अष्ट्रेलिया सरकारले कोरोनाका कारण नेपाली विद्यार्थीलाई दियो थप सुबिधा - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

अष्ट्रेलिया सरकारले कोरोनाका कारण नेपाली विद्यार्थीलाई दियो थप सुबिधा



काठमाडौं- कोरोना भाइरस सङ्क्रमणका कारण अष्ट्रेलिया सरकारले नेपाली लगायत विदेशी विद्यार्थीहरूलाई थप सुबिधा दिने भएको छ।

सरकारले दैनिक उपभोग्य सामानको किनमेललाई सहज गर्न अष्ट्रेलिया सरकारले सुपर मार्केटमा कार्यरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई थप घण्टा काम गर्न पाउने सुविधा दिएको हो।

त्यहाँका मन्त्री एलन टजले आम जनताको सुविधालाई हेरेर कर्मचारीहरूको कमी हुन नदिन विद्यार्थीहरूले पनि थप घण्टा काम गर्न पाउने व्यवस्था ल्याइएको बताएका छन्।

अन्तर्राष्ट्रिय विद्यार्थीहरूले हप्तामा २० घण्टा मात्र काम गर्न पाउने व्यवस्था हुने गरेकोमा अब त्यो केही समयका लागि बढाइने निर्णय गरिएको हो।

‘देशभरका सुपर मार्केटहरू अत्यावश्यक सामग्रीहरू भरिपूर्ण राख्न सङ्घर्ष गरिरहेका छन्, यस्तो अवस्थालाई ध्यानमा राखेर हामीले यो निर्णय गरेको हो’ मन्त्री टजले भने।

यस्ता मागहरू पुरा गर्नका लागि सुपर मार्केटले तत्काल कार्यरत आफ्ना कर्मचारीहरूलाई थप काम दिन जरुरी छ।

यो व्यवस्था वूलवर्थ, कोल्स लगायतका प्रमुख सुपर मार्केटको हकमा मात्र लागू हुनेछ, अतिरिक्त घण्टा काम गर्न पाउने कर्मचारीहरू पहिलेदेखि नै सोही स्थानमा कार्यरत हुनुपर्ने प्रावधान तोकिएको छ।

तर अन्य सुपर मार्केटहरूले पनि यस्तो व्यवस्थाले आफूलाई सहयोग हुने भए विभागमा सम्पर्क गर्न सक्ने कुरा मन्त्री टजले सुनाए। तर यो व्यवस्था केही समयका लागि मात्र लागू हुने मन्त्री टजको भनाइ छ।