एटीएमले डुबाउँछकी क्या हो ? - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

एटीएमले डुबाउँछकी क्या हो ?



भदौरे झरी ! झरिबिचको उकुसमुकुस गर्मी । व्यस्त बानेश्वर चोक । करिब मध्यान्ह दुई बजेतिरको समय । प्राय बानेश्वर चोकस्थित जेब्राक्रममा हुलका हुल मानिस बाटो काट्नका लागि जम्मा भइरहेका हुन्छन् । त्यही हुलमा थिए म पनि । सबैका गुन–गुन आवाज गुन्जिरहेका थिए । ती आवाज त्यसरी नै गुन्जिन दुई मिनेट ३२ सेकेन्ड अझै बाँकी थियो ट्राफिक लाइटको पोलको टाइमरमा । कसले के–के भनिरहेका थिए थाहा छैन । तर, मेरो छेवैको एकजनाले आफ्नो साथीसँग एक छिन एटीएममा पस्नु छ यार भन्यो ।

बानेश्वर चोकको जेब्राक्रस छेवैमा (दायाँपट्टी) छ एटीएम लाउन्ज । अर्कोको स्वर सुनियो हाम्रो देशमा त सबै चिज बर्बाद छ यार !

किन र फेरी के भयो ?
त्यो एटीएममा जाने काम छ भन्ने व्यक्तिको आवाज सुनियो ।

अर्कोले उत्तर दियो देखिनस् । देशका एटीएम पनि कति असुरक्षित छन् । दरबारमार्ग जस्तो सुरक्षित एरियामै ह्याकरले घन्टौँ लगाएर करोडौँ रुपैयाँ लुटपाट गर्न सक्छ । अनि हामीले दुःख गरेर बैङ्कमा राखेको हाम्रो रकम सुरक्षित छ कसरी सोच्नु ।

एकदम सही भनिस् यार । गाह्रो छ देशमा अर्को साथीको आवाज सुनिन्छ ।

यत्तिकैमा ट्राफिक पोलमा हरियो बत्ती बल्छ सबै जेब्राक्रस गर्छन् ।

मलाई भने तिनीहरूको कुराले नराम्रोसँग आफूतिर तानेको हुन्छ । हुन पनि हो । उनीहरूले भने झैँ हामी कतै सुरक्षित छैनौँ ।

मैले आउन पर्ने संसद भवनको पछाडी । तर, म उनीहरूको कुराले तानिएर आफ्नो गन्तव्य नै भुलेर पछि–पछि लागे छु । जब उनीहरू सोही विषयमै गफ गर्दै एटीएम लाउन्ज निर पुगे मत आफु जानुपर्ने ठाउँ छोडेर यता पो आएछु सोचे ।

उनीहरू पैसा झिक्न लाउन्ज भित्र पसे । मानिसहरू एटीएमले देशको सिस्टमको कुरा गरिरहेका थिए, म भने उनीहरू तिर टोलाएर एक छिन हेरिरहे । पैसा झिक्न पर्ने व्यक्तिले पर्सबाट एटीएम झिक्यो । सरासर आफ्नो खाता रहेको बैङ्कको एटीएम निर पुग्यो । एटीएम बन्द थियो ।

उनको खाता रहेछ प्रभु बैङ्कमा । प्रभुको एटीएम दुई बजेसम्म पनि चलेको थिएन । उनलाई जसरी पनि पैसा झिकेर घरमा श्रीमतीलाई बेलुकाको दरको सामान किन्न दिनु पर्ने बाध्यता रहेछ । जुन दुखेसो उनी आफ्नो साथीसँग पोखिरहेका थिए । उनलाई अर्को बैङ्कको एटीएम प्रयोग गरेर चार्ज नै तिरेर भए पनि पाँच हजार निकाल्नु रहेछ । पालै पालो त्यहाँ भएका थुप्रै एटीएम मेसिनमा उनले आफ्नो एटीएम कार्ड प्रयोग गर्न खोजे । तर, कतै काम भएन उनी मुरमुरिदै रित्तो हात फर्किन बाध्य भए ।

उनीहरू भन्दैथिए यो एटीएमको के काम भयो र ? जहिले नि दुःख । जुन सुकै कुराको पनि बलियो सुरक्षा व्यवस्था बनाउनु पर्छ नि । सबै ठाउँमा देशको हालत उस्तै भन्दै उनी दुःखी हुँदै आफ्नो बाटो लागे ।

म पनि त्यो सुनेर मन अमिलो बनाउँदै कोठा फर्किए । मलाई बाहिरको उकुस–मुकुसभन्दा उनीहरूको अवस्थाले बढी आक्रान्त बनायो । सोचेँ मान्छेले कति दुखले कमाएर बैंकमा पैसा राखेको हुन्छ । समस्या पर्दा जतिबेला पनि निकाल्न मिलोस भनेर लामो लाइनमा बसेर, टोकन काटेर, घन्टौं लगाएर जम्मा गरेको आफ्नै पैसा निकाल्न नपाउँदा बैंकहरूले गर्ने ठुला ठुला गफ, सेवा र सुरक्षाको ‘इमोसनल ब्ल्याकमेल’ माथिको ब्यापारको के अर्थ ?

यी बैङ्कहरू अफिस डेकोरेसनमा करोडौँ खर्च गर्छन् । उनीहरूको आफ्नै ठुलो खर्च छ, आकर्षक ब्याजदरसहितका अफर ठुला–ठुला होर्डिङ बोर्डमा पनि करोडौं खर्च हुन्छ । पत्रपत्रिका देखि अनलाइनसम्म करोडौंको बिज्ञापन हुन्छ, भेटै पिच्छे बैंकर्सहरूले सेवा र सुरक्षाको ठुलै फुई झारिरहेको पनि सुनिन्छ । यो सब वाहियात गफ मात्रै रहेछन् भन्ने कुरात यो घटनाले प्रमाणित गरिदिएको छ । बरु योभन्दा सुरक्षित त हाम्रा हजुरबाले धन्सारमै राखेको पैसा हुँदो हो ।

त्यो उकुस मुकुसबाट सान्त्वना पाउन मलाई निकै गाह्रो भयो । के गरौँ के लेखौँ भयो । केही लेख्नै पर्छ भन्ने सोचेर कम्प्युटर खोले । एउटा न्युज पोर्टल खोलेर हेर्दा मेन हेडिङ थियो एटीएमबाट करोडौँ डकैती गर्ने पाँच चिनियाँ नागरिक पक्राउ शीर्षकमा ।

घटना शनिवार मध्य रातिको हो । दरबार मार्गस्थित नविल बैङ्कको एटीएमबाट पाँच जनाको समूहमा रहेका चिनियाँ नागरिकले करोडौँ डकैती गरेर फरार हुने योजना बनाएका रहेछन् । जुन रहस्य उनीहरू पक्राउ गरेर अनुसन्धान गर्दा खुल्यो ।

यस्तो छ घटनाको प्रवृत्ति

विभिन्न बैङ्कको एटीएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको छ। काठमाडौँ प्रहरी परिसर टेकुको टोलीले आइतबार दरबारमार्गस्थित नबिल बैङ्कको एटीएममा पैसा निकालिरहेको अवस्थामा चिनियाँ नागरिक चु ल्याङयाङलाई पक्राउ गरेपछि ह्याकरको गिरोह फेला परेको हो।

प्रहरीले राजधानीका विभिन्न ठाउँबाट करिब दुई करोड रुपैयाँसहित पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार उनीहरूको साथबाट १३२ थान नक्कली एटीएम बरामद गरिएको छ।

प्रहरीले चिनियाँ नागरिक लो च्याल, चु ल्याङया, छिल यूनछिङ, छन् पिङपिलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट सक्कली एटीएम १७, कार्ड प्रिन्टर मेसिन १ थान, मोबाइल ६ थान, ल्यापटप १ थान र सामसुङ मोबाइल १ थान बरामद गरेको छ।

बैङ्किङ सुरक्षामा गम्भीर प्रश्नचिन्ह

यो प्रकरणले मुलुकको बैङ्किङ प्रणालीमाथि विदेशी ह्याकरको सहज पुहँचलाई देखाएको साइबर विज्ञको टिप्पणी छ । घटनाले नेपाली बैङ्कको सुरक्षा प्रणालीमाथि मात्रै प्रश्न उठाएको मात्र छैन, सेवाग्राहीको विवरण र तथ्यलाई सुरक्षित गर्ने विषयमा नेपाली बैङ्कको उदासीनतालाई पनि छर्लङ्ग पारिदिएको छ ।

साइबर सुरक्षाविद्का अनुसार, साइबर सेक्युरिटीको विषयमा बैङ्कले एकदमै बेवास्ता गरेको देखिएको छ, जसलाई शनिवारको घटनाले पनि पुष्ट्याइँ गरेको छ । अब बैङ्कले सुरक्षा प्रणालीलाई कसरी सुरक्षित बनाउने भनेर सतर्क हुनुपर्ने अवस्था आएको समेत बताइएको छ ।

अनुसन्धान अधिकृतका अनुसार एटीएमबाट अनाधिकृतरुपमा रकम निकाल्ने कार्यमा हालसम्म दुईवटा शैली प्रयोग हुने गरेको देखिएका थिए ।

घटनाको नयाँ शैली

एटीएम बुथमा चाल नपाउने गरी क्यामरा वा मेसिन जडान गरेर कार्ड घुसाउने बित्तिकै गोप्य डाटा र पिनकोड उक्त मेसिनमा तानिन्थ्यो ।

यो बाहेक प्रविधिमा दख्खल राख्ने व्यक्तिले कुनै वेबसाइटमार्फत विदेशी एटीएम प्रयोगकर्ताको डाटा खरिद गरेर रकम चोरी गर्ने गरेको भेटिएको थियो । प्रहरीले यो शैलीको प्रयोगबाट रकम निकाल्ने गिरोहलाई अघिल्लो वर्ष २४ भदौमा सार्वजनिक गरेको थियो ।

तर, शनिवारको डकैतीमा संलग्न चिनियाँहरूले न त मेसिनको प्रयोग गरे, न एटीएमको डाटा नै खरिद गरेका थिए । यो गिरोहले नेपालको बैङ्किङ प्रणालीमै घुसेर लाखौँ निकाल्ने प्रयोग गरेको देखिएको छ ।

यसले नेपालको बैङ्किङ सुरक्षामा गम्भीर प्रश्नचिन्ह खडा गरेको छ । बैङ्कहरूले सबैभन्दा बढी गफ गर्ने बिषयनै उदाङ्गो भएको छ । सर्वसाधारणले बैङ्कप्रतिको विश्वास नै गुमाउनेगरी घट्ने यस्ता घटनाले एउटा बैङ्कको मात्र होइन बैंकिंग क्षेत्रको विश्वास गुम्ने खतरा हुन्छ ।