बाटो छेक्ने धनीलाई जरिवाना मात्र, संघर्ष गर्ने गरिबका ठेला लिलाम - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बाटो छेक्ने धनीलाई जरिवाना मात्र, संघर्ष गर्ने गरिबका ठेला लिलाम



काठमाडौं महानगरपालिकाका नगर प्रहरीले तरकारीसहित ठेलागाडा नै जबर्जस्ती भ्यानमा हालिदिएपछि ६१ वर्षीय मञ्जु कुँवर क्षेत्रीको आँसु सामाजिक सञ्जालबाट संसारले देख्यो । उनको आत्मा रोयो, किनकि तरकारी वा ठेलागाडा फिर्ता पाउँदैनन् जति जरिवाना तिर्छु भने पनि ।

जब कि यो त्यही काठमाडौं हो जहाँ सडक किनारमा पार्क गरिएका करोडौँका गाडी सय–पचास तिरेर पार्क गर्ने मात्र होइन, नो पार्किङमा भेटिए दुई–चार सय फाइन तिरेर छाडिन्छन् । मञ्जुको पीडा एक्लो कथा होइन, बरु सहरमा गरिखान संघर्षरत विपन्नको सग्लो व्यथा हो ।

राजधानीका कुनाकुनामा जीविकोपार्जन गर्ने हजारौँ विपन्न व्यवसायी छन् जसलाई लखेट्न महानगरका प्रहरी चिलजस्तै कुनै पनि वेला प्रकट हुन सक्छन् । मञ्जु प्रतिनिधि पात्र हुन् । काठमाडौं– ४ सुकेधारा सुकुमबासी टोलमा बस्ने मञ्जुलाई भेट्न जाँदा हामीले ५७ वर्षीय बालिका भट्टराईलाई पनि भेट्यौँ ।

मञ्जुसँगै बालिकाले पनि ठेलामा तरकारी बेच्छिन् । मंगलबार दिउँसो ३ बजे सुकेधारास्थित चोकबाट मञ्जुसँगै बालिकाको ठेला र तरकारी पनि नगर प्रहरीले उठाएर लग्यो । ‘गरिखाने साधन भनेकै त्यही एउटा ठेला थियो । प्रहरीले लग्यो । टेकुमा गएर रुँदै ठेला फिर्ता पाऊँ भन्यौँ । तर, न ठेला मिल्यो, न त्यसमा राखिएका तरकारी नै,’ उनले भनिन्, ‘मेरो त सम्पत्ति नै त्यही हो, त्यो नै लुटियो । अब कसरी गरिखाने ? भाडा कसरी तिर्ने ? नगर प्रहरीसँग बिन्तीभाउ बिसायौँ । जरिवाना पनि तिर्छु भन्यौँ । तर, उनीहरूले त लिलाम पो गर्छौँ भने ।’

श्रीमान्ले अर्की श्रीमती ल्याएका छन् । छोराबाट उपेक्षित उनी छोरीसँगै एउटा कोठामा बस्छिन् । भाडा महिनाको सात हजार रुपैयाँ छ । अर्कोतर्फ कक्षा १० मा अध्ययनरत छोरी पढाउने दायित्व छ । यी सबै गर्जो धान्न आम्दानीको एक मात्र स्रोत ठेलाको व्यापार थियो, स्थानीय सरकारले त्यही पनि जफत गरिदिएपछि उनको जीवनमा शून्यता छाएको छ ।

ठेलागाडाको व्यापारले जीवन फलिफाप हुने होइन, गुजारा चल्ने हो । त्यसैका लागि उनी बिहान सबेरै उठ्छिन् । तरकारी लिन कहिले बालाजु बाइपास त कहिले मनोहरा पुग्छिन् । दैनिक काममा घोटिँदा हड्डी खिइएका छन् । पीडा कम गर्न दैनिक क्याल्सियमको चक्की खान्छिन् । त्यसैको भरमा दिनभर दौडिन्छिन् । ‘तर, अब त पेसोमेसो नै हरायो,’ उनी झसंग हुन्छिन् ।

उनीजस्तै विपन्न व्यवसायीका तरकारी र फलफूल सडकमा पोखिन्छन् । मञ्जु र बालिकाजस्ता विपन्नको रोजीरोटी खोस्ने महानगरपालिका सम्पन्नले कानुन मिच्दा भने नतमस्तक छ । जब कि महानगरपालिकाभित्रका अवैध र अव्यवस्थित संरचना हटाउने जिम्मा नगर प्रहरीको हो ।

नगर प्रहरीका डिएसपी राजुमान पाण्डे यति मात्र भन्छन्, ‘सडक हिँड्नका लागि हो, व्यापार गर्नका लागि होइन । यसले सहरको सौन्दर्य बिगार्छ ।’ तर, बढीमा जरिवाना लिनुको सट्टा सम्पत्ति नै किन जफत हुन्छ ? पाण्डे निर्धक्क भन्छन्, ‘जफत गरिएका गाडा फिर्ता हुँदैनन् । सबै लिलाममा पठाउँछौँ । हामीले नियमअनुसार काम गर्ने हो ।’

सडक साँघुरो भएको भन्दै सडक विभागले महँगो मुआब्जा तिरेर तथा बजेट खर्च गरेर सडक विस्तार गरेको छ । तर, महानगरले त्यही सडक पार्किङका निम्ति भाडामा लगाएको छ । न्युरोड, दरबारमार्ग, असनआसपासका सबै सडक महानगरपालिकाले निजी कम्पनीलाई भाडामा दिएको छ । यसबापत महानगरपालिकाले रकम असुल गर्छ । सास्ती भोग्छन् बाटो हिँड्ने बटुवाले ।

भाडामा प्रयोग नगरिएका सडकमा पनि पार्किङ उस्तै छन् । बागबजार, प्रदर्शनीमार्ग, सुन्धारा चोक, नयाँ बानेश्वर चोक, मैतीदेवी, चुच्चेपाटी, चाबहिल यसैका उदाहरण हुन् । प्रहरीले गाडी तथा मोटरसाइकल लगेमा जरिवाना तिरेर फिर्ता गर्छ ।

सडकमा गाडी पार्किङ मात्र होइन, महानगरभित्रका सडकमा स्थानीयले निर्माण सामग्री झार्छन्, सडक अवरुद्ध गरेर भव्य घर बनाउँछन् । सडकमा निर्माण सामग्री झारेर कामदार खटाउने घरधनीका कारण सर्वसाधारण पैदलयात्रीलाई सास्ती हुन्छ, जोखिम बढ्छ । बटुवाले सास्ती भोग्छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक भन्छ, ‘उपत्यकाभित्र हुने सडक दुर्घटनाको एक मुख्य कारण सडकमा झारिएका निर्माण सामग्री हुन् ।’ तर, भव्य भवन बनाउने घरधनीलाई नगर प्रहरीले कारबाही गर्न सक्दैन ।

तर, नगर प्रहरीका डिएसपी पाण्डे भने यसमा पनि मिडियालाई दोष दिन्छन् । ‘सडकका गाडा हटाएको मात्रै मिडियाले देख्छ, सर्वसाधारणले त्यसका आधारमा विरोध गर्छन् । तर, हामीले निर्माण सामग्री हटाएका उदाहरण कैयौँ छन्, तर मिडियाको ध्यान यसतर्फ जाँदैन,’ उनले भने । टेकराज थामी र विनोद विष्टले नयाँ पत्रिकामा लेखेका छन् ।