आत्महत्या गरेको मृतकले नर्कलोकबाट पठाएको पत्र « Himal Post | Online News Revolution
Logo

आत्महत्या गरेको मृतकले नर्कलोकबाट पठाएको पत्र



– रवीन्द्र समीर

प्रिय आफन्तजन,

त्यो बेला म चारैतिरबाट समस्याले घेरिएको र ती समस्याबाट बाहिर निस्किने छिद्र नदेखेको हुँदा मैले आत्महत्याको गलत बाटो रोजेकोमा अहिले मलाइ ठूलो पछुतो भएको छ । मेरी आमाले ९ महिना पेटमा राखेर तथा आफु भोकै बसेर भएपनि मलाइ दशधारा दुध पिलाएर हुर्काएको तथ्य मेरो आँखा अगाडि चित्रवत घुमिरहेको छ । मेरा पिताले मेरै लागि रातदिन दुख झेलेर आफ्नो जीवन मेरो खुसीमा समाहित गर्नुभएको तथ्य पनि मलाइ झल्झली सम्झना आइरहेको छ ।

आफ्नो जीवनलाई भन्दा धेरै माया गर्ने मेरी प्राणप्यारी पत्नीलाई बिधवा बनाएको तथा हरेक पाइलामा मेरो हत्केला चाहिने मुटुका टुक्राजस्ता छोराछोरीलाई टुहुरा बनाएको पापले गर्दा मैले अग्निबर्षा सहिरहेको छु । ती बुढा मातापिता छाती पिटीपिटी रुँदै बेहोस भएको दृश्य तथा सम्पूर्ण आफन्त / शुभचिन्तकका आँखामा बगेको अविरल आँशु महशुष गर्दा मलाइ लागेको छ, म जस्तो पापी / अपराधी तथा परपीडक निलो आकासमुनी कोहि पनि छैन ।

मेरो आत्महत्यालाई लिएर गाउँमा, सहरमा तथा बिदेशमा चलेको हल्ला सुनेर म स्तब्ध छु । आत्महत्या गर्दा सम्पूर्ण मापदण्ड पुरा गरेर वा नगरेर कोहि पनि मर्दैन । मृतकले बयान दिने अवसर नहुने भएकोले ती हल्लाको बारे स्पष्ट पार्न मलाइ अवसर मिलेन । त्यसो त सुसाइड नोटमा मैले आत्महत्या गर्दैछु भनेर लेखेकै थिएँ । नकारात्मक दिशामा अघिं बढिरहेको समाजमा हरेक घटनामा शंका गर्ने प्रवृतिबाट मेरो निधन पनि अछुतो रहेन ।

‘यसले जमिनमा खुट्टा टेकेको छ । यसरी पनि आत्महत्या हुन्छ ? उसलाई मारेर झुण्डाइएको हो ।’ म मरेको यो तरिका कसैले पनि विश्वास गरेन । मलाइ समेत यस्तो आत्महत्यामा बिश्वास लाग्दैनथ्यो । मृत्यु हुनको लागि तुर्लुंग झुण्डिनु पर्दो रहेनछ । घांटीमा डोरीले क्यारोटिड आर्टेरीलाई ५ किलोको प्रेसर भएमा, जुगुलर भेनलाई २ किलोको प्रेसर भएमा र श्वास नलीलाई १५ किलो भन्दा बढीको प्रेसर भएमा मान्छेको मृत्यु हुन्छ । झुन्डिएको १३ सेकेन्डमा मान्छे बेहोस हुन्छ, १ मिनेट ३८ सेकेन्डमा मांशपेशीको लचकता गुम्छ, ४ मिनेट १० सेकेन्डमा मांशपेशी चल्न बन्द हुन्छ । तसर्थ घांटीमा डोरी बाँधेर सानो झड्का दिएपनि मृत्यु हुन्छ । एक झड्का दिएपछि उभिएपनि, बसेपनि, सोफा वा खाटमा टेकेपनि, छोंटो डोरीले बसीबसी झड्का दिएपनि मान्छेको मृत्यु हुन्छ । घांटीमा भएका रक्तनली, श्वास नली, स्वर नली, हड्डी, रुद्र घन्टी, घांटीको स्पाइन आदि भाँचिएर वा मष्तिस्कमा अक्सिजन पुग्ने प्रक्रिया रोकिएर आत्महत्या गर्नेको मृत्यु हुन्छ । पोस्टमार्टम गर्दा आफै झुण्डिएको वा कसैले मारेर झुण्डाएको भन्ने कुरा घांटीमा डोरीको अवस्थिति, घांटीमा अवस्थित मांशपेशीको घाउको प्रकृति, संघर्षका लक्षण आदिबाट सजिलै थाहा हुन्छ ।

प्रहरीको मुचुल्का र आफन्तहरुको बिलापबाट निकालेर मलाई पोस्टमार्टम गर्न अस्पताल पुर्याए । मुर्दाघरभित्रको दुर्गन्धमा मलाइ एउटा कुनो दिए ।पोस्टमार्टम गर्ने डाक्टर कुर्दा कुर्दा म हैरान भएँ । डाक्टर आएपछि मलाइ टेबलमा सुताइयो । अर्को टेबुलमा युवतीलाई सुताइएको थियो । उनले बिष खाएर प्राणलिला समाप्त गरेकी थिइन । मुर्दा घरमा काम गर्नेले मलाइ शतप्रतिशत नाङ्गो बनाए । अर्को टेबुलकी युवतीलाई पनि पुरै नाङ्गो बनाए । हाम्रा अंगप्रत्यंगहरु आँखाले नियाले, मेसिनले नियाले, चक्कुले काटेर नियाले । लाजले म पानीपानी भएँ । पोस्टमार्टम गर्दा सर्वांग नाङ्गो हुनुपर्ने थाहा भएको भए मैले आत्महत्या गर्ने थिईन । हातमा हतियार लिएका डाक्टरका सहयोगीले मेरो टाउको फोडे अनि गिदिलाई चपिंग बोर्डमा राखेर सयौं चाना बनाए । आँखा हेरे, नाक/कान/मुख हेरे । घाँटीको वरिपरिको छाला काढे । छातीको बीचको टाइजस्तो हड्डीलाई भाँचेर फोक्सो निकाले, छुराले करंग काटेर मुटु निकाले, कलेजोको टुक्रा निकाले, आमाशयको झोल निकाले । गोप्य अंगलाई काटेर हेरे … सबै कामको फोटो खिचे अनि बोरो सिलाए झैँ सिलाएर फ्रिजमा राखे ।

त्यसपछि मलाइ शब बाहनमा राखेर घाटमा पुर्याए । बुवा, आमा तथा पत्नी बेहोश भएको कारुणिक दृश्यले मलाइ निकै अपराध बोध भयो । रुँदारुँदा छोराछोरीका आँखा सुन्निएका थिए | उफ ! मैले किन यस्तो पाप गरें ? आफन्तहरु पनि आँखाभरी आँशु भरेर बिलौना गर्दै थिए । कसैले कलिलैमा गयो बिचरा भनेर सान्त्वना दिंदै थिए भने बाँकीले मलाई सरापिरहेका थिए – ‘ हेर ! यो पापीको कुबुद्धिले गर्दा यस्तो राम्रो परिवारमा डढेलो लाग्यो । यो जुनीमा यो परिवारको मुखबाट मुस्कान हरायो ।आँशु पिएर बाँच्न बाध्य बनायो, कुपुतले । कलिली श्रीमती, दुधे छोराछोरीको माया नलाग्ने कस्तो राक्षस रहेछ, त्यो ?….मैले अक्षम्य अपराध गरेपनि, सबैभन्दा ठूलो पाप गरेपनि, परिवारजनलाई ज्युदैं मारेपनि उनीहरुले मेरो अन्तिम संस्कार विधिपूर्वक गरे । ओंठ निचोर्दा दुध आउने छोरा किरिया बस्यो, छोरी आमासंगे कुनामा बसी । रातदिन रुँदा पनि उनीहरुको आँशु कहिल्यै थामिएन । १३ दिनको कहालीलाग्दो किरियाकर्म देख्दा म लाख पटक मरेतुल्य भएँ ।

आत्महत्या गरेको मान्छे सिधै नर्कमा जाँदो रहेछ । हत्यारा, बलात्कारी र आत्महत्याराको एकै स्तर हुँदोरहेछ । रवीन्द्र समीरको मृत्युको आयु नामक उपन्यासमा लेखेजस्तै मैले यस्तो भोगिरहेको छु “यमदूतले बारम्बार फलामको लाठो, तोमर, मुसल र गदाले कुट्छन्… म जस्ता पापी मूच्र्छित हुन्छ, अनेक यातना दिँदै शिरमा अग्निज्वाला गिराउँछन् । शरीर टुक्रा पारेर कुकुरलाई खान दिन्छन् । मुख बाएर रूँदा मुखमा मैलो तथा धूलो राखिदिन्छन् । पापीलाई आराले काठ चिरेझैं चिर्छन्, उखु पेलेझैं पेल्छन् । बलेको अग्निमा जलाउँछन्, कसैलाई हातखुट्टा बाँधी भकभक उम्लेको तेलमा डुबाउँछन् । कसैलाई इनारभित्र गिराउँछन्, कसैलाई पहाडबाट गिराउँछन् । कसैका आँखालाई गिद्धले निकाल्छन्, कसैको मासु काटेर टुक्राटुक्रा बनाई दंशकादिलाई दिन्छन् ।”… कुरै नगरौं, त्यो नर्कको । मेरो ८४ जुनी यसै गरि बित्ने भयो । पृथ्वीलाई मैले क्रुरतापूर्वक छोडेकोले त्यहाँ मेरो पुनर्जन्म असम्भब भयो ।

प्रिय छोराछोरी ! तिमीहरुलाई औंला देखाउदै मान्छेले भन्ने छन् – यसको बाउ त झुन्डेर आत्महत्या गरेको हो नि !

प्रिय श्रीमती ! तिमीलाई देखेर मान्छेहरुले भन्ने छन् – यो त पोइटोकुवी हो । यसलाई देखे अलच्छिन पर्छ ।

मलाइ ठूलो डर छ, समस्या परेको बेला छोराछोरीले कतै मेरो बाटोको अनुसरण गर्ने त होइनन ? थुक्क म ! मैले उनीहरुलाई लड्न हैन, मर्न सिकाएँ । म जस्तो बाबुको सन्तान हुनु उनीहरुको लागि महँगो अभिशाप भयो । नदीको भेलमा लगेर छोडिदिने म जस्तो पापीसंग बिहे गरेर तिमीले आजीवन दुख पायौ प्रिय !

उपदेश दिने, सल्लाह दिने तथा बाटो देखाउने मलाइ कुनै अधिकार छैन | त्यहि पनि मलाइ बर्बराउने मन लाग्छ – कृपया कसैले पनि आत्महत्या जस्तो कायर काम नगर्नुहोला । डिप्रेसनले थिलोथिलो गर्यो भने उपचार गर्नुहोस, मनमा आत्महत्या गर्ने बिचार आयो भने परिवारजन, आफन्त, साथीहरु तथा चिकित्सकसंग समस्या बताउनुहोस, जीवनमा आउने समस्यासंग जुध्नुहोस, नखाएको बिष लागेपनि बरु जेलमा बस्नुहोस, फेल भए अर्को बर्ष मेहेनत गर्नुहोस, प्रेममा धोका खाए अर्कोसँग प्रेम गर्नुहोस्, मुख देखाउन लायक काम नगरे लुकेर बस्नुहोस, .. लाखौँ अपमान र तिरस्कारबिरुद्ध सके लडनुहोस, नसके निरिह भएर बांच्नुहोस । तर, यो एकबारको जुनीमा हरेक सेकेन्डलाई माया गर्नुहोस, एक पल किन नहोस् यो संसारमा रहनको लागि जिजीविषा पाल्नुहोस । जीवन भनेको शृष्टिको सबैभन्दा सुन्दर उपहार हो । यो उपहारलाई जसले माया गर्यो, स्वर्गको हकदार उही नै हो, म जस्ता कायर त नर्कका हकदार पनि हुँदैनन् ।

मृत्जीयुपछि मलाइ थाहा भयो कि जीवन सरल, सामान्य र सन्तोषयुक्त बिताउनुपर्दो रहेछ ।सामान्य जीवन बिताउने व्यक्ति सबैभन्दा सुखी हुन्छन् । एउटा घर भए अर्को घर किन चाहियो ? एउटा जीवनसाथी भए अरुसंग इतर सम्बन्ध किन राख्नुपर्यो ? गुजारा चल्ने कमाई छ भने धेरै धनको लोभ किन गर्नुपर्यो ? यो जीवनमा त्यस्तो दुख कहाँ छ र ? जस्तो हामीले सोंचेका छौं । जीवन बिताउन त्यति कठिन कहाँ छ र ? जीवन बिकल्पै बिकल्पको सागर हो । यो नभए त्यो हुन्छ, यसो नभए त्यसो हुन्छ । तर आवेशमा आएर आत्महत्या गर्नुभयो भने बिकल्पका सबै मुहान सुक्नेछन्, पुस्तौंसम्म तपाइको बदनामी हुनेछ ।

एकपटक रवीन्द्र समीरले लेखेको मृत्युको आयु पढ्नुहोला त ! मृत्युपछिको तनाब कति गह्रौं हुँदोरहेछ । मृत्युको आयु ( उपन्यास ) मा उल्लेखित जीवन दर्शन र मृत्यु दर्शन पढ्नुभयो भने पक्कै पनि तपाइंले जीवनको माया गर्नुहुनेछ ।

अन्त्यमा मेरो कुबुद्द्धिको कारण सबैलाई चोट पर्न गएकोमा क्षमाप्रार्थी छु । म क्षमा दिन लायक नभए पनि दैवको लिला सम्झेर चित्त बुझाउनुहोला ।

उही आफुलाई मार्ने एक अपराधी
तातो तेलको कराई , नर्कलोक ।