बा ! पैसा बचाउनुहुन्छ - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

बा ! पैसा बचाउनुहुन्छ



–मीनराज वसन्त

निकै मेहनती हुनुहुन्छ
सहनशील रहनुहुन्छ
मेरा बा– पैसा बचाउनुहुन्छ ।

हलगोरु छन् घरमा
आफै हली बन्नुहुन्छ
खेत जोत्नुहुन्छ
मेरा बा–पैसा बचाउनुहुन्छ ।

अरूको जस्तै–
बाको पनि छ
शाही पनिर मीठो लाग्ने मुख
तर, पिँडालु उसिन्नुहुन्छ
आलु पकाउनुहुन्छ
मेरा बा–पैसा बचाउनुहुन्छ ।

फाटेको मैलो कछाड बेर्नुहुन्छ
थाहा छ बालाई
नदेखिने चीज देखिनु हुँदैन
ढाका टोपी लगाउनुहुन्छ उस्तै
अस्कोटका दाँत छैनन्
चस्माको खुट्टा छैन
डोरी बाँधेर काम चलाउनुहुन्छ
मेरा बा– पैसा बचाउनुहुन्छ ।

महङ्गी छ बजारमा
आफ्नै बारीमा
सागसब्जी–तरकारी फलाउनुहुन्छ
मेरा बा–पैसा बचाउनुहुन्छ ।

प्रायले कञ्जुसको नाउँले चिन्छन् बालाई
कसिकसाउ मोल गर्नुहुन्छ
प्रत्येक सामानमा
बोली लगाएरैे छोड्नुहुन्छ
र पनि, मेरा बा–पैसा बचाउनुहुन्छ ।

बाको विश्वास छ मप्रति
केही सपना छन् म माथि
र त, जतिबेला पनि
मेरा माग पुरा गरिदिनुहुन्छ
मेरा बा–
मेरै लागि भए पनि
पैसा बचाउनुहुन्छ ।