अन्तर्राष्ट्रिय बिद्यार्थी भित्र्याउने अस्ट्रेलियाको तयारी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

अन्तर्राष्ट्रिय बिद्यार्थी भित्र्याउने अस्ट्रेलियाको तयारी



एजेन्सी- अष्ट्रेलियाले अब अन्तर्राष्ट्रिय बिद्यार्थीहरू लैजाने तयारी गरेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट माेरिसनले राज्य सरकारहरूसँग मिलेर उक्त तयारी गरेको बताइएको छ ।

सुरुवातमा यो योजना उच्च शिक्षा अध्ययनका लागि बिद्यार्थी भित्र्याउने परीक्षणका योजनाका रुपमा अगाडि बढाइने प्रधानमन्त्री माेरिसनले बताएका छन्।

हाल कोरोना र लकडाउनका कारण तेस्रो ठूलो आम्दानीको स्रोत रहेको शैक्षिक उद्योग तहस नहस हुन लागेका कारण सरकारले क्रमिक रुपमा विविध तरिकाले अन्तर्राष्ट्रिय बिद्यार्थीलाई भित्र्याउने तयारी गरेको हो।

राज्य सरकारले विभिन्न शैक्षिक निकायसँग मिलेर योजना बनाउँदै अर्को महिना केही अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई ल्याउने जमर्को गरेको छ।

 प्रधानमन्त्री मोरिसनले अन्तर राज्य आगमन खुला हुँदै गएकोले वाह्य विद्यार्थी भित्र्याउने योजनाका लागि पहल थाल्नुपर्ने बताए।

‘अन्तर राज्यबीच नै सीमाना खुला नभएको सन्दर्भमा कोही आउन सक्दैन त्यसैले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि खुल्ला गर्न चाहनुहुन्छ भने सर्वप्रथम अष्ट्रेलियाका सीमा खुल्ला गरिनु पर्छ’ मोरिसनले भने।

अष्ट्रेलियाका विश्वविद्यालयले भने कोभिड १९ का कारण आगामी ४ वर्षसम्ममा १६ अर्व डलर बराबरको आम्दानी जोखिममा रहने भन्दै सरकारलाई सचेत गराएका छन्।

अन्तर्राष्ट्रिय शिक्षा संघ अष्ट्रेलियाका प्रमुख कार्यकारी फिल हनीवूडले सरकारको यो घोषणालाई स्वागत गर्दै कार्यान्वयनका लागि सबै राज्य सरकारको साथ र सहयोग आवश्यक रहने बताए।

यसका लागि दक्षिण अष्ट्रेलियाले जुलाई २० सम्ममा आफ्नो राज्यको सीमा खुल्ला गरिने बताएको छ भने न्यु साउथ वेल्स, भिक्टोरिया र एटीमा भने अहिले कुनै पनि किसिमको अन्तर-राज्य यात्रामाथि प्रतिबन्ध लगाइएको छैन।

क्विन्सल्याण्डले आफ्नो सीमा जुलाई १० देखि खुल्ला गर्ने योजना बनाएको छ भने तास्मानियाले पनि जुलाईको पहिलो हप्तादेखि नै प्रतिबन्धहरू खुल्ला गर्ने बताएको छ। विध्यार्थीलाई ल्याइँदै गर्दा आवश्यक क्वारेन्टाइनको व्यवस्था पनि गरिने सरकारले जनाएको छ।

कोरोनाबाट सहज बन्दै गए पनि अष्ट्रेलियाले आफ्नो खुलापनलाई क्रमिक रुपमा बढाएको छ।

जुलाईको पहिलो हप्तादेखि ४० हजारसम्म क्षमता भएका खेलकुद रंगशालाहरूमा १० हजारसम्म मानिस उपस्थित हुन पाउने व्यवस्था गरिएको छ।

त्यस्ता स्थानहरूले आवश्यक सामाजिक दुरी भने कायम राख्नु पर्नेछ। सांस्कृतिक हल तथा अन्य कार्यक्रमका लागि भने डेढ मिटरको दुरी कायम गरी आवश्यक संख्यामा राख्न सकिने नीति अपनाइएको छ।