पाकिस्तानका कप्तान बाबर आजम विश्वकपमा सर्वोत्कृष्ट खेलाडी - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

पाकिस्तानका कप्तान बाबर आजम विश्वकपमा सर्वोत्कृष्ट खेलाडी



एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजम आइसिसी टि२० विश्वकप २०२१ का प्रमुख दाबेदारको रुपमा छन् । पाकिस्तानलाई अपराजित रहँदै सेमिफाइनल सम्म पुर्याउन उत्कृष्ट प्रदर्शन गरेका बाबर प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीको अवार्ड पाउने उच्च सम्भावना छ ।

टि२० विश्वकपको फाइनलमा आज साँझ अष्ट्रेलिया र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । उक्त फाइनलपछि आइसिसीले टि२० विश्वकप २०२१ को प्लेयर अफ द टुनामेन्ट (सर्वोत्कृष्ट) खेलाडी घोषणा गर्नेछ । बाबर प्रमुख दाबेदारको रुपमा देखिन्छन् । बाबरले ६ खेलमा ४ मा अर्धशतक सहित कुल ३ सय ३ रन बनाएका छन् । औसत ६० को रहँदा स्ट्राइकरेट १२६.२५ को छ । प्रतियोगिताभर कुल २ सय ४० बल खेलेका बाबरले २८ चौका र ५ छक्का प्रहार गरेका थिए ।

सुपर १२ को समूह २ मा पहिलो खेलमा भारतलाई १० विकेटले हराउन बाबरले ५२ बलमा ६ चौका र २ छक्का सहित ६८ रनको अविजित इनिङ खेलेका थिए । अर्का ओपनर मोहम्मद रिजवान ५५ खेलमा ६ चौका र ३ छक्का सहित ७९ रनमा अविजित रहेका थिए । १ सय ५२ रनको ओपनिङ साझेदारी गरेका थिए । विश्वकप इतिहासमा पाकिस्तानले भारतलाई पहिलो पटक हराएको थियो । बाबर दोस्रो खेलमा न्युजिल्यान्डसँग ९ रनमा आउट भएका थिए ।

तेस्रो खेलमा अफगानिस्तानलाई ५ विकेटले हराउन बाबरले ४७ बलमा ५ चौका सहित ५१ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । तेस्रो खेलमा नामिबियाविरुद्ध बाबरले ४९ बलमा ७ चौका सहित ७० रनको इनिङ खेलेका थिए । स्कटल्यान्डविरुद्ध बाबरले ४७ बलमा ५ चौका र ३ छक्का सहित ६६ रनको इनिङ खेलेका थिए । सेमिफाइनलमा अष्ट्रेलियाविरुद्ध बाबरले ३४ बलमा ५ चौका सहित ३९ रन बनाउँदै आउट भएका थिए ।
टोली फाइनलमा पुग्न नसकेपनि उनको प्रदर्शन उत्कृष्ट छ । जसको कारण उनी खेलको सर्वोत्कृष्ट खेलाडीको दाबेदार देखिन्छन् ।

समूह चरणमा पाकिस्तान ५ खेलमा ५ मानै जितका साथ सेमिफाइनलमा पुगेको थियो । तर सेमिफाइनलमा अष्ट्रेलियासँग ५ विकेटले पराजित हुँदै बाहिरिएको थियो । बाबरले कप्तानी दबाबका बाबजुद पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । जसको कारण प्रमुख दाबेदारको रुपमा देखिन्छन् । न्युजिल्यान्डले इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै पहिलो पटक टि२० विश्वकप फाइनलमा स्थान बनाएको थियो ।