवत्व नै नभएका अतिथिलाई त देवता कसरी मान्नु ! नत्र त देवताकै घनघोर अपमान हुन्छ नि ! होइन र ? 

दुई हजार उन्नाईस/बीस सालतिरको कुरा हो। म त्यस्तै दश/एघार वर्षको थिएँ। महिना मङ्सिर, पुस वा माघ खै कुन चाहिँ थियो कुनि, जाडो आफ्नो चरम विन्दुमा उक्लेको थियो। घाम अस्ताइसकेको थियो र साँझबत्ती बाल्ने तर्खरमा जुट्न थालिसकेका थिए मेरो गाउँघर कलैया भवानीपुरका छोरी, बुहारी र गृहिणीहरू। म आफ्नो घरदेखि त्यस्तै तीन–चार घर दक्षिणतिर धुले मूलसडकमा छिमेकी दौँतरीहरूसित गफगाफ र उफ्रीपाफ्रीमा मग्‍नमस्त थिएँ केहीबेरदेखि। हाम्रो उफ्रीपाफ्रीको समापन हुनै हुनै लाग्दा कुममा गह्रौँ धोक्रे झोला झुन्ड्याएका दुई जना अधबैँसे पहाडे पुरुष पूर्वतिरबाट मूलसडकैसडक हामीछेउ आइपुगे। मैलोले काती परेका ठस्ठसी गन्हाउने कमेज–सुरुवाल–इस्कोट, कालो टोपी र कपडाको थोत्रो जुत्ता लगाएका थिए उनीहरूले।
सडकमा त्यति खेर हाम्रो बालमण्डलीबाहेक अरू ठूलो उमेरका मान्छेको उपस्थिति थिएन। सबै जना आ–आफ्नो घरभित्र पसिसकेका थिए। त, ती दुई नवआगन्तुकले हाम्रो मण्डलीसित कुनै घरमा बासको चाँजो मिलाइदिन अनुरोध गरे बिन्तीको पाराले। हामी आ–आफ्नो घरका घरमूली नभएर अभिभावकमा आश्रित केटाकेटी थियौँ। त्यसैले साथीहरूले त्यसै पाराको जबाफ दिएर आ–आफ्नो घरको बाटो तताए तर मेरो मन–मुटुले भने त्यस मध्य जाडो यामको झम्के साँझमा बासको लागि दयनीय पाराले याचना गरिरहेका ती परदेशी बबुराहरूलाई निरुपाय अवस्थामा बीच सडकमा त्यतिकै बिल्लीबाठ हुने गरी छाडेर निठुरी भई टिम्टिम परिहाल्न कसै गरी पनि सकेन।

‘अतिथिदेवो भव’ अर्थात् अतिथिलाई देवता मात्रे होऊ भत्रे त हामी सनातनीहरूको ऋषिवचन वा नीतिवचन नै छ। त्यसैले अतिथिसत्कार एक त हाम्रो समाजकै परम्परागत संस्कार, त्यसमाथि झन् स्वभावैले पनि अतिथिपरायण, उदारमनका र ऋषितुल्य हुनुहुन्थ्यो मेरो बाबा। त्यसो हुँदा हाम्रो घरमा अतिथि–अभ्यागतको अनिकाल कहिल्यै हुँदैनथ्यो। ती अतिथिहरू के पहाड, के तराई सबैतिरका हुन्थे र विभित्र वर्ण र जातका हुन्थे। अझ कहिलेकाहीँ त भारतको बिहार र उत्तर प्रदेशतिरका साधु–महात्मा, योगी–संन्यासी र पण्डाहरू पनि एक्लै वा दुई–चारको सङ्ख्यामा देशाटन–भिक्षाटनका क्रममा हामीकहाँ बास बस्ने गरी बिहानै, दिउँसै, बेलुकै जति बेला पनि टुप्लुक्किन्थे। यसरी अतिथिदेवताहरूको दर्शन र सक्तो सेवा–सत्कार गर्ने सौभाग्य हामी उहाँका सन्तानहरूलार्ई पनि पारिवारिक र आनुवंशिक संस्कारकै अभिन्न अङ्गका रूपमा नै मिल्दै आयो बालककालदेखि नै। मान्छेको जीवनमा वरिपरिको वातावरण र सामाजिक संस्कारले त प्रभाव पार्छ पार्छ, घरेलु वातावरण र पारिवारिक संस्कारले झन् बढी प्रभाव पार्छ र त्यसमाथि उसको शैक्षिक पृष्ठभूमि र परिवेश अनि उसले अर्जन गरेको ज्ञानसम्पदाको पनि उसको चेतनाको स्तर निर्माणमा उत्तिकै ठूलो भूमिका रहन्छ भत्रे लाग्छ मलाई। त्यसताका म प्रथमामा पढ्थेँ।

साढे दुई वर्षको उमेरमा बाबाबाट मैले अक्षरारम्भ गरी बाह्रखरी खार्नासाथ उहाँबाटै संस्कृतको प्रारम्भिक शिक्षा पाएको थिएँ। बाहुनको छोराको सानैमा बर्तुन गरिदिने र उनीहरूलाई संस्कृतका अमरकोश, चण्डी, वेद, रुद्री, लघुकौमुदी, रघुवंश, हितोपदेश आदि पुस्तक पढाउने त परम्परागत प्रचलन नै थियो। यीमध्ये चण्डी र अमरकोश (प्रथमकाण्ड) बाबाले मलाई बर्तुनअघि नै पढाइदिसक्नुभएको थियो। साढे छ वर्षको उमेरमा बर्तुन भएपछि मैले वेद पढ्न थालेको थिएँ र विद्यालयमा भर्ना हुन जाँदासम्ममा शुक्ल यजुर्वेदका चालीसै अध्याय बाबाबाटै पाठ लिई लिईकन घरमै पढिसकेको थिएँ। त्यसैले विद्यालयमा गएपछि गुरुहरूबाट मेरो पढाइ अघि बढेको थियो क्रमशः रुद्री, लघुसिद्धान्त कौमुदी, रघुवंशमहाकाव्यको दोस्रो सर्ग, हितोपदेश मित्रलाभ, संस्कृत अनुवाद चन्द्रिका र तर्कसङ्ग्रहका पानाहरूमा। यसरी प्रथमामा पढ्दासम्ममा म संस्कृतमा सरल अनुवाद गर्न सक्ने र संस्कृतका सरल रचनाको नेपालीमा राम्ररी अर्थ लगाउन सक्ने भइसकेको थिएँ।

अँ त, त्यसताका म प्रथमामा पढ्थेँ र त्यस क्रममा पाठ्यपुस्तकहरूमध्येको संस्कृतको बालोपयोगी सरल आख्यानात्मक र गद्यपद्यात्मक नीति ग्रन्थ हितोपदेशमा “अतिथिर्यस्य भग्नाशो गृहात्प्रतिनिवर्तते, सः तस्मै दुष्कृतं दत्वा पुण्यमादाय गच्छति” भत्रे श्लोक पढ्न पाएको थिएँ। ‘यदि कसैको घरबाट कुनै अतिथि निराश भएर फर्कन्छ भने त्यतिबेला उसले आफ्नो भएजति पाप त्यही घरधनीलाई दिन्छ र उसको भएभरिको पुण्य आफूले लिएर जान्छ’ भत्रे अर्थ बोकेको त्यस श्लोकले कम्ती गहिरो प्रभाव पारेको थिएन मेरो बालमस्तिष्कमा। त्यसमाथि झन् बाबाले प्रतिदिन बिहान पूजाचौकामा बसेर आफ्नो नित्य पूजापाठ गर्दाका समयमा म अनिवार्यरूपले उहाँको छेउमा पढ्न बसाइने हुनाले उहाँका मुखबाट उच्चरित ‘अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम्, परोपकारः पुण्याय पापाय परपीडनम्’ जस्ता श्लोक सानैदेखि सधैँ सुन्दै आएको हुँदा तिनको समेत ममा बलियो प्रभाव परेको थियो।

साथै २०१६ सालमा मेरो छिमेकमा बेहुली बनेर भित्रिएकी भाउजू भन्नुपर्ने एउटी सत्र–अठारकी युवतीले माइतबाट अन्मिएर आउँदा सँगै ल्याएको र सधैँ मीठो लय र भाकामा मधुरो स्वरले गाउने गरेको महाकवि देवकोटाको मुनामदन गीतिकाव्यका पङ्क्तिहरू उनको मुखबाट सुन्न पाएर अत्यन्तै प्रभावित भई उनीसित झ्याम्मिएर उसैगरी झ्याउरे लयमा गाउन सिकेको थिएँ मैले। यसरी सात वर्षको उमेरदेखि नै दिनदिनै लय हालेर पढ्दै आएको त्यस काव्यका ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’, ‘मानिसलाई मद्दत गर्ने स्वर्गमा पर्नेंछ’ र ‘मानिसको आँसु मानिसले पुछ्नु सबैको धर्म हो’ जस्ता पङ्क्तिले पनि मेरो कलिलो मन–मुटुमा संस्कारगत रूपमा रहेको मानवताको सेवाको भावना र धारणालाई अझै बलियोसित मलजल गरिदिएका थिए। अझै फराकिलो तुल्याइदिएका थिए। त्यसैले मैले त्यस साँझ ती आशामुखी दुई जना परदेशीलाई निराश पार्न चाहिन र “हिँड्नोस्, मेरो घरमा जाऔँ” भनी साथै ल्याएर घरमा भित्र्याएँ।

अँ त, उनीहरूलाई त्यसरी घरमा ल्याएर बाबा–आमासित भेट गराएपछि आगन्तुकहरूले पनि आफू, आफ्नो गाउँठाउँ र समस्याबारे बेलिबिस्तार लगाउँदै रात्रिवासका निम्ति उहाँहरूसित अनुनयको पारामा अनुरोध गरे। एक त पाहुनाको नियमित स्वागत–सत्कारमा आनुवंशिक रूपमा अभ्यस्त हाम्रो घरपरिवार, त्यसमाथि मध्य जाडो यामको झम्के साँझका पाहुना, त्यसैले उनीहरूको अनुरोध बाबाआमाबाट अस्वीकृत हुने त कुरै कहाँबाट आउँथ्यो र ? सहजै लालमोहर लागिहाल्यो। बाबाआमाको भेउ पाएकोले ‘यस्तै हुन्छ नै’ भन्ने पक्कापक्की लागेरै त मनले जितेरै मैले पनि त्यसरी साँझमा चिन्नु न जान्नुका बटुवालाई पाहुना बनाएर घरमा सरासर ल्याउने आँट गरेको थिएँ नि त। जे होस्, अब उनीहरू हाम्रो घरपरिवारका आदरणीय अतिथि भए। अँ, कहिल्यै देख्‍नु न चिन्नु न जान्नुका मान्छेहरूलाई बाटोबाट आफूले बोलाएर घरमा ल्याई अभिभावकहरूबाट निर्विरोध र अझ सर्वसम्मत रूपले पाहुना तुल्याउने स्वीकृति पाएकोमा म मनमनै गर्वले चुलिएँ पनि एक छिन। त्यस घटनाबाट मलाई अब म पनि एकाएक वयस्क भएछु र घरमा मेरो पनि बोली बिक्ने भएछ, त्यो पनि पीठोको भाउमा नभएर खसोखास मसिनो चामलको भाउमा भन्ने लाग्यो। त्यसैले आफ्नो उमेर, उँचाइ र व्यक्तित्व अचानक छिनको छिनमै ह्वात्त बढेको समेत अनुभूति भयो मलाई।

नाउँ र थर चाहिँ मैले बिर्सें। बर्माका प्रवासी नेपाली रहेछन् उनीहरू र अहिले उतैबाट आफ्नो पुर्खौली थलो मन्थली गाउँ जान नेपाल भित्रिएका रहेछन्। त्यो मन्थली गाउँ चाहिँ रामेछापको हो वा मकवानपुरको खै कहाँको चाहिँ पो भनेका थिए ती अतिथि देवताहरूले थिए, अहिले मलाई ठ्याम्मै हेक्का छैन। भारतीय रेलबाट रक्सौल स्टेसनमा ओर्लेर वीरगन्ज आई त्यहाँबाट सोझो बाटो लाग्‍नुपर्ने मान्छे भुलेर एक स्टेसन पर आदापुरमा ओर्ली त्यहाँदेखि उत्तरको बाटो चार कोस हिँडेर वीरगन्जभन्दा तीन कोस पूर्वको कलैया आइपुगेका रहेछन् उनीहरू।
जे होस्। आमाले गच्छेअनुसार खस्रो–मसिनो पकाएर श्रद्धासाथ खुवाउनुभयो। खानपिनपछि बाबाले आफ्नो खाटमाथि खप्टेर ओछ्याइएका केही जोर अतिरिक्त दरी, राडी र डस्नाहरूमध्येबाट एकेक जोर सरक्क झिकेर भुइँतलामा भऱ्याङको छेउमै राखिएको ठूलो खाटमा सुकुलमाथि ओछ्याई बुट्टे तन्ना हालिदिएर र बाक्लो सिरक समेत राखिदिएर सुकलाको राम्रो बन्दोबस्त मिलाई अतिथि देवताहरूको स्वागत–सत्कार बडो मनोयोगले गर्नुभयो। उनीहरू तृप्तिका साथ निदाए। हाम्रो परिवार पनि पुण्यार्जनको अनुभूतिले अभिभूत भयो। म र मभन्दा तीन वर्षमुनिको माहिलो भाइ शुकदेव मट्टीतेलले बल्ने र खूब ध्वाँसो फाल्ने डिबियाको कमलपित्तले गाँजेको पहेँलो ज्योतिको मधुरो उज्यालोमा छेउकै टेबुल–कुर्सीमा बसेर केही छिन लेखपढ गरी चोटाको आफ्नो ओछ्यानमा गएर सुत्यौँ। कलैयामा त्यस ताकासम्म त के त्यसको झन्डै एकदशक पछिसम्म पनि बिजुली पुगेको थिएन।

घरका हामी पूरै परिवारै ब्राह्ममुहूर्तमा नै उठेर आ–आफ्नो नियमित दिनचर्यामा लाग्थ्यौँ। तदनुसार भोलिपल्ट बिहान बाबा सदा झैँ साढे तीन–चार बजेतिर उठेर दैलैछेउको इनारमा नुहाइवरी मझेरीको उत्तरपूर्वी कुनामा रहेको पूजाचौकामा बसी आफ्नो नित्य पाँच–छ घन्टे पूजापाठमा मग्‍न हुनुभयो। बर्तुन भइसकेका हामी दाइभाइ पनि आफूहरूलाई बाबाले आफू नुहाउन जाँदा उठाएर सँगै नुहाउन लगाई पूजाचौकाको नजीकै पढ्न बसाउने सधैँको दैनिकीअनुसार नुहाएर गायत्री जप गरी पढ्न थाल्यौँ। आमा बिहान भकारो सोहोर्ने, दैलो पोत्‍ने, बढारकुँढार गर्ने, नुहाइधुवाइ गर्ने, जप गर्ने, गाई दुहुने अनि भान्सामा पसेर चुलो धुवाँउने, दूध तताउने र भात बसाल्ने आदि आफ्नो निर्धारित दिनचर्यामा लाग्नुहुन्थ्यो। त्यस दिन पनि दैनिकीको क्रमानुसार बेला भएपछि उहाँले दूध तताउनुभयो। साढे छ बजेतिर पाहुनाहरू ब्यूँझेर नित्यक्रिया सकी बाटो लाग्‍न हतारिए। आमाले एकेक गिलाँस तात्तातो दूध खान दिएर उनीहरूलाई बिदा गर्नुभयो।

उनीहरू बाटो लागेपछि बाबाको आदेशमा हामी दाजुभाइले अघिल्लो राती बाबाले आफ्नो खाटबाट झिकेर सरक्क गुट्मुट्याएर ल्याई पाहुनाहरूलाई ओछ्याइदिएका दरी, राडी, डस्ना, तत्रा र सिरक उनीहरू सुतेको खाटबाट एकेक गरी उठाएर टक्टक्याइवरी फेरि बाबाको खाटमा नै लगेर ओछ्याइदिन थाल्यौँ। त्यस क्रममा ती टक्टक्याइएका दरी, राडी र डस्नाका विभित्र पत्रबाट पाँच, दश र सयका समेत केही कम्पनी र नेपाली नोटहरू झरेर मझेरीमा बिस्कुन झैँ छरिए। हामीले बटुलेर गनिहेऱ्यौं। छ सय कम्पनी र एक सय पैँतीस नेपाली नोटहरू रहेछन्। तराईतिर नेरुको प्रचलन एकदमै थोरै र भारुको प्रचलन चाहिँ व्यापक रूपमा थियो त्यस ताका। अनि त्यस ताका पनि ने.रु.–भा.रु.को सटही दर अहिले जस्तै एक सय साठी नै प्रचलित थियो। त्यस हिसाबले चानचुन एघार सय रुपियाँ थियो त्यहाँ। हामीले उतिखेरै रुपियाँको गुजुल्टो बाबालाई देखाउँदै त्यो पाहुनाहरू सुतेको ओछ्यानबाट झरेको कुरा पनि सुनायौँ। मौन धारण गरेर जपमा लीन हुनु भएका बाबाले हाम्रो कुरा सुन्ने र रुपियाँ देख्‍नेबित्तिकै हत्तपत्त आचमन गरेर अत्तालिँदै भन्नुभयो— “ओहो बाबू, राती सुतेका पाहुनाहरूको रुपियाँ छुटेछ। कस्ता सोझा रहेछन् बिचराहरू ! सुत्ताखेरि खल्तीबाट झिकेर सिरानमुनि बिछ्यौनाको पत्रमा घुसारेका रहेछन् क्यारे। उठेपछि बिर्सेर हतारिँदै बिदा भइहाले। वीरगन्ज जाने भन्थे। अहिले बसपार्क पुगे कि अथवा बाटैतिर पो छन् कि। ल ल ल ल ल झट्टै दौडेर पुऱ्याउन गइहाल बाबूहो ! तिनीहरूलाई भेटेर तिनको नासो जिम्मा लगाइदिहाल। जान ढिलो भयो र तिनीहरू भेटिएनन् भने ती चिन्नु न जान्नुका बटुवाहरूलाई पछि फेरि कहिले, कहाँ, कसरी फेला पार्नु र जिम्मा लगाउनु ? एक त अर्काको धन, त्यसमाथि पनि आफूकहाँ राती शरण परेर बास बसेका बिचरा परदेशीहरूको, राख्‍न हुँदैन, घनघोर पाप लाग्छ।” साथै “कठै ! कस्ता हुस्सू रहेछन् परदेशमा आफ्नो रुपियाँपैसाको हिफाजत गर्न पनि बिर्सने। कहाँ पुग्‍नुपर्ने मान्छेहरू, खल्तीमा अरू बाटोखर्च पनि छ कि छैन होला बबुराहरूसित ! अब भेटिएनन् भने पर्दैन त तिनीहरूलाई ठूलै आपत् ?” भन्दै चुक्चुकाउन समेत थाल्नुभयो उहाँ।

बाबाको वचन भुइँमा झर्न नपाउँदै हामी दाजुभाइ हुरी भएर कुद्‌यौँ घरदेखि त्यस्तै दश मिनेट जतिको पैदल दूरीमा रहेको बसपार्कतिर। बाटामा कतै भेटिएनन् उनीहरू। हस्याङफस्याङ गर्दै बसपार्कमा पुग्दा वीरगन्ज जाने एउटा बस भरिभराउ भएर घार्रघुर्र र घाइँघुइँ गर्दै गुड्ने तर्खरमा रहेछ। हत्तपत्त अगाडिको ढोकाबाट भित्र छिरेर आँखा घुमायौँ सीटसीटमा। एउटा सीटमा देखापरे हाम्रा पाहुना। र भाइको दाहिने हातको मुठीमा कस्सिएर रहेको रुपियाँको गुजुल्टो उनीहरूतिर बढाउँदै भन्यौँ हामीले—“इः तपाईँहरूको रुपियाँ ओछ्यानमा छुटेको रहेछ, त्यही पुऱ्याउन हामी दौडिँदै आएका। तै कसो भेट भइहाल्यो, लौ लिनोस्।” हाम्रो यस कुराले उनीहरू एक छिन अक्मकिए, टोलाए। हामीले ठान्यौँ साँच्चैका हुस्सू त रहेछन् नै साथसाथै विचित्रका जीव पनि रहेछन् यिनीहरू। आफ्नो त्यतिका रुपियाँ बास बसेको ठाउँमा बिर्सेर हिँड्ने अनि बासधनीहरूले मायाले कुदाकुद गर्दै बसभित्रै ल्याएर दिन लाग्दा पनि टोलाउने।
अँ त, एक छिनको टोलाइपछि “ए, हाम्रो रुपियाँ छुटेको पो रेछ हगि ? लौ त देऊ” भन्दै एक जनाले हात पसारे। उनीहरूको त्यो नासो सकुशल उनीहरूलाई सुम्पिदियौँ हामीले र त्यसो गर्न पाउँदा काउसोबाट मुक्ति पाएझैँ हलुका र हाइसन्चोको अनुभूति गरेर फुरुङ्ङ पर्दै घर फर्क्यौँ हामी। घरमा भित्रिनासाथ बाबाले व्यग्रतापूर्वक सोध्‍नुभयो—“फेला परे त बाबू, पाहुनाहरू ? जिम्मा लगाइदियौ त तिनीहरूको नासो ?” हामीले सबै बेलिबिस्तार लगाएपछि बाबाको अनुहार पनि उज्यालो भयो सन्तोषको भाव सल्बलाएर र सहानुभूतिपूर्वक भन्नुभयो—“बिचराहरू !”

कुरा आयो, गयो, सिद्धियो।
त्यसै दिन एघार बजेतिर भातसात खाएर एक छिन आराम गरेपछि बाबालाई माल अड्डामा जानुपर्ने थियो खेतीको जग्गा किनेर रजिस्ट्रेसन पास गर्न। भर्खर पाँच–सात दिनअघि मात्र घरदेखि उत्तरतिर डेढ कोस जति टाढा बेलवाडीह श्रीपुर भत्रे ठाउँमा रहेको एक बिगाहा अब्बल धानखेत बेचिएको थियो आफैँले कमाएको। टाढा भएकाले आफूले हेरविचार गर्न गाह्रो भयो। त्यति रुपियाँले बजारको छेउछाउमा जग्गा अलि थोरै आउने भए पनि होस् बरु क्यै छैन तर अब घरनजिक नै किन्ने, कमाउन सजिलो त हुन्छ भनेर। र अब अर्को खेत हेरेर, मन पराएर मोलतोल पनि छिनिसकिएको थियो। जग्गाधनीका हातमा रुपियाँ राखिदिन र अड्डामा गएर रजिस्ट्रेसन पास गर्न मात्र बाँकी थियो र आजभोलिमै त्यो काम छिन्नु थियो। जग्गाधनीले ‘मलाई पैसाको निकै खाँचो परेको छ, जतिसक्तो चाँडो चाहिएको छ, त्यसैले आजै पास गरिहालौँ अहिल्यै पास गरिहालौँ’ भनेर घरमै आई हुट्हुटी लगाउन थालेकाले ‘हुन्छ त नि’ भनेर बाबा लुगासुगा लगाएर उनीसित अड्डा जान तयार भई भित्र रुपियाँ झिक्न जानुभयो। खेत बेचेर आएको रुपियाँ फेरि तुरुन्तै दुई–चार दिनमै खेतमै हाल्नु छँदै छ, त्यसैले दुई–चार दिनका लागि मात्र बैङ्कमा राख्‍ने र झिक्ने झन्झट व्यर्थै किन बेसाउनु ? भत्रे लागेर त्यो रुपियाँ उहाँले बैङ्कका साटो घरमै राख्‍नुभएको थियो। अनि घरमा रुपियाँ राख्‍ने ठाउँ भनेको उही उहाँ सुत्‍ने ओछ्यानमा डस्नाको तह वा दरी–राडीको चेप नै थियो। त्यसैले अब उहाँले राखेको ठाउँबाट सरक्क झिक्न ढुक्कसित ओछ्यान खोतल्दा कठै ! त्यहाँ त एकै रुपियाँ पनि थिएन, कहाँको एघार सय रुपियाँ फेला पर्नु !

अब मच्चियो खल्बली। घरभरिका जहानपरिवार मिलेर बाबाको खाटमा ओछ्याइएका भएभरिका डस्ना, दरी, राडी, तत्रा, सिरक र डस्ना–सिरकका खोल समेत एकेक गरी खोतलखातल पार्न थाल्यौँ। कतै खाटमुनि पो झरेको छ कि ? भित्ताको चेपतिर पो परेको छ कि ? भनेर मुटु ढुक्ढुकाउँदै सबैतिर हेऱ्यौं टर्चलाइट समेत बालीबाली तर अँहँ, कतै पनि हात लागेन। बन्दै फेला पर्दै परेन। बाबा रन्थनिनसम्म रन्थनिनुभयो। आमाको ओेठमुख सुक्यो। हामी केटाकेटीको अनुहार निन्याउरो भयो तर बाबाको ओछ्यानको पत्रमा राखेको त्यो रुपियाँको बिटो भने कसै गर्दा पनि फेला परेन। अँहँ, पर्दै परेन।

खोज्दा खोज्दा लखतरान भएर झोक्राएको बेला अचानक झल्याँस्स भयौँ सबै जना—‘एहे, हिजो राती यही ओछ्यानबाट त एकेक जोर दरी, राडी र डस्ना–सिरक बाबाले सरक्क झिकेर लगी तलको खाटमा पाहुनाहरूलाई सुत्‍ने व्यवस्था मिलाइदिनुभएको थियो र आज बिहान पाहुनाहरू बिदा भएपछि हामी दाजुभाइले त्यो ओछ्यान लगेर फेरि बाबाको ओछ्यानमा खप्टिदिन एकेक गरी झारझुर पार्दा हो त त्यसबाट भारु र नेरु गरी उही चानचुन एघार सय रुपियाँ नै त मझेरीमा झरेको थियो र त्यो रुपियाँ पाहुनाहरूकै ठानी बाबाको आज्ञाले हामी दाजुभाइले कुद्दै बसपार्कमा गएर उनीहरूलाई सुम्पिदिएका थियौँ। हरे शिव ! पाहुनाको भन्ठानेर धाएर गई गई आफैँले उनीहरूलाई जिम्मा लगाएको रुपियाँ त केको उनीहरूको हुनु आफ्नै एक बिगाहा खेत बेचेर पाइएको र अर्को खेत किन्नलाई साँचिएकै रुपियाँ पो रहेछ। ‘उनीहरू केको हुस्सू हुन्थे ! उनीहरूलाई हुस्सू ठानिरहेका हामी नै पो महाहुस्सू रहेछौँ, आफ्नै भएभरिको रुपियाँ पनि पटक्कै ख्याल नगरेर अर्काको ठानी धाईधाई गएर उनीहरूलाई दिइपठाउने’ भन्ने कुरामा अब घरका भएभरिका हामी सबैलाई कुनै किसिमको रती पनि शङ्का रहेन।

त्यो रुपियाँ पुऱ्याउन जाने हामी दाजुभाइलाई अब बल्ल पो छ्याङ्ङ भयो हामीले बिहान बसभित्र पसेर उनीहरूलाई रुपियाँ दिन लाग्दा उनीहरू एक छिन अकमक्क परेर टोलाएको र पछि बिस्तारै ‘अँ, हाम्रो रुपियाँ छुटेको रेछ हगि, लौ देऊ त’ भन्दै हाम्रो हातबाट त्यो लिनाको रहस्य। हामीले हुनसम्मका सोझा ठानेका हाम्रा अतिथिदेवता त हुनसम्मका चाम्रा र मुस्मुसे पो रहेछन्। त्यस्तरी अकमक्क परे, अन्तर्द्वन्द्वले टोलाए, एक छिन अन्कनाए तर ‘यो रुपियाँ हाम्रो होइन, हाम्रो रुपियाँ हराएकै छैन, बरु यो तिमीहरूकै पो होला, त्यस ओछ्यानमा पहिलेदेखि नै थियो होला’ भन्ने वाक्य तिनीहरूको मुखबाट झर्न सकेन हस्याङफस्याङ गर्दै फ्याङ्लो कट्टू र कमेजका भरमा नाङ्गा खुट्टाले दौडँदै आएका फुकिढले जीउका हामी दुई कलिला बच्चाहरूका सामु पनि। सट्टामा झऱ्यो के त भन्दा ‘अँ, हाम्रो रुपियाँ छुटेको रेछ हगि, लौ देऊ त’। यो थियो हाम्रा ती अतिथिदेवताहरूको देवत्व। लोभले बेस्मारी गाँज्यो, ऱ्याल कढायो र त्यसरी ठाडै नाङ्गिन कत्ति पनि धक र लाज–सङ्कोच मानेनन्। ढिलोचाँडो यथार्थ खुलेपछि बासधनीले हामीलाई के ठान्लान् भत्रे इज्जत–प्रतिष्ठाको ख्याल र डरलाई पनि सहजै जिते उनीहरूले। हाम्रो घरबाट चोरेर निचोरेर नलगेका भए पनि र हामीले आफैँ धाएर उनीहरूको पोल्टामा पारेका भए पनि कुरा त नियतको पो हो। हरे, नाङ्गा देवता ! बाङ्गा देवता ! बैगुनी देवता ! बेइमान देवता !
मान्छे नचिनेका परे पनि तिनको नियत चाहिँ हामीले राम्रैगरी चित्र पायौँ तर यतिन्जेलसम्ममा कहाँ कहाँ, कता कता पुगिसकेका ती परदेशीहरूलाई अब के गरी पछ्याउनु ? कसरी खोज्दै हिँड्नु ? र कहाँ, कता फेला पार्नु ? असम्भव कुराको पछि लागेर जानाजान किन आफूलाई झन् बढी दुःखी तुल्याउनु ? आजको जस्तो यातायात र सञ्चारको छ्यास्छ्यास्ती सुविधाको त कल्पनासम्म पनि अकल्पनीय रहेको त्यस जुगमा। त्यसैले चुक्चुकाउनुबाहेक अब अर्को केही उपाय नै थिएन। कठै !

आजभन्दा झन्डै पचास वर्षअघिको प्रसङ्ग हो यो। उति बेलाको एघार सय रुपियाँ आजको कति रुपियाँ बराबर होला ? तराईको एक बिगाहा अब्बल धान खेतको मूल्य आज कति होला ? सोच्ता मात्र पनि कहाली लाग्छ। त्यसैले भो, हिसाब नगरौँ। खेत गयो—रुपियाँ आयो। रुपियाँ गयो—खेत आएन। यस्तै भयो। त्यस घटनाबाट हाम्रो घरपरिवारको अवस्था कस्तो भयो होला ? अनि जान्ने बनेर आफैँले अघि सरी तिनीहरूलाई सडकबाट बोलाएर ल्याएर घरमा पाहुना तुल्याएको हुँदा अहिले आइलागेको विपत्तिको मूल कारणी आफूलाई नै ठानिरहेको म फुच्चेको मनोदशा त्यति बेला कस्तो भयो होला बाबाआमाले केही नभने पनि ? सहजै अनुमान गर्न सकिन्छ।

‘अतिथिदेवो भव’ भन्ने नीति वचन र सनातनी संस्कारको त जहिले पनि उच्च सम्मान गर्नै पर्छ तर अतिथि पनि थरी थरीका हुन्छन्। देवत्व नै नभएका अतिथिलाई त देवता कसरी मान्नु ! नत्र त देवताकै घनघोर अपमान हुन्छ नि ! होइन र ?

झन्डै साठी वर्ष पुरानो त्यस घटना–प्रसङ्गले मेरो मनमा यस्तै छाप छाडेको छ कहिल्यै नमेटिने गरी।
०००