यी हुन् अस्ट्रेलियामा हजारौँ डलर ठगी गर्ने दुई नेपाली - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

यी हुन् अस्ट्रेलियामा हजारौँ डलर ठगी गर्ने दुई नेपाली



काठमाडौं- अष्ट्रेलियाको पश्चिमी सिड्नीमा बस्ने एक वृद्धाको हजारौं डलर ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन् ।

प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षे आयुष भट्टराईलाई टेलोपियास्थित वृद्धाको घरबाट सोमबार स्थानीय समयानुसार साढे चार बजे पक्राउ गरेको हो । ८५ वर्षीया वृद्धाले दिएको बयान अनुसार उनको बैंक खातामा समस्या आएको भन्दै टेलिफोनमार्फत् जानकारी दिइएको र नयाँ खाता बनाउनुपर्ने सल्लाह दिइएको थियो ।

तत्पश्चात् ती वृद्धालाई उनकै घरमा आउने कुरियरकर्मीलाई तीन हजार डलर दिन आग्रह गरियो । उक्त पैसा उनको नयाँ खातामा राखिने पनि विश्वास दिलाइयो । तीन हजार डलर रकम दिएपछि वृद्धालाई शंका लाग्यो र उनले प्रहरीलाई यसबारे जानकारी दिइन् ।

फेरि सोही समूहले वृद्धासँग पाँच हजार डलर माग गरेको र सोमबार पैसा लिन जाने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । गुप्तचरले उनीहरु अन्तरदेशीय ठगहरुको गिरोहमा संलग्न भएको पत्ता लगाएका छन् जुन अष्ट्रेलियामा रहेका सदस्यको सहयोगमा भारतबाट सञ्चालित छ ।

अनुसन्धानकर्ताले यस्तै फोन पाएका अन्य पीडितबारे पनि पत्ता लागेको जानकारी दिएका छन् । गिरी र भट्टराईलाई पारामाटा स्थानीय अदालतमा मंगलबार पेश गरिएको थियो । उनीहरुलाई दुई महिनापछि अर्थात् अगस्ट २० मा पुनः अदालतमा उपस्थित गराइने छ । नाइनन्यूजबाट