अस्ट्रेलियाले बन्द गर्‍यो अन्तर्राष्ट्रिय सीमा, विदेशी विद्यार्थी जान नपाउने - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

अस्ट्रेलियाले बन्द गर्‍यो अन्तर्राष्ट्रिय सीमा, विदेशी विद्यार्थी जान नपाउने



अस्ट्रेलिया — अस्ट्रेलिया सरकारले यही बुधबारदेखि अन्तर्राष्ट्रिय सिमाना खुला गर्ने निर्णय तत्कालका लागि रद्द गरेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको कारण अस्ट्रेलियाले दुई साता सीमानाका बन्द गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री स्कट मरिसनले केहीदिनअघि यही बुधबारदेखि विदेशी विद्यार्थीसहित दक्ष कामदारलाई अस्ट्रेलिया भित्र्न दिने निर्णय गरेका थिए ।

सरकारले अफ्रिकी मुलकबाट भित्रिएको ओमिक्रोन भाइरसका बारेमा थप जानकारी लिनका लागि यो निर्णय लिइएको जनाएको छ । सरकारको यो निर्णयसँगै यही बुधबारदेखि अस्ट्रेलिया आउनका लागि तयारी अवस्थामा बसेका सयौं नेपाली विद्यार्थी समेत प्रत्यक्ष प्रभावित बनेका छन् । डिसेम्बर १ तारिखदेखि सीमा खोल्ने निर्णय भएसँगै टिकट काटेर बसेका विद्यार्थीले अहिलेको सरकारको निर्णय अनुसार कम्तिमा पनि डिसेम्बर १५ तारिखसम्म अस्ट्रेलिया प्रवेश पाउने छैनन् ।

सरकारको यो निर्णय अन्तर्राष्ट्रिय विद्यार्थीलगायतका विदेशी नागरिकलाई लागू भएपनि अस्ट्रेलियाली नागरिक, स्थायी बासिन्दा, उनीहरुका नजिकका नातेदार लगायतलाई भने लागू नहुने समाचारमा जनाइएको छ ।

अस्ट्रेलियाले आफ्नो योग्य जनसंख्याको ८५ प्रतिशतभन्दा धेरैले दोहोरो खोप लगाएपछि बुधबारदेखि विभिन्न २८ किसिमका अस्ट्रेलियाली भिसा भएका र मान्यता प्राप्त दोस्रो खोप लगाइसकेका विदेशीलाई अस्ट्रेलिया आउन दिने निर्णय गरेको थियो । जसमा विद्यार्थीका साथै दक्ष कामदार, शरणार्थी, वर्किङ होलिडे लगायतका थिए । तर, सोमबार बसेको राष्ट्रिय सुरक्षा कमिटीको बैठकले यो निर्णयलाई तत्कालका लागि रोक्ने निर्णय गरेको हो । यस समयभित्रमा नयाँ भाइरस ओमिक्रोनका बारेमा जानकारी लिनुका साथै खोपको प्रभावकारीता, यस भाइरबाट हुनसक्ने प्रभाव र संक्रमणको दर लगायतका बारेमा अध्ययन गरिने उल्लेख गरिएको छ ।