बल्लबल्ल खुलेको अष्ट्रेलिया प्रवेशमा फेरि कडाइ - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बल्लबल्ल खुलेको अष्ट्रेलिया प्रवेशमा फेरि कडाइ



लण्डन/क्यानबेरा। बेलायतले कोरोना भाइरसको नयाँ संस्करण पत्ता लागेको समाचार सार्वजनिक भएसँगै विभिन्न ६ मुलुकसँगको हवाइ सेवा बन्द गरेको छ।

शुक्रवार मध्याह्न १२ बजेदेखि ती देशहरूलाई खतरापूर्ण मुलुकको सूचीमा राखेर आवतजावत बन्द गर्ने निर्णय गरिएको बेलायतका स्वास्थ्यमन्त्री शाजिद जावेदले जानकारी दिएका छन्।

ओमिक्रोन नाम दिइएको नयाँ संस्करणको कोरोना भाइरस भेटिएको पुष्टि भएपछि खतरा रहेका देशहरूबाट हुने उडान प्रतिबन्ध लगाइएको हो। नयाँ भाइरस आफ्नो देशमा नभित्रियोस् भन्ने उद्देश्यले बेलायतले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो र इस्वाटीटीसँगका सबै उडानहरू स्थगित गरेको हो।

अधिकारीहरूका अनुसार अहिलेसम्म नयाँ ओम्रिक्रोन भाइरस दक्षिण अफ्रिका, हङकङ र बोत्स्वाना गरी तीन देशमा कुल ५९ जनामा पुष्टि भएको छ।

अहिलेसम्म पुष्टि भएका मध्ये सबैभन्दा खतरापूर्ण भाइरस भएकाले र अहिले खोपले पनि काम गर्न नसक्ने भएकाले बेलैमा उच्च सतर्कता अपनाउनु परेको अधिकारीहरूको भनाइ छ।

त्यसैगरी पछिल्लो १० दिनभित्र ती देशमा गएर फर्किएका यात्रुलाई पनि बेलायत प्रवेशमा रोक लगाइएको छ।

तर बेलायती नागरिकलाई भने उच्च सतर्कताका साथ परीक्षण गराएर क्वारेन्टिनमा राखेर गन्तव्यमा जान पाउने व्यवस्था गरिएको छ।

अष्ट्रेलिया प्रवेशमा फेरि कडाइ
यस्तै अष्ट्रेलियाले पनि दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ संस्करण भित्रिन नदिनका लागि नाकाबन्दी गर्न सक्ने जनाएको छ।

अष्ट्रेलियाका स्वास्थ्यमन्त्री जर्ज हन्टले नयाँ संस्करणको कोरोना भाइरसको बारेमा अध्ययन भइरहेको र विज्ञ तथा सरोकारवालाहरूको सुझावका आधारमा सिमानामा आवात जावतका बारेमा निर्णय गरिने बताए।

“सरकारले सीमा क्षेत्रमा प्रतिवन्धात्मक केही नयाँ व्यवस्था गर्न सक्छ, यस बारेमा अध्ययन र छलफल भइरहेको छ,” उनले भने।

पत्रकारहरूसँगको अन्तरक्रियाका क्रममा उनले नौ दक्षिण अफ्रिकी मुलुकहरूबाट अष्ट्रेलियामा हुने सबै उडान पनि बन्द गर्ने संभावना पनि रहेको बताए।

उनका अनुसार सरकारले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोट्सवाना, मालावी, मोजाम्बिकलगायतका देशहरूबाट अष्ट्रेलिया आउने उडान रद्द गर्ने संभावना रहेको छ।

तत्कालका लागि भने ती देशबाट आउनेहरूलाई उच्च सतर्कताका साथ जाँच गर्न र कुनै संक्रमण र खतरा छैन भन्ने सुनिश्चिता गर्न निर्देशन दिइसकिएको पनि उनले बताउनुभयो।

त्यसैगरी अष्ट्रेलियाको नागरिक नभएको, अष्ट्रेलिया निवासी नभएको, आश्रितहरू अष्ट्रेलियामा नभएको लगायतलाई अष्ट्रेलिया प्रवेशमा रोक लगाइसकिएको पनि स्वास्थ्य मन्त्री हन्टले जानकारी दिए।

तर अष्ट्रेलियाको नागरिक भएको, अष्ट्रेलिया निवासी भएको, आश्रितहरू अष्ट्रेलियामा भएको लगायतलाई भने अष्ट्रेलिया प्रवेश गर्न दिइएपनि कम्तीमा १४ दिन क्वारेन्टिन अनिवार्य रुपमा बस्नु पर्ने व्यवस्था गरिएको छ।

स्वास्थ्यमन्त्री हन्टले अहिलेसम्म अष्ट्रेलियामा कोरोना भाइरसको नयाँ संस्करण ओमिक्रोन नभेटिएको दाबी गरेका छन्।

तर पुरानै संस्करणको कोरोना भाइरसको संक्रमण भने अझै पनि फैलिरहेको छ। पछिल्लो २४ घण्टामा अष्ट्रेलियामा एक हजार ४०० भन्दा बढी मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।