अब एटीएम कार्डबाट पैसा निकाल्दा शुल्क लाग्ने - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

अब एटीएम कार्डबाट पैसा निकाल्दा शुल्क लाग्ने



काठमाडौं- अब एटीएम कार्डबाट पैसा निकाल्दा पैसा शुल्क भएको छ । यसअघि महामारीका कारण नि:शुल्क गरिएको सेवा अब भने शुल्क लाग्ने बनाइएको हो ।

राष्ट्र ब्यांकले बिहीबार परिपत्र जारी गर्दै एउटा ब्यांकको एटीएम कार्डले अर्को ब्यांकबाट रकम निकाल्दा अब शुल्क लाग्ने बताएको छ । यसअघि नि:शुल्क रहेको यस्तो कारोबारमा ब्यांक तथा वित्तीय संस्थाले शुल्क लगाउनसक्ने बाटो खोलिदिएको हो।

गत चैतमा कोरोना भाइरसको महामारी रोक्न बन्दाबन्दी शुरू भएसँगै राष्ट्र ब्यांकले जुनसुकै ब्यांकको एटीएममार्फत् रकम निकाल्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरेको थियो।

ब्यांक तथा वित्तीय संस्थाले यो व्यवस्थाका कारण उनीहरूको खर्च बढाएको भनी राष्ट्र ब्यांकको निर्णय सच्याउनुपर्ने बताउँदै आएका थिए। अब एउटा ब्यांकको कार्ड प्रयोग गरेर अर्को ब्यांकको एटीएममार्फत् रकम निकाल्दा प्रति कारोबार अधिकतम रू. २० सम्म शुल्क तिर्नुपर्नेछ।

यद्यपि, यो सीमासम्ममा कति शुल्क लिने भन्ने निर्णय ब्यांक आफैंले गर्नेछन्। १ माघदेखि यस्तो व्यवस्था लागू हुनेछ। राष्ट्र ब्यांकले प्रत्येक महीना कम्तीमा दुई वटा यस्तो कारोबारलाई भने नि:शुल्क बनाउन ब्यांक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरेको छ।

राष्ट्र ब्यांकको निर्देशनमा ब्यांक तथा वित्तीय संस्थाले सम्बन्धित ग्राहकको अनुमति लिएर मात्रै इन्टरनेट ब्यांकिङ, मोबाइल ब्यांकिङ, एसएमएस ब्यांकिङजस्ता सेवाको शुल्क लिन पनि ब्यांक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।